‘फुस्किएको श्रीपेच’को पेच कस्ने प्रयास



देवराज गुरुङ

पछिल्लो समय नेपाली समाजमा दुईवटा कुराले निकै घर गरेको छ। पहिलो, स्थानीय निर्वाचन र दोस्रो, राप्रपाको सरकार मोह। चिया पसल, चोक र चौतारीहरुमा स्थानीय निर्वाचनको तातो बहस हुन थालेको छ। त्यस्तै कुनै समय गणतन्त्रको खुलेआम विरोध गर्ने र राजतन्त्रको वकालत गर्ने पूर्वपञ्च कमल थापा र उनले नेतृत्व गरेको पार्टी राप्रपाको सरकार मोहको विषय पनि नेपाली समाजमा ‘हट केक’ बनेको छ।

अचम्मको कुरा त के छ भने, गणतन्त्र र संघीयताको खुलेरै विरोध गर्ने कमल थापालाई पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले आफ्नो सत्ताको आयु लम्ब्याउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मा दिएर गणतन्त्र र संघीयताको खिल्ली उडाउने काम गरेका छन्। दूधको साक्षी बिरालो भन्ने नेपाली उखान यति बेला कमल थापा र उनको पार्टी राप्रपासँग ठ्याक्कै चरितार्थ हुन पुगेको छ। सत्ताबाहेक अरु सबै भ्रम हो भन्ने कम्युनिस्टहरुको उखान यति बेला राप्रपासँग पनि मेल खाएको छ। हुन त देशमा गणतन्त्र घोषणापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीयता विरोधी नेता चित्रबहादुर केसी सरकारमा नगएका होइनन्। बहुमतको आधारमा सरकार गठन हुन नसकेको नेपालको वर्तमा संसदीय राजनीति र आगामी दिनमा पनि यस्ता र अझ नौला प्रकारका लोभी–पापी चरित्र बोकेका दल र तिनका नेताहरुले पकाउने विनास्वादको खिचडी जनताले खानुपर्ने बाध्यता अझै पनि छँदै छ।

राप्रपाबाट अहिले प्रचण्ड नेतृत्वको सरकारमा चार मन्त्रीहरुले राजतन्त्र र हिन्दू राज्यको नारा कोटको गोजीमा सुरक्षित गर्दै धर्मनिरपेक्ष र गणतन्त्रको स्वाद चाखिरहेका छन्। हाल राप्रपाबाट कमल थापा, विक्रम पाण्डे, दीपक बोहोरा र दिलनाथ गिरी सरकारमा छन्। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै सरकारको समर्थन गरेका मधेसी दलले विभिन्न असन्तुष्टिहरु देखाउँदै समर्थन फिर्ता लिएका छन्। प्रचण्डले सरकार टिकाउन दरिलो टेको खोजिरहेको अवस्थामा कमल थापा यसरी प्रचण्डको बैसाखी बनिदिए कि जसको सहारामा प्रचण्ड म्याराथुन दौडिन खेजिरहेका छन्। बैसाखी टेकेको खेलाडीले म्याराथुनमा भाग लिँदा ऊ कसरी दौडिएर गन्तव्यमा पुग्ला ? यसको नतिजा भने अहिले नै आँकलन गर्न सकिन्छ।

फेरि यता राजनीतिको माहिर खेल खेल्न सिपालु प्रचण्डले सरकार बलियो बनाउनका लागि कतिसम्म भूमिका खेले भने, आफ्नै पार्टीका मन्त्री हितराज पाण्डेलाई थाहा नै नपाई सुटुक्क मन्त्री पदबाट बर्खास्त गरिदिए। सर्वसाधारणले चिया चौतारीमा बहस गर्ने गरेको सुनिन्छ, बलिका बोको बने बिचरा हितराज पाण्डे।

‘जता–जता फल पाक्यो उतै चरी’ भनेजस्तो नेपाली राजनीतिमा पनि जहाँ सत्ता छ त्यहाँ कमल थापा छन् भन्ने अर्को नयाँ घरेलु उखान उत्पादन भएको छ। चल्तीको शब्द नै बनेको छ, कसैलाई गणतन्त्र फापेको छ भने ती हुन् कमल थापा। कस्तो अचम्म, कहाँको धर्मनिरपेक्ष, कहाँको हिन्दूराज्य, कहाँको गणतन्त्र, कहाँको राजतन्त्र, कहाँका पुष्पकमल, कहाँका कमल थापा ?

कमल थापा तिनै व्यक्ति हुन् जसले सशस्त्र युद्धका क्रममा शाही सरकारले माओवादीलाई आतंककारीको बिल्ला भिराउने समयमा शक्तिशाली मनिएको गृह मन्त्रालय सम्हालेका थिए। जनआन्दोलन ०६२⁄६३ दबाउनका लागि महत्वूर्ण भूमिका खेल्ने मन्त्रीका रुपमा निकै परिचित अनुहार हुन् थापा। थापालाई पूर्वराजा ज्ञानेन्द्रले आन्दोलन दबाउनका लागि ठूलै अधिकार सुम्पिएका थिए। उनले जनआन्दोलन दबाउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरे। तर जनताका सामु उनी निरीह बने। त्यति मात्र होइन, गणतन्त्रको उदयपश्चात् ज्ञानेन्द्रको समेत उनी विश्वासिलो पात्र बन्न सकेनन्।

राजा–रजौटाहरुले वंशजका आधारमा लगाउँदै आएको श्रीपेच यति बेला नेपाली जनताले शिरबाट झिकेर संग्रहालयमा थन्क्याइदिएका छन्। राजाको श्रीपेच त जनताले शिरबाट झिके तर कमल थापा यति बेला त्यही श्रीपेचको पेच समातेर यता–उता दौडिरहेका छन्। उनी फेरि पनि उही पेच खुस्किएको श्रीपेचमा पेच कसेर उनै राजाको शिरमा सिउरिन खोजिरहेका छन्। कमललाई साथ दिइरहेका छन् प्रधामन्त्री पुष्पकमल। त्यसैले जनता कमल थापाको विगतको हविगतको हिसाबकिताब राख्दै उनको आगामी योजना विफल पार्नका लागि तयार हुनै पर्छ। अबको दुई महिनाभित्र यसका लागि सबै दलहरुले परिणाममुखी खाका कोरेर मैदानमा उत्रिनुको विकल्प देखिँदैन।

प्रतिक्रिया दिनुहोस्