अतित प्रेमले भरियो कोमल साँझ



आफ्नो सहपाठीले कलेजका कार्यक्रममा गाइरहने पुरानो लोकप्रिय गीत नसुनी पूर्वसभामुख सुवास नेम्वाङलाई उठेर हिँडिहाल्न मन लागेन। लामो प्रतीक्षापछि कार्यक्रमको दोस्रो सत्रको शुरुमै अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा गीतले सभाकक्ष गुञ्जिएपछि भावुक बनेका नेम्वाङलाई आफ्नो पुरानो दौंतरीका बारेमा दुई शब्द नबोली चित्तै बुझेन। उनी उक्लिए स्टेजमा र हराए अतितको गर्तमा।

राजनीतिको राप तापबाट केही बेरका लागि मुक्त भएका उनले इलामका डाँडाकाँडा मादल र गितार बोकेर गाउँदै हिँडेका विगतका यादहरु स्मृतिको गर्तबाट उत्खनन गरे। उनै गायक मित्रको घरमा पहिलो र अन्तिमपल्ट रुख टमाटरको तरकारी खाएको सम्झिन पनि भ्याए। फेरि त्यो परिकार दोहोर्याउने आफ्नो इच्छा भएको प्रस्ताव राखेर उनी हलबाट बाहिरिए। नेम्वाङका ती मित्र हुन् गायक कोमल निरौला।

संगीत साधनालाई अविच्छिन्न राख्दै करिब ४ दशक शिक्षा सेवासमेत गरेका गायक निरौलाको दोस्रो एकल साँझ अतित प्रेम र भावुकताले भरिपूर्ण बन्न पुग्यो। उनको पहिलो एकल सांगीतिक साँझ २०४५ सालमा इलाममा आयोजना गरिएको थियो।

गायक स्वयंले विगतका सम्झना ताजा गराउने किसिमका आफ्ना तथा स्वर सम्राट नारायण गोपाल, दीप श्रेष्ठ, फत्तेमान राजभण्डारी, माणिक रत्न, भक्तराज आचार्यलगायत गायकका कालजयी गीत गाएका थिए। कतिपय गीत अश्रुपुरित स्वरमा गाएर कोमलले दर्शक स्रोतालाई समेत स्तब्ध पारिदिए। कोमलले डेढ दर्जन जति गीत सुनाएर माइक अफ गर्न खोज्दा दर्शक भने चलमलाएनन्।

सरस्वती बन्दनाबाट शुरु भएको कोमलको ओजपूर्ण गायन शृंखला उनको चर्चित युगल गीत चिल होइन बेसारामा पुगेर विश्राम लिएको थियो।

उनले अखण्ड शक्ति हौ युवा, अञ्जलीका गुराँस थुँगा, जीवनदेखि धेरै धेरै नै थाकेर, नआउ जुन कोठमा राति, हे फूल चँडेर लाने हो, म हिमाल उठाइदिन्छु, प्रिय तिम्रो मुहारमा, पर लैजाउ फूलहरु, मर्न बरु गारो हुन्न, मेरो पनि एउटै मुटु, पहाडको उकालीलाई मैले माया गरेजस्तोलगायतका गीत गाएर दर्शक स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।

उमेरले ६ दशकको उत्तरार्ध टेकेका निरौलाले आफ्नो प्रस्तुति अवधिभरि मीठो स्वर त पस्किए नै, साथै उनको सक्रिय भावभंगिमाले युवा जोश प्रकट भइरहेको महसुस दर्शकले गरे।

कोमलको एकल प्रस्तुतिमा जेठा छोरा गायक तथा संगीतकार डेनी निरौलाले संगीत संयोजन गरेका थिए भने कोरसमा कान्छा छोरा भीषणसमेत तीनैजना छोराछोरी र पुराना गायिका सुलोचना कर्माचार्यले साथ दिएका थिए। कार्यक्रममा शिक्षासेवी कमल रिमालको अभिनन्दन पनि गरिएको थियो। साथै कोमलकी छोरी गायिका झुमा निरौलाको पहिलो गीति एल्बम सरगमश्रीको प्रमुख अतिथि सरुभक्त र पूर्वसभामुख नेम्वाङले लोकार्पण गरेका थिए।

गायक निरौलाको जन्मस्थान नामसालिङ गाउँ र वरपरका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले आयोजित एकल साँझको आयोजक संस्था नामसालिङ सहयोग मञ्चले समाजमा योगदान गरेका वरिष्ठ नागरिकको सम्मान गर्ने परम्परा बसालेको अध्यक्ष प्रेम नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्