चुनाव हुँदैन भन्ने षड्यन्त्रकारीः प्रम



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन हुँदैन भन्ने षड्यन्त्रकारी हुने बताउनुभएको छ। अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरूले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताउनुभएको हो।

मंगलबार सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै माओवादी संसदीय दलको नेतासमेत रहनुभएका प्रचण्डले चुनाव सफल पार्न सबैलाई प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो।

उहाँले मधेस र जनजातिका मुद्दा सम्बोधन गर्न सरकार गम्भीर रूपमा लागिरहेको बताउँदै सीमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताउनुभयो।
आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्दै प्रचण्डले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्त्वपूर्ण छलफलहरू हुने जानकारी गराउनुभयो।

बैठकमा सांसदहरूले राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा आइरहेका बेला पनि लामो समयसम्म संसदीय दलको बैठक नबोलाएको भन्दै प्रचण्डको आलोचना गरेका थिए। बैठकमा सातवटै प्रदेशका संयोजकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, सरकार र पार्टीलगायत विषयवस्तुमा दलमा पर्याप्त छलफल आवश्यक भएको भन्दै दलका नेताको ध्यानाकर्षण गराएको प्रमुख सचेतक टेकबहादुर बस्नेतले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्