मोतीराम तिमल्सिना, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो तथ्यांकीय झलक सार्वजनिक गरिएको छ। केन्द्रीय तथ्यांक विभाग, जिल्ला तथ्यांक कार्यालय र जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले संयुक्तरूपमा पछिल्लो राज्य पुनर्सरंचनाको खाकासहितको तथ्यांककीय झलक प्रकाशन गरेका हुन्।
नेपालको मानचित्रमा ८५०२४ड्ढ–८५०५३ड्ढ पूर्व देशान्तर र २७०२०ड्ढ–२७०४५ड्ढउत्तर अक्षांशकाबीच फैलिएर रहेको काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफल १३९६ वर्ग किमि रहेको छ। नेपालको एकीकरणपूर्व वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, खोपासी, नाला, साँगा, पलाञ्चोक, मण्डन, दाप्चा, नाल्दुम, चौकोट जस्ता लघु राज्य अथवा गाउँहरू थिए। वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्रअन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो। काभ्रे जिल्लाभित्र काभ्रे र पलाञ्चोक गरी २ वटा मौजाहरूको संलयनद्वारा वि.सं. २०१९ सालमा काभ्रेपलाञ्चोक जिल्लाको जन्म भएको थियो। ‘काभ्रे’ वर्तमान काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने एक गाविस हो भने ‘पलाञ्चोक’ तत्कालीन साठीघर भगवती गाविसमा पर्ने एक प्रशिद्ध मन्दिर हो। काठमाडौं उपत्यकादेखि सबैभन्दा नजिकमा रहेको जिल्ला सदरमुकाम काभ्रेको धुलिखेल हो।

वागमती अञ्चलका काठमाडौं, भक्तपुर र ललितपुर (पश्चिम), सिन्धुपाल्चोक (उत्तर), जनकपुर अञ्चलका रामेछाप, दोलखा (दुवै पूर्व) र सिन्धुली (दक्षिण) अनि नारायणी अञ्चलको मकवानपुर (दक्षिण) समेत गरी कुल ८ वटा जिल्लासँग जोडिएको छ। जिल्लाको दक्षिणी सीमा हुँदै बग्ने साल्मेचाकल गाविसस्थित कोखाजोर खोला आसपासमा जिल्लाको न्यूनतम उचाइ बिन्दु (करिब २८० मि.) फेला पर्दछ भने ३०१८ मिटर उचाइ रहेको बेथाञ्चोक नारायण डाँडा (ढुंखर्क गाविस) सर्वाधिक उच्च बिन्दु हो। जिल्लाको औसत लम्बाइ (पूर्व⁄पश्चिम) ४२.०५ किमि छ भने औसत चौडाइ (उत्तर⁄दक्षिण) ३५.४२ किमि रहेको छ। नेपालको मध्यपहाडी क्षेत्रमा पर्ने यस जिल्लामा अर्धउष्ण, न्यानो समशितोष्ण र ठण्डा शितोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाइन्छ। वि.सं. २०७३ मा यस जिल्ला दूधमा पूर्ण आत्मनिर्भर तथा पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ।

जिल्ला तथ्यांक कार्यालय काभ्रेका तथ्यांक अधिकृत दीनानाथ लम्सालका अनुसार पछिल्लोपटक प्रकाशन भएको उक्त तथ्यांकीय झलकमा जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, जातजाति, मातृभाषा र धर्म, गरिबी, आन्तरिक आय, आन्तरिक राजस्व, भौतिक निर्माण, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, साक्षरता, भू–उपयोग, प्रमुख पेशा, बालीको उत्पादन, पशुपक्षीको संख्या, दुर्घटना तथा विपद् पछिको क्षति, अपांगता, जेष्ठ नागरिक, उद्योग, अदालतमा पर्ने मुद्दा दर्ता तथा फछ्र्याैट, खानेपानी तथा सरसफाइ, बैंक तथा वित्तीय संस्था, जिल्लाको राजस्व र खर्च विवरण, घर–जग्गा पास तथा राजस्व, सहकारी विवरण, सञ्चारसम्बन्धी विवरण, पर्यटकीय पूर्वाधार, प्रमुख पर्यटकीय स्थलहरू, सार्वजनिक पुस्तकालय, प्रस्तावित गाउँ तथा नरपालिका, गाविसअनुसारको जनसंख्या तथा मतदाता विवरणलगायतका विषयहरू समावेश गरिएको छ।

राज्य पुनर्संरचनामा १३ तह मानिएको काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३५ वडा कायम भएका छन्। अघि ७५ गाविस र ५ नगरपालिका कायम भएको जिल्ला नयाँ संरचनाअनुसार ६ नगरपालिका र ७ गाउँपालिकामा परिणत भएको छ। १३ तहकै कार्यालयहरूमा कार्यालय खुलेकै दिन सरकारले तोकेबमोजिमका छाप, लेटरप्याड र साइनबोर्ड राखिएको छ। जिल्लाका ६ नगरपालिका बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध र मण्डन देउपुर नगरपालिकामध्ये जनसंख्याका हिसाबले बनेपा सबैभन्दा ठूलो नगरपालिका भएको छ। त्यस्तै डाँडापारिमा दुई गाउँपालिका महाभारत र खानीखोला, कोशीपारिमा दुई गाउँपालिका चौरी देउराली र भुम्लु, रोशीमा एक गाउँपालिका रोशी, बेथाञ्चोक गाउँपालिका, तेमाल गाउँपालिका रहेका छन्।

जनसंख्याका हिसाबले सबैभन्दा ठूलो बनेपा नगरपालिका भएको छ। बनेपामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ। वर्गकिमीका हिसाबले सबैभन्दा ठूलो महाभारत गाउँपालिका रहेको छ। १ सय ८६ वर्ग किमिमा फैलिएको गाउँपालिकामा १८ हजार २ सय ८३ जनसंख्या रहेको छ। १२ वटा रहेको उक्त गाउँपालिकाको केन्द्र बनखुमा कायम गरिएको छ। डाँडापारिकै खानीखोला जनसंख्याका हिसाबले सबैभन्दा सानो स्थानीय तह हो। १४ हजार ३ सय ९८ मात्रै जनसंख्या रहेको खानीखोलामा ७ वडा कायम छ भने १ सय ३२ वर्ग किमि क्षेत्रफल रहेको छ। सदरमुकाम रहेको धुलिखेल र व्यापारिक नगर बनेपाको ५५ वर्ग किमि रहेको छ।

LEAVE A REPLY