गोदाममा अवैध ‘माल’



कुमार श्रेष्ठ, बाँके
सीमापारि भारतबाट अवैधरूपमा सामानहरू ल्याएर नेपालगन्जस्थित गोदाममा राख्ने र छिमेकी जिल्लाहरूमा पठाउने गरिएको छ।

व्यापारीहरूले त्यसरी आफैं या भरियामार्फत् ल्याउने सामानलाई आफ्नो ब्रान्ड बनाएर सुर्खेत, दाङलगायत पहाडी जिल्लामा पठाउने गरेको पाइएको छ। बढीमा मात्रामा कपडा, चिनी, मल, चामल, तेलको यस्तो कारोबार भइरहेको भुक्तभोगीहरू बताउँछन्।

बाँके प्रहरीले पछिल्लो समयमा चोरी तस्करी नियन्त्रण गर्न विशेष ब्युरो परिचालन गरेपछि पक्राउ गरिएका केही घटनाले पनि यस्तो पुष्टि गरेको छ। नाम चलेका व्यवसायीहरू पनि यस्तो धन्दामा लागेका छन्।

बाँके प्रहरीले ५ दिनअघि नेपालगन्जको घरबारी टोलबाट १ लाख ३० हजार बराबरको अवैध कपडा बरामद गरेको थियो। भन्सार छलेर ल्याएका ती कपडालाई प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझायो। २ दिनअघि गणेशमानचोकबाट ४५ हजार बढीको लत्ताकपडा, सुपारी, चिनी बरामद गरियो। प्रहरीले सक्रियता देखाउने बित्तिकै यस्ता अवैध सामान दैनिकजसो नै पक्राउ पर्ने गरेका छन्।

दैनिक दुई दर्जनबढीलाई साइकलमा सामान ओसार्न लगाएर गोदानमा थुपार्ने र आफ्नै ब्रान्ड या नयाँ बोरामा प्याक गरेर छिमेकी जिल्लाहरूमा सप्लाई गर्ने व्यवसायीको प्रहरीले खोजतलास शुरु गरेको हो। ‘हामी नाकाबाट भरियाको पछि लागेर आउँछौं। कहाँ जान्छन् हेर्छौं र आवश्यक पर्दा नियन्त्रणमा लिन्छौं’, प्रहरीले भनेको छ– ‘अवैध कारोबारको जालो लामो छ। हामीले सक्दो अनुसन्धान र छापा मार्ने काम गरिरहेका छौं।’

प्रहरी निरीक्षक वीरबहादुर थापाले भन्सार छलेर सामान ल्याउनेविरुद्ध अप्रेसन चलिरहेको बताउनुभयो। ‘छोटी नाकाबाट भरियामार्फत् सामान ल्याएर थुपार्ने र छिमेकी जिल्लामा पठाउने गतिविधि धेरै छ’, प्रहरी निरीक्षक थापाले भन्नुभयो– ‘गलत धन्दा रोक्न हामी लागिपरेका छौं।’

नेपालगन्जमा कपडा क्यारिङ गर्ने एक दर्जनको संख्यामा रहेका महिलालाई रोक्न प्रहरीले सकेको छैन। प्रहरीसँग लडेर नै उनीहरूले आफ्नो काम गरिरहेका छन्। त्यसको अलावा साना बालबालिकादेखि दैनिक ५⁄७ चक्कर सामान ओसार्नेको संख्या कम छैन।

भन्सारले मुख्य बाटोमा कडाइ गरेको छ। त्यसले राजस्वमा भारीमात्रामा वृद्धि भएको छ। छोटी नाकाहरूमा हुनुपर्ने जति कडाइ हुनसकेको छैन। मुख्य बाटोबाट पनि साइकलमा थोरै–थोरै गरेर ५⁄७ चक्कर लगाउनेले भन्सारलाई झुक्याइरहेको छ।

अवैध सामान राख्नका लागि सीमा आसपास, नेपालगन्जदेखि कोहलपुरसम्म गोदाम बनाइएका छन्। केही महिनाअघि भरियाको पछि लाग्दै गएर प्रहरीले कोहलपुरमा एक गोदाममा छापा मारेर अवैध माल नियन्त्रणमा लिएको थियो। छिटो पैसा कमाउधन्दामा लागेको नयाँ–नयाँ रणनीतिअनुसार प्रहरी प्रशासन फितलो बनेको छ।

बन्द, हड्ताल, आन्दोलन, विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिनुपर्ने प्रहरीको व्यस्तताको तस्करले राम्रै फाइदा उठाएको जानकारहरू बताउँछन्। कतिपयले भन्सार कर्मचारी र प्रहरीलाई रिझाएर ल्याएको बताइन्छ। कनिकाको भन्सार गरेर भित्र चामल राखेर ल्याउने घटना सार्वजनिक भएको नेपालगन्जमा भारतबाट आएको ट्रक नै एक–एक गरेर खोतलेर हेर्ने हो भने ठूला तस्करी नियन्त्रण हुने भुक्तभोगीको राय छ। ‘भरिया र नाकाबाट सानो–सानो पोकामा ल्याउने त साना तस्करी हुन्’, भन्सारका भुक्तभोगी एक भन्छन्– ‘ठूला तस्करले त मुख्य बाटोबाटै सेटिङमा ल्याउँछन्। जुन ठूलो मात्राको तस्करी हुन्छ।’

प्रतिक्रिया दिनुहोस्