काठमाडौंको शव र सिनोले मकवानपुर दुर्गन्धित



रोशन पराजुली, हेटौंडा
वागमती नदीले काठमाडौं र वरिपरिबाट बगाएर ल्याएका शव र सिनोले मकवानपुरको पूर्वी फापरबारी गाविस क्षेत्र दुर्गन्धित बन्दै आएको छ। यसबाट मानिस र पशुलाई रोग सर्न सक्ने सम्भावना बढेको छ।

मानिसका शव र पशुका सिनो बगाएर वागमतीले गाउँनजिक खोला किनारमा छाडिदिने गरेपछि स्थानीय चिन्तित छन्। जिल्ला समन्वय समिति मकवानपुरअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि खटिएका सामाजिक परिचालकहरू वाग्मतीले काठमाडौंबाट शव ल्याएर किनारमा छाड्ने गरेको बताउँछन्। गाई, भैंसी, राँगा, सुँगुर, कुखुरा र बंगुरका अनगिन्ती सिनो गाउँनजिक खोला किनारमा देखिने गरेको उनीहरूको भनाइ छ।

सिनो खाँदा रेविज प्रभावित भएका गाउँका कुकुरले टोकेका कारण पाँचपाण्डव र बगेरी क्षेत्रका १६ गाईबस्तुमा रेविजको संक्रमण देखिएको थियो। समस्या न्यून गर्न फापरबारी पशु सेवा केन्द्रले बगेरीका गाई, भैंसी, गोरु र राँगालाई रेविजविरुद्धको खोप लगाएको थियो। व्यापक दुर्गन्ध र रोग फैलनसक्ने डरले स्थानीय खोलानजिक जान डराउने गरेका छन्।
करिब ५ सय घरधुरीमा बस्दै आएको २ हजार जना प्रभावित भएपछि स्थानीय वडा नागरिक मञ्चले शव र सिनो संकलन गरी सुरक्षित ठाउँमा खाल्डो खनेर गाड्ने गरेको छ।

काठमाडौंको चोभार गल्छीहुँदै बगेको ढलयुक्त वाग्मतीबाट मकवानपुरसम्मका बासिन्दालाई असर परेको हो। ‘पानी परेपछि काठमाडौंको फोहोर जस्ताकोतस्तै आउँछ’, स्थानीय अनील थापाले भने– ‘खेतीपातीमा यस्तो पानी प्रयोग गर्नै मिल्दैन, पानी फोहोर भएपछि हामीले चाहेअनुसार किसानी काम पनि गर्न पाएका छैनौं।’ उनका अनुसार करिब २० वर्षअघि स्थानीयले वाग्मतीको पानी पिउने र खेतीपातीमा प्रयोग गर्ने गर्थे।

‘वागमती सफा हुँदा यहाँका कैयौं परिवारले पानीघट्ट र माछा मारेरै जीविकोपार्जन चलाएका थिए’ स्थानीय रमानाथ कोइरालाले भने– ‘काठमाडौंबासीले वागमती फोहोर बनाउँदा यहाँका गरिबको पेसा गुम्यो।’

वागमतीको दुर्गन्धले नदीकिनारका बासिन्दालाई बसिनसक्नुभएको कोइराला बताउँछन्। ‘वागमतीमा मिसिएको मलमूत्रको गन्ध घरसम्म आउँछ’, उनले भने– स्थानीयले चाहँदैमा नदीको फोहोर हट्दैन, यसको समाधान काठमाडौंबासीले नै गर्नुपर्छ।’

नदी सफा हुँदा स्थानीय कत्ले, वाम, सहरलगायत प्रजातिका माछा पाइने गरेको सुरेश तिमल्सिनाले बताए। विगतमा माछा मारेर जीविका चलाउँदै आएका उनले वागमती फोहोर भएपछि गरिखाने पेसा गुमेको गुनासो गरे। ‘पानी सफा हुँदा खेतीपाती र माछा व्यापार गरेर छोराछोरीलाई पढाउँदै आएका थियौं’, तिमल्सिनाले भने– ‘तर, अहिले परिवार पाल्नै मुश्किल छ।’

वागमती फोहोर बनेपछि विगतमा त्यहींको पानी पिउने स्थानीय खोल्साखाल्सीका पानी मुहान धाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्