मकवानपुरमा डापोग विधि र भर्मिक कम्पोस्ट मल



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित प्रगतिशील कृषक समूहले यस वर्षको चैतेधान रोप्न मकवानपुरमा पहिलोपटक डापोग विधिबाट बीउ उमारेको छ।

२४ जनाको कृषक समूहले ८ बिघाका लागि परीक्षणसहित २ सय ६५ किलोग्राम हर्दीनाथ धानको ब्याड तयार पारिएको हो। मेसिनबाट धान रोप्न सजिलो होस् भन्नाका लागि प्लास्टिकमा एक भाग मल र दुई भाग माटोसहित धानको बीउ राखिएको प्रगतिशील कृषक समूह उपाध्यक्ष कमल गोपालीले बताए।

परीक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले प्लास्टिक, बीउ र धान रोप्न मेसिनको भाडामा ५० प्रतिशत गरी ३० हजार बराबर अनुदान सहयोग छुट्याएको बाली विकास अधिकृत रचना देवले जानकारी दिइन्। यस विधिबाट धानखेती गर्दा १० देखि १५ प्रतिशतसम्म उब्जनी बढ्ने उनले दाबी गरिन्।

मेसिनबाट धान रोप्न ट्रेमा बीउ राख्दा महँगो पर्ने भएकाले डापोग प्रविधिबाट बीउ राखिएको बाली विकास अधिकृत देवले जानकारी दिइन्। उनले डापोग विधिमा सर्वप्रथम प्लास्टिकमाथि दुई भाग माटो र एक भाग मल राखिन्छ र बीउ छरेपछि माथिबाट माटोले पुरिन्छ। परम्परागत कृषि प्रणालीभन्दा डापोग प्रविधिबाट धान रोप्दा लागत कम लाग्ने उनले बताइन्। साधारणतया डेढ बिघा क्षेत्रफलमा धानखेती गर्न ५० किलोग्राम बीउ लाग्छ। तर, यस प्रविधिबाट खेती गर्दा बीउ कम लाग्छ।

मेसिनबाट खेती गर्दा किसानले भाडामा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। धानको अनिवार्य बीमा गरिने उनले बताइन्। बीउ छरेको १५ देखि २० दिनभित्र रोप्न मिल्ने भए पनि हाल चिसो र पानी बढी भएकाले बीउ रोप्न केही ढिला हुने किसानको भनाइ छ।
जिल्ला कृषि कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा गढी गाउँपालिका–६ का किसानहरूले भर्मिक कम्पोस्ट मल उत्पादन थालेका छन्। जागृति कृषक समूह र प्रसिद्ध किसान समूहका ६० सदस्यहरूले भर्मिक कम्पोस्ट मल उत्पादन शुरु गरेका हुन्। गोठ सुधार कार्यक्रमअन्तर्गत कार्यालयले ६० कृषकलाई जनही २५ हजार रुपियाँका दरले अनुदान उपलब्ध गराएको थियो। कृषक केदार बजागार्इंका अनुसार कृषि उत्पादनमा विषादि प्रयोगलाई कम गर्न भर्मिक कम्पोस्ट मल बनाउन शुरु गरिएको हो। भर्मिक कम्पोस्ट मल बनाउन १ मिटर चौडाइ, २ मिटर लम्बाइ र १ मिटर उचाइ भएको खाडल तयार गर्नुपर्ने हुन्छ। जुन खाडलमा गाईबस्तुको गोबर, पातपतिंगर राखेर माथिबाट गड्यौंला राखिन्छ। गड्यौंलाले पातपतिंगरलाई धुलो बनाएपछि मल तयार हुन्छ।

आमभञ्ज्याङलाई विषादिरहित कृषि उत्पादन गराउन किसान सक्रिय छन्। यसरी भर्मिक कम्पोस्टबाट तयार गरिएको मल प्रतिकिलो ३० रुपियाँको दरले बिक्री हुने गरेको कृषक बजगाईंले बताए। प्रसिद्ध कृषक समूहले आलुको बीउ उत्पादन कार्यक्रम गरेको छ। जागृति कृषक समूह अध्यक्ष विष्णुप्रसाद लम्सालले आलुको उत्पादन वृद्धि गर्ने र बीउ आलु उत्पादन गर्ने उद्देश्यले बीउ रोपिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्