मौलाना ‘नेपाली’ हज समितिको केन्द्रीय सल्लाहकारमा मनोनित



सीताराम चौधरी, चन्द्रौटा
कपिलवस्तुको कृष्णनगर निवासी मौलाना मसहुद खाँ ‘नेपाली’ नेपाल सरकार गृह मन्त्रालय केन्द्रीय हज समितिको केन्द्रीय सल्लाहकारमा मनोनित हुनुभएको छ।

केन्द्रीय समितिको गत आइतबार बसेको बैठकले केन्द्रीय शिक्षा परिषद् (मदरसा बोर्ड) का केन्द्रीय सदस्य एवं राष्ट्रिय मदरसा संघका राष्ट्रिय महासचिव मौलाना ‘नेपाली’ लाई सल्लाहकारमा मनोनित गरेको हो। साउदी राजदूतावाससँग वार्ताका लागि हज समितिले मौलाना नेपालीलाई वार्ता संयोजकको जिम्मेवारी दिएको छ। यसै गरी राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अब्दुल गनी अलकुफीलाई समेत वार्ताटोलीको मुख्य जिम्मा दिएको बताइएको छ।

यसअघिको केन्द्रीय हज समितिले वार्ता गरे पनि सफल नहुँदा राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अलकुफी र महासचिव मौलाना नेपालीलाई जिम्मेवारी दिएको हो। साउदी अरबले नेपाललाई १ हजार हाजी पठाउन अनुमति दिएको छ। गतवर्ष फारम भरेकामध्ये १ हजार १५ जना हाजी मक्काको हज गरी फर्किए। तर, गत वर्षै फारम भरेका ६ सय १५ जना हजयात्री सीमित कोटाका कारण जान पाएका छैनन्। साउदी अरबको अनुमतिअनुसार नेपाल सरकार गृह मन्त्रालयले हजयात्राका लागि १ हजार संख्या कोटा निर्धारण गरी आवेदन खुला गरेको छ। तर, गतवर्ष कटौतीमा परेकालाई पहिलो प्राथमिकतामा राखेको छ। सोअनुसार गतवर्षको संख्यामा यस वर्ष थप ३ सय ८५ जना मात्र नयाँ हजयात्री मक्का जान पाउने देखिन्छन्।

वार्ता समितिका संयोजक मौलाना मसहुद खाँ ‘नेपाली’ का अनुसार नेपाल हज समितिले यस वर्ष साउदी राजदूतावाससँग २ हजार ५ सयको हाराहारीमा कोटा माग गर्ने निर्णय गरेको छ। हजयात्रामा जानेको माग बढ्दै गएकाले साउदी सरकारले पनि कोटा बढाउनुपर्ने नेपाल हज समिति सल्लाहकार एवं वार्ता समिति संयोजक मौलाना ‘नेपाली’ ले माग गर्नुभयो। यसका लागि आफूले भरपुर पहल गर्नेसमेत उहाँले बताउनुभयो।

यसैबीच नेपाल सरकार गृह मन्त्रालयले वि.सं. २०७४ मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने इच्छुक महानुभावका लागि आवेदन खुलाएको छ। २०७३ चैत ९ गते बुधबारदेखि २०७४ वैशाख १० गतेसम्म जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल हज समितिमा आवेदन गर्न सूचना प्रकाशित गरेको छ। सूचनाअनुसार फारमसँगै सक्कल राहदानी, पासपोर्ट साइजको ३ प्रति फोटो र राष्ट्रिय वाणिज्य बैंकमा नेपाल हज समिति सिंहदरबार काठमाडौंको खातामा १ लाख जम्मा गरेको सक्कल भौचर पेस गर्नुपर्नेछ। महिलाको हकमा मेहरमको राहदानीको प्रतिलिपी तथा मेहरमसँग नाता खुलेको नाता प्रमाणितको प्रतिलिपी संलग्न गर्नुपर्ने बताइएको छ। तर, गत वर्ष कटौतीमा परेका रकम तथा राहदानी फिर्ता नलिएका हाजी हज्जिनहरूलाई ३ प्रति फोटोसहित फारम भरी पेस गर्न सूचना जारी गरिएको छ।

हजयात्राका लागि कपिलवस्तुबाट गत वर्ष २ सय ५० बढीको निवेदन परेको थियो। यस वर्ष पनि देशमै सबैभन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको राष्ट्रिय मदरसा संघका अध्यक्ष अब्दुल गनी अलकुफीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्