द्वन्द्वपीडितको गुनासो सरोकारवाला संवेदनशील भएनन्



धनवीर दाहाल, रुकुम
कुमका द्वन्द्वपीडितहरूले आफ्ना समस्यामा सरोकारवाला संवेदनशील नभएको गुनासो गरेका छन्। द्वन्द्व सकिएको लामो समयसम्म पनि आफूहरूका समस्या जहाँको तहीं हुनु सम्बन्धित पक्षले ध्यान नदिएर भएको बताएका छन् ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुमले गरेको द्वन्द्वपीडितका सवाल र सेवा प्रदायक निकायको भूमिका विषयक कार्यक्रममा उनीहरूले राज्यले सक्कली र नक्कली पीडित छुट्याएर आफूहरूलाई कुनै व्यावसायिक तालिम दिई व्यवसाय सञ्चालन तथा आयआर्जनमा जोड्नुपर्ने बताएका हुन्। यसै गरी उनीहरूले द्वन्द्वपीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

हरप्लेसको अन्तरसंवाद कार्यक्रममा बोल्दै द्वन्द्वपीडित प्रेमकुमारी बुढाले राज्यले सक्कली र नक्कली पीडित छुट्याएर आफूहरूलाई कुनै व्यवसायिक तालिम दिएर व्यवसाय सञ्चालन तथा आयआर्जनमा जोड्नुपर्ने बताउनुभयो। पीडितका लागि केही गर्दा गैरपीडित मिसिएर आफ्नो अधिकारमा अवरोध गर्ने गरेको गुनासो गर्दै उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगले पनि के गरिरहेको छ ? भन्दै प्रश्न गर्नुभयो।

आफूहरूलाई उजूरी दिन लगाएर आयोगले छानविन नगर्नु दुःखद् भएको सहभागीले बताएका छन्। जिल्लास्थित सरोकारवाला निकायको तर्फबाट त्रिवेणी गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत मानबहादुर खत्रीले स्थानीय तहअनुसारका गाउँपालिकामा द्वन्द्वपीडितको अभिलेख नहुँदा सिफारिस दिन समस्या भएको बताउनुभयो। त्यस्तै जिल्लास्थित अन्य सेवाप्रदायक निकायको तर्फबाट सेवा दिनका लागि पीडितको एकिन तथ्यांक नहुँदा र भएको अभिलेखमा पनि पीडितको वर्गीकरण नगर्दा सेवा दिन असहज भएको बताएका छन्।

द्वन्द्वपीडितको वर्गीकरणसहितको अभिलेख व्यवस्थापन गरी जिल्लास्थित सेवाप्रदायक निकायबाट एकीकृत सेवा प्रवाह गर्ने संयन्त्र बनाउँदा पीडितलाई राहत हुने सहभागीको सुझाव छ। हरप्लेसका उपाध्यक्ष सुनीता बीएमको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय शान्ति समितिका सचिव राजु लामिछानेले जिल्लामा पीडितहरूको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले जिल्लामा शान्ति समितिले सिफारिस गरेअनुसार केन्द्रबाट राहत नआउनु मुख्य समस्या भएको बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईं, विभिन्न राजनीतिक दलका प्रमुख, विषयगत कार्यालयका प्रमुख, विभिन्न गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्