विश्वमा दुई सयभन्दा बढी अर्बपति थपिए



नेपाल समाचारपत्र
काठमाडौं
श्वका धनीहरूको सूची प्रकाशित गर्दै आएको अमेरिकी पत्रिका फोब्र्सले सन् २०१७ का अर्बपतिको सूची प्रकाशित गरेको छ। मार्च २० तारिखमा प्रकाशित रिपोर्टमा यस वर्ष २ हजार ४३ जना विश्वका अर्बपतिहरूको नाम फोब्र्सले समेटेको छ। यस वर्ष यस वर्षको अर्बपतिहरूको सूचीमा २ सय ३३ जना नयाँ अनुहारले प्रवेश पाएका छन्। फोब्र्सले विगत ३१ वर्षदेखि अर्बपतिहरू सूची प्रकाशित गर्दै आएको छ। फोब्र्सको सूचीलाई विश्वभरी आधिकारिक मानिन्छ। फोब्र्सका अनुसार यस वर्ष समग्र अर्बको सम्पत्ति १८ प्रतिशतले बढेको छ।

विल गेट्सः (अमेरिका) विगत ४ वर्षदेखि लगातार विल गेट्स विश्वका धनीहरूको सूचीमा पहिलो स्थानमा रहँदै आएछन्। सन् २०१६ मा ७५ अर्ब अमेरिकी डलर सम्पत्ति भएका गेट्सको यस वर्ष ११ अर्ब थपिएर कुल ८६ अर्ब डलर पुगेको छ। ६१ वर्षीय गेट्स माईक्रोसफ्ट कम्पनीका मालिक हुन्। २३ वर्षदेखि व्यापारमा सक्रिय विल गेट्स १८ वर्षदेखि अर्बपतिको सूचीमा समावेश छन्। वारेन वफेटः (अमेरिका) बर्कसायर ह्याथ्वे कम्पनीका सीईओ वफेटको सम्पत्ति ७५ दशमलब ६ अर्ब डलर रहेको छ। अमेरिकाको ओमाहा शहरमा प्रधान कार्यालय रहेको ह्याथ्वे कम्पनीको विश्वकै महँगो शेयर मूल्य रहेको छ।

कम्पनीको प्रतिकित्ता शेयर मूल्य २ लाख ५८ हजार ९ सय २५ अमेरिकन डलर रहेको छ। बर्कसायर ह्याथ्वेअन्तर्गत नेटजेट, हल्र्जबर्ग डाईमोन्ड, कोकाकोला, लुब्रिजोल, डेरी क्वीन, फ्लाईट सेफ्टीलगायतका कम्पनी पर्दछन्।

त्यस्तै जेफ बेजोजः (अमेरिका) ७२ दशमलब ८ अर्ब डलर सम्पत्तिका मालिक बेजोज अमेजन कम्पनीका मालिक हुन्। ५३ वर्षीय बेजोज अमेजन विद्युतीय र अनलाइन व्यापारका क्षेत्रमा सबैभन्दा ठूलो सफलता हात पार्ने कम्पनी हो। सन् १९९४ मा स्थापना भएको कम्पनीको हालको मूल्य प्रतिकित्ता शेयर मूल्य ८ सय ५३ अमेरिकन डलर रहेको छ। अमेन्सियो ओर्टेगाः (स्पेन) स्पेनका अर्बपति अमेन्सियो ओर्टेगा फोब्र्स सूचीको चौंथौ स्थानमा रहेका छन्। ८० वर्षीय यी अर्बपति जारा कम्पनीका मालिक हुन। उनको कुल सम्पत्ति ७१ दशमलब ३ अर्ब अमेरिकी डलर रहेको छ।

मार्क जुकरवर्गः (अमेरिका) सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गको सम्पत्ति अघिल्लो वर्षको भन्दा ६ अर्ब डलरले बढेको छ। ३२ वर्षीय जुकरवर्गको कुल सम्पत्ति ५६ अर्ब अमेरिकी डलर रहेको छ। जुकरवर्गले १९ वर्षको उमेरमा सन् २००४ मा फेसबुकको स्थापना गरेका थिए। कार्लोस स्लिम हेलुः (मेक्सिको) ५४ दशमलब ५ अर्व अमेरिकी डलरका मालिक कार्लोस मेक्सिकन अर्बपति हुन्। विश्वका अर्बपतिको सूचीमा छैठौं नम्बरमा रहेका कार्लोस ‘अमेरिका मोबिल कम्पनी’ का अध्यक्ष हुन। कार्लोस विभिन्न मुलुकमा टेलिकम कम्पनीमा लगानी हुनुका साथै मेक्सिकोको एउटामात्र मोबाइल सेवाप्रदायक कम्पनी टेलम्याक्सका मालिक पनि हुन। कार्लोसको ‘द न्युयोर्क टाइम्स’ नामक चर्चित पत्रिकामा १७ प्रतिशत शेयर पनि रहेको छ।

लरी इलिसनः (अमेरिका) लरी इलिसनको ५२ दशमलब २ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ। ७२ वर्षका यी अर्बपतिको अघिल्लो वर्ष सम्पत्ति ५१ दशमलब ७ अर्ब थियो। उनी इलिसन सफ्टयर कम्पनी ओरेकलका संस्थापक र सीईओ हुन्।

यसैगरी कार्लेस कोचः (अमेरिका) ८१ वर्षका कार्लेस कोचको सम्पत्ति ४८ दशमलब ३ अर्ब अमेरिकी डलर रहेको छ। कोच इन्डष्ट्रिज कम्पनीका अध्यक्ष तथा सीईओ हुन्। कोच इन्डष्ट्रिज कम्पनी अमेरिकाको निजी क्षेत्रको दोस्रो ठूलो कम्पनी हो। कार्लेसका बुवा फ्रेड कोचले सन् १९४० मा रिफाइनरी कम्पनीका रुपमा उक्त कम्पनी स्थापना गरेका थिए।

डेभिड कोचः (अमेरिका) ४८ दशमलब ३ अर्ब अमेरिकी डलरका साथ कोच इन्डष्ट्रिज कम्पनीकै एक्जुकेटिभ भ्वाइस प्रेसिडेन्ट डेभिड कोच अर्बपतिको सूचीमा नवौँ स्थानमा छन्। ७६ वर्षीय डेभिड कार्लोस कोचका भाई हुन्। कार्लोस र डेभिडको कोच इन्डष्ट्रिज कम्पनीमा बराबर शेयर रहेको छ। माईकल ब्लुमवर्गः (अमेरिका) ४७ दशमलब ५ अर्ब अमेरिकन डलरका मालिक ब्लुमवर्गको वित्तीय सूचना तथा सञ्चार कम्पनी ‘ब्लुमवर्ग एलपी कम्पनी’ मा ८८ प्रतिशत लगानी रहेको छ। ७५ वर्षका ब्लुमवर्गले ४ अर्बभन्दा बढी सम्पत्ति विश्वमा हतियार नियन्त्रण र वातावरण संरक्षणलगायत क्षेत्रमा दानका रुपमा खर्च गरेका छन्।

ट्रम्पको सम्पत्ति घट्यो
गत जनवरीमा अमेरिकाको राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले पहिलो अर्बपति अमेरिकी राष्ट्रपतिको कीर्तिमान बनाएका छन्। फोब्र्स पत्रिकाले सार्वजनीक गरेको यस वर्षको विश्वका अर्बपतिको सूचीमा उनी ५ सय ४४औं स्थानमा रहेका छन् भने अमेरिकी अर्बपतिको सूचीमा १ सय ५७औं स्थानमा छन्।

ट्रम्प गत वर्षको तुलनामा अर्बपतिको सूचीमा ३५ स्थानले तल झरेका छन्। गत वर्षको भन्दा यस वर्ष ट्रम्पको सम्पत्ति ८० करोड अमेरिकी डलरले कम भएको छ। सन् २०१७ मा ट्रम्पको सम्पत्ति ३ दशमलब ५ अर्ब अमेरिकी डलर रहेको छ। गत वर्ष ४ दशमलब ५ अर्ब रहेको थियो।

फोब्र्सका अनुसार वाङ जिनलिन चीनका सबैभन्दा धनी व्यक्ति हुन्। संसार भरीका अर्बपतिहरूको सूचीमा वाङ १८औं स्थानमा छन्। डालियन वान्डा गु्रपका अध्यक्ष रहेका वाङको सम्पत्ति ३१ दशमलब ३ अर्ब अमेरिकी डलर रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १ दशमलब ७ अर्ब अमेरिकी डलर कम हो। उनीले सम्पत्तिको ४० प्रतिशत सिनेमा र मनोरञ्जनका क्षेत्रमा लगानी गरेका छन्। डालियन वान्डा कमर्सियल चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनीका रुपमा रहेको छ।

त्यस्तै अलिबाबा गु्रपका अध्यक्ष ज्याक मी संसारका धनी अर्बपतिहरूको सूचीमा २३औ स्थानमा र चीनको दोस्रो धनी व्यक्ति हुन्। भारतीय अर्बपति मुकेश अम्बानी अर्बपतिको सूचीमा ३३औं स्थानमा रहेका छन्। रिलायन्स कम्पनीका मालिक अम्बानीको कुल सम्पत्ति २३ दशमलब २ अर्ब अमेरिकी डलर रहेको छ।

अम्बानीसँगै भारत विश्वका धेरै अर्बपति भएका देशको सूचीमा चौथो नम्बरमा परेको छ। भारतमा एकसय एक अर्बपति उक्त सूचीमा परेका छन्।

विनोद चौधरीको सम्पत्ति बढ्यो

नेपालका उद्योगी तथा चौधरी गु्रपका अध्यक्ष विनोद चौधरी अर्वपतिहरूको सूचीमा १५ सय ६७औं स्थानमा परेका छन्। गत वर्ष १५ सय ७७औं स्थानमा रहेका चौधरी यस वर्ष १० स्थान माथि उक्लिँदै १५ सय ६७औं स्थानमा उक्लिएका छन्। चौधरीको कुल सम्पत्ति १ दशमलब ३ अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ। चौधरीको सम्पत्ति गत वर्ष १ दशमलब १ अर्ब अमेरिकी डलर रहेको थियो। चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको अर्बपतिको सूचीमा प्रवेश गरेका थिए। फोब्र्सको अर्बपतिको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन्।

कान्छो अर्वपति
२० वर्षीया अलेक्जेन्ड्रा एन्डरसन १ दशमलब २ अर्ब अमेरिकी डलरसहित संसारकै कान्छो अर्बपति भएकी छन्। अलेक्जेन्ड्रा कि बहिनी क्याथरिन एन्डरसन पनि समान १ दशमलब २ अर्ब अमेरिकी डलरसहित कान्छो अर्बपतिको दोस्रो स्थानमा छिन्। यी दुई दिदी बहिनीले आफ्नो नर्वेली अर्वपति बुवा जोहान एन्डरसनबाट सूर्तीजन्य पदार्थको व्यापारमा ख्यातीप्राप्त कम्पनीको ४२ प्रतिशत शेयर प्राप्त गरेका थिए। तर, पछि अलेक्जेन्ड्राले आफ्नो हिस्सा बेचिन र हाल शेयर बजारमा लगानी गर्दै आईरहेकी छिन्।

महिला अर्बपति
फोब्र्स का अनुसार यस वर्ष २ सय १७ महिला अर्बपति रहेका छन। सबैभन्दा धनी महिलाको सूचीमा फ्रान्स कि लिलेन बेटेकोर्ट परेकी छिन्। उनी समग्रमा १४औं स्थानमा परेकी छिन्। ९४ वर्षीय बेटेकोर्टले एल ओरल कम्पनीमार्फत् कस्मेटिक सामग्रीको उत्पादन र वितरण गर्दै आएिकी छिन्। बेटेकोटको सम्पत्ति ३९ दशमलब ४ अर्ब अमेरिकी डलर रहेको छ। धनी महिलाको दोस्रो स्थानमा अमेरिका कि एलिस वाल्टन रहेकी छन्। वाल्टनको ३३ दशमलब ८ अर्ब अमेरिकी डलर सम्पति रहेको छ।उनी समग्र सूचीको १७औं स्थानमा छिन्।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्