भगवती तिमल्सिना
सानएनटोनियो, अमेरिका

सन् १९८५ देखि १९९४ सम्म नेपालको स्वीजरल्यान्डका नामले परिचित सुन्दर नगर जिरीमा पुगेका एकजोडी अमेरिकी नागरिक सहारा बिलियम बेल्जेरो र जोन बेल्जेरोले जिरी अस्पतालमा के कस्ता बिरामी आउँछन् भनेर अध्ययन शुरु गरे।

अध्ययनमा कस्ता–कस्ता बिरामी कति आउँछन् भन्ने विषयलाई लिएर अध्ययन गरि पीएचडीको थेसिसको विषय नै जिरी अस्पतालमा आउने बिरामीको नयाँ नयाँ अवस्थालाई हेर्ने निधो गरे। नेपालमा पीएचडी रिसर्च गर्न आएका यी नागरिकले अध्ययनकै सिलसिलामा उनीहरुले जिरेल जातिमा जुकाको औषधि खाँदा पनि जुका ननिख्रिने नयाँ खालको समस्या पत्ता लगाए। यसपछि उनीहरुले थप अनुसन्धान गर्ने विषयले झक्झक्यायो। औषधि खाँदा पनि जुका ननिख्रिएपछि वंशजको कारण हुनुपर्छ भन्ने अनुमान लगाएर थप अनुसन्धान गर्ने योजना अघि बढाए।

प्रकृयागत रूपमा अघि बढ्नका लागि बेल्नजेरोद्वयले अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रस्तावना पेस गरे। यहाँबाट स्वीकृति पाए लगत्तै नेपालमा पुगी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज नेपालसँग स्वीकृति लिए। यसपछि सन् १९९५ देखि जिरी हेल्मिन्थ प्रोजेक्टको स्थापना गरी विधिवत रूपमै जिरेल जातिमा देखा परेको जुकाको बारेमा वंशाणुगत रूपमै अध्ययन शुरु गरे।

किन जिरेल जाति नै रोजियो ?

जिरेल जाति यो भेगमा मात्र ठूलो संख्यामा रहेको र उनीहरु एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइ पनि कम गर्ने भएको तथा खानपान, रहनसहन, बसोबास, विहेवारी सबै त्यही ठाउँमा हुने भएकाले अनुसन्धान अझ भरपर्दो हुने र ठोस परिणाम निकाल्न सकिने उद्देश्यले यही ठाउँ र जिरेल जातिनै छानिएको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ। यति मात्र नभइ अन्य जातिमा भन्दा जुकाको समस्या जिरेल जातिमा नै देखिएकाले पनि उनीहरुलाई थप जिज्ञासा बढेकै कारण जिरेल जातिमै अनुसन्धान गर्ने निधो गरे।

अनुसन्धानको परिणाम कस्तो छ ?

जिरी अस्पतालको रेकर्ड हेर्दा अन्य जाति र जिरेल जातिमा समान समस्या नभइ जिरेल जातिमा मात्र जुकाको समस्या समान देखिएकाले उनीहरुमा अध्ययन शुरु गरिएको प्रोसेसिङ अफ द नेसनल एकेडेमी अफ साइन्स अफ द युनाइटेड स्टेट अफ अमेरिकाले सन् २००२ मा सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ।

रिपोर्टमा भनिएको छ– ‘जिरीमा बसोबास गर्ने जिरेल जातिमा जीनको २३ जोडा क्रोमोजनअनुसार १ र १३ मा फरक तत्त्व फेला पर्यो। यो दुईवटा क्रोमोजमको कारण धेरै जुका वृद्धि गर्छ। विश्वमै पहिलोपटक गरिएको यो अनुसन्धानको थलो जिरी र जिरेल जाति भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। यिनै भिन्नताका कारण जिरेल जातिमा जुकाको औषधि खाँदा पनि जुका ननिख्रिने समस्या रहेको कुरा पत्ता लागेको हो। जिरेल जातिमा जस्तै सबै मानिसको शरीरमा आवश्यकताअनुसार काम गर्ने क्रोमोजम र करोडौं सेलहरु हुन्छन्। तर काम गर्ने तरिका भने फरक–फरक हुन्छ। हरेक मानिसको शरीरमा आवश्यकताअनुसारको तत्त्व उत्पादन, परिचालनका लागि सेलले काम गर्ने गर्दछन्।

जिरेल जातिमा रहेको जुकाको समस्या पत्ता लगाउनका लागि जिरी हेल्मिन्थ प्रोजेक्ट जिरी दोलखा, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज काठमाडौं नेपाल, साउथ वेस्ट रिजनल प्राइभेट रिसर्च सेन्टर सान एनटोनियो टेक्सास, साउथ वेस्ट फाउन्डेसन फर वायोमेडिकल रिसर्च सानएनटोनियो टेक्सास, डिपार्टमेन्ट अफ जेनेटिक्स, डिपार्टमेन्ट अफ सोसियोलोजी, एनथ्रोपोलोजि एन्ड जिरोन्टोलोजी, मायोमी युनिभर्सिटी, अक्सफोर्ड, ओहायोको संयुक्त प्रयासमा यो रिपोर्ट तयार पारिएको जनाएको छ। रिपोर्टमा कुन जिनले गर्दा जुकाको संक्रमणलाई फरक पार्छ भनि अध्ययन गर्ने विश्वकै यो पहिलो प्रतिवेदन भएको दाबी गर्दै क्रोमोजोम १ र १३ ले संक्रमणमा प्रभाव पार्ने पत्ता लागेको उल्लेख गरिएको छ।

सात वर्षको लामो अनुसन्धानका क्रममा जिरेल जातिका ६ हजार २ सय ९ जोडीको नमुना संकलन गरिएको मध्ये ४ सय ४४ को वंशाणुगत अध्ययन पूरा हुँदा एउटा नमुनामा ३ सय ७५ टाइपको जेनेटिक मार्कर अर्थात फरक–फरक अध्ययन गरिएको थियो। अध्ययनमा एउटै मिल्दो चिज २ वटा जिन क्रोमोजम १ र १३ पत्ता लागेको उल्लेख गरिएको छ। क्रोमोजम १ र १३ ले प्रत्यक्ष जुकाको संक्रमणसँग सम्बन्धित भएको परिणाम देखाए। यो कारण बाहिरी संक्रमण र अन्य रोग फैलन मद्दत पुग्ने कुरा उल्लेख गरिएको छ। यो समस्याका कारण छिट्टै फैलने खालका रोग एचआइभी तथा एड्स संक्रमणसँग लड्ने क्षमतामा समेत कमी हुने देखाएको छ।

जिरेल जातिमा देखा परेको भिन्न खालको जुकाको समस्या पहिचान र अनुसन्धान गर्न जिरी हेल्मिन्थ प्रोजेक्टले सन् १९९५ देखि १९९६ सम्म ९८ घरका ४ सय ४४ जनामा लगातार एक सातासम्म २४ घन्टाको दिसा जम्मा गरी प्रत्येक दिन त्यसबाट एक ग्राम नमुना लिएर जुकाको फुल कतिवटा छ भनेर नाप्ने र दिसाको परिणामअनुसार संख्या निकाल्ने गर्दथे। यही नियमित परीक्षण र गणनाका आधारमा जुकाको संख्या निकाल्ने र उपचार गर्ने गरेका थिए। जिरेल जातिको दिसा, पिसाब र रगतको परीक्षणका आधारमा नतिजा प्राप्त भएको हो। परीक्षण गरी रिपोर्ट सार्वजनिक गरिएका मध्ये २ सय १८ जना पुरुष र २ सय २६ जना महिला रहेका छन्। यसमा ३ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको र यसलाई सरदर उमेर २७ वर्ष उल्लेख गरिएको छ।

यो अनुसन्धान गर्न कानुनी रूपमा अर्थात प्रोटोकल स्वीकृति इन्स्टिच्युसन रिभ्यु वोर्ड अफ द युनिभर्सिटी अफ टेक्सास हेल्थ साइन्स सेन्टर एट सान एन्टोनियो र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौं नेपालबाट लिएको देखिन्छ। यो अभियान सन् १९८५ बाट शुरु गरिएको हो। हरेक मानव जातिमा सेलसेलका बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ। तर अन्य जाति र जिरेल जातिका बीचमा भएको फरक जिन टीएन एफ एसएफ एस १३ बी पत्ता लगायो। यसले बाहिरबाट आउने संक्रमण हटाउने (शक्ति सञ्चय गर्ने) काम गर्छ। यो जिनले बीसेलमा संक्रमणसँग लड्ने शक्ति सञ्चय गर्न र बाहिर पठाउन (एनटीबडीहरु) मद्दत गर्छ। यसपछि संक्रमण सञ्चय शक्ति कस्तो छ भनेर हेर्न इलाइजा परीक्षण गरे। यो शक्तिले काम गरेको छ कि छैन भनेर हेरियो।

रिपोर्ट तयारी गर्ने क्रममा अध्ययन अनुसन्धान तथा लेखनमा मुख्य भूमिका निर्वाह गर्नेहरुमा ब्लेनजेरोद्वयका साथ जोनएल भेन्डेवर्ग, जनार्दन सुवेदी, मेरिजो आइभालिओटिस, देवराज राई, रामप्रसाद उपाध्याय र भरत झा रहेका छन्। साथै अनुसन्धानका क्रममा स्थानीय स्तरमा रहेका अन्य नेपाली रविन सिंह, सुमन जिरेल, मिठे जिरेललगायतका थुप्रै व्यक्तिहरु यो अनुसन्धानमा सहयोग गर्न खटिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यो नै उनीहरुमा जुकाको मात्रा वृद्धि गरिरहने संक्रमित तत्त्व हुनसक्ने अनुमान गरी थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY