अभिभावकले सोच्नुपर्छ



विजय सम्बाहाम्फे
अध्यक्ष प्याब्सन

प्याब्सनको हालै सम्पन्न १३औं महाअधिवेशनबाट विजयी हुनुभएका विजय सम्वाहाम्फे आफूलाई प्याब्सनको दोस्रो पुस्ताको ब्याब्सनिस्ट भन्न रुचाउनुहुन्छ। करिब अढाइ दशकदेखि निजी विद्यालयको क्षेत्रमा लागिपर्नुभएका उहाँ निजी विद्यालयलाई व्यवस्थित बनाउन आफ्नो नेतृत्व लागिपरिरहेको बताउनुहुन्छ।

अग्रजको विरासत जोगाएर प्याब्सनलाई मुलुककै महत्त्वपूर्ण संगठनका रूपमा अघि बढाउने उहाँको चाहना रहेको छ। ६७ जनाको कार्यसमितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नु उहाँको अब्बल क्षमता हो। देशभरका ५ हजार ५ सय विद्यालयको नेतृत्वको बागडोर सम्हाल्नुभएका उहाँले आफ्नो कार्यकालमा सक्षम र सबल प्याब्सन बनाउने योजना अघि सार्नुभएको छ। ७३ जिल्लामा जिल्ला शाखा रहेको प्याब्सनअन्तर्गत करिब २० लाख विद्यार्थी अध्ययन गरिरहेका छन्।

प्याब्सनलाई सक्षम नेतृत्व प्रदान गर्न चुनौती र अवसर दुवै रहेको धारणा राख्नुहुने उहाँ आफ्नो कार्यकालमा निजी शिक्षालाई उचाइमा पुर्याउने प्रण गर्नुभएको छ। सरकारले निजी विद्यालयलाई प्राथमिकताको सूचीमा राख्न नसकेपछि आफ्नो कार्यकालमा सरकारसँग समदूरी बनाउने योजना बुन्नुभएका उहाँले देशको निजी शिक्षा क्षेत्रको विकासका लागि बहस आवश्यक रहेको बताउनुभएको छ। ३ जनाको प्राज्ञिक समूह, ५ जना सल्लाहकार समूह गठन गरी निजी शिक्षालाई विश्वस्तरमा पुर्याउन नयाँ योजना बनाइरहेको बताउनुहुने सम्बाहाम्फेसँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानीः–

अहिले त भर्नाको समय आएको छ। विद्यालय–विद्यालयबीच विद्यार्थी तानातान हुने अवस्थामा राम्रो स्कुल कसरी छनोट गर्न सकिन्छ ?

वास्तवमा निजी शिक्षामा विकृति नभएका होइनन्। कस्तो विद्यालयमा कुन तहको विद्यार्थी भर्ना गर्ने भन्ने विषयमा मापदण्ड तयार नहुँदा समस्या परेको छ।

सरकारले कुन विद्यालयमा कस्ता विद्यार्थी भर्ना गर्ने, शुल्कको मापदण्ड कस्तो हुने, विद्यालयमा कसरी पढाइ हुन्छलगायतका विषयमा सरकारी पक्षले ध्यान नदिँदा समस्या बढेको छ। हामीले एउटा योजना बनाएका छौं। निजी विद्यालयको मापदण्ड तय गर्ने आफ्नै सदस्य विद्यालयमा यो मापदण्ड लागू गराउने। मापदण्ड पूरा भएका विद्यालयलाई प्रमाणपत्र दिन र पूरा गर्न नसकेका विद्यालयलाई अल्पकालीन सदस्यता दिने योजना बनाएका छौं। हालै सम्पन्न विस्तारित बैठकले सदस्य विद्यालयमा कस्तो पूर्वाधार हुनुपर्छ। शिक्षक र कर्मचारीलाई कस्तो सेवासुविधा दिने गरेका छन्। कति शुल्क कायम गरिएको छलगायतका विषयमा अध्ययन गर्ने निर्णय गरेको छ। सोहीअनुसार विद्यालयको श्रेणी छुट्याउने तयारी गरेका छौं। भर्नाको समयमा विद्यार्थी तानातान गर्ने प्रचलनलाई अध्ययन गरिरहेका छौं। कस्तो विद्यालयमा पढाउने, त्यसको भौतिक संरचना कस्तो छ। प्रयोगशाला, खेलमैदान कस्तो छ, विद्यार्थी संख्या कति छ, खानेपानी र सरसफाइको अवस्था कस्तो छ, कक्षाकोठाको अवस्था कस्तो छ, पढाइमैत्री वातावरण छ कि छैनलगायतका विषयमा अध्ययन गरेर मात्रै आफ्ना छोराछोरीलाई भर्ना गराउनुपर्छ। तानातान गर्छन् भने त्यस विषयमा अभिभावकले सोच्नुपर्छ। समाजसँग घुलमिल हुने वातावरण भएका विद्यालयमा मात्रै आफ्ना छोराछोरी पठाउनुपर्छ। हचुवाको भरमा ठूलो भवन र हल्लीखल्ली बढी भएको विद्यालयमा मात्रै पढाउनुपर्छ भन्ने छैन।

पढाउने शिक्षकले राजनीति गरेपछि कसरी विद्यार्थीले प्रगति गर्छन्। निजी शिक्षालयमा राजनीति नभएकै कारण पढाइ उत्कृष्ट भएको हो। सरकारले निजी विद्यालयलाई अपहेलना गरेको छ। विद्यालय सञ्चालन गर भनेर अनुमतिपत्र मात्रै दिन्छ। शिक्षाको सुधार गर्ने विषयमा कुनै चासो देखाउँदैन।

हामी निजी विद्यालयको संरक्षण गर्न गठन भएको संस्थाले कस्तो विद्यालय राम्रो वा ठीकै खालको भनेर क्राइटेरिया बनाउनुपर्छ। त्यो काम प्याब्सनले शुरुआत गर्ने तयारी गरिरहेको छ। विद्यार्थी भर्ना गर्दा अभिभावक स्वयम् गम्भीर हुनु जरुरी छ। विकृति र विसंगति भएको विद्यालयमा भर्ना गर्नु हुँदैन। कुन विद्यालय कस्तो छ भनेर सोचविचार गरेर मात्रै भर्ना गर्नुपर्छ। वास्तवमा हामीहरूबीच विकृति छ तर त्यसलाई समाधान गर्ने उपायका बारेमा सोचेका छैनौं। अब त्यसबारेमा सोचविचार गरिनेछ। त्यसैले म आम अभिभावकलाई भन्नु चाहन्छु कि आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गर्ने कि हाम्रोमा भनेर सोच्नु जरुरी छ।

किन सरकारीभन्दा पनि निजीमा आकर्षण बढेको होला ?

स्वाभाविक रूपमा निजीले उत्कृष्ट शिक्षा दिने भएकै कारण विद्यार्थीको संख्या बढेको हो। सरकारी विद्यालयमा पनि नबढेको होइन। केही सरकारी विद्यालय अति राम्रा छन्। तर धैरैजसो राम्रो छैन। किनभने सरकारी विद्यालयमा पढाइ व्यवस्थित छैन। प्रविधियुक्त शिक्षा दिन सकेको छैन। सधैं परम्परावादी र पुरातन सोचको आधारमा पठनपाठन हुने गरेको छ। राज्यले दिने निःशुल्क शिक्षा राम्रो छ। तर त्यसलाई सही रूपमा सदुपयोग गर्न सकिएको छैन। निजीमा शुल्क लिएर पढाइ हुने भएकाले विद्यार्थीको भविष्यप्रति निजी विद्यालय सञ्चालक बढी संवेदनशील हुने गरेका छन्। सरकारीमा जीवनउपयोगी शिक्षा नभएर निजी विद्यालयमा बढी घुइँचो लागेको हो। सरकारीले देश सुहाउँदो शिक्षा दिए उतैतिर बढी विद्यार्थी जान्थे होला। न टुर न परीक्षा। परीक्षाको कपी जाँचिन्छ विद्यार्थीलाई हेर्न दिइँदैन।

हाजिरसमेत गरिँदैन। निजीमा त एक दिन विद्यार्थी आएन भने अभिभावकलाई बोलाउँछौं। भनेको मतलब निजी विद्यालय सरकारीको तुलनामा सबै विषयमा व्यवस्थित छ भन्ने खोजेका हौं। निजीमा आउनुको कारण अभिभावकले आफ्ना छोराछोरीको भविष्यप्रति ख्याल गरेकै कारणबाट हो। राज्यको सही दृष्टिकोण नभएका कारण सरकारी शिक्षाले विकास गर्न नसकेको हो। वर्षमा एकपटक परीक्षा दिएर मात्रै कसरी सरकारी शिक्षा उत्कृष्ट हुन सक्छ ? तालिम प्राप्त शिक्षक भएर पनि पेसाप्रति प्रतिबद्ध हुन नसकेका कारण सरकारी शिक्षा खस्कँदो अवस्थामा छ। गाउँघरको विद्यालयमा अध्यापन गराउने शिक्षक बुद्धिजीवी हुन्छन्। उनीहरू कुनै न कुनै पार्टीमा लागेका हुन्छन्। देशको अस्थिर राजनीतिको कारण बुद्धिजीवीमा गनिएका शिक्षकले राजनीति गर्न थालेपछि शिक्षामा विकास हुन नसकेको हो।

पार्टीले पनि शिक्षकलाई राजनीतिमा लाग्न अभिप्रेरित नगरिदिएको भए मुलुकमा सरकारी शिक्षा उत्कृष्ट हुन्थ्यो होला। पढाउने शिक्षकले राजनीति गरेपछि कसरी विद्यार्थीले प्रगति गर्छन्। निजी शिक्षालयमा राजनीति नभएकै कारण पढाइ उत्कृष्ट भएको हो। सरकारले निजी विद्यालयलाई अपहेलना गरेको छ। विद्यालय सञ्चालन गर भनेर अनुमतिपत्र मात्रै दिन्छ। शिक्षाको सुधार गर्ने विषयमा कुनै चासो देखाउँदैन। निजी आफैंले मिहिनेत गरेर पढाएका कारण सरकारीको तुलनामा निजीको स्तर वृद्धि हुँदै गएको हो। हामीलाई राज्यले मूल्यांकन गरेको छैन। राम्रो गर्नेलाई सम्मान गर्ने संस्कृतिको समेत विकास गर्न नसकेका कारण निजी र सरकारीबीच समस्या बढेको हो। तैपनि निजी विद्यालयले सरकारी विद्यालयलाई सहयोग गरिरहेकै छ।

भनेपछि सरकारले निजी विद्यालय सञ्चालकलाई भेदभाव गरेकै हो त ?

किन नहुनु निजी विद्यालयमा पढ्ने विद्यार्थी सरकारी कोटाबाट इन्जिनियर र डाक्टर हुन पाउँदैनन् ? ४५ प्रतिशत आरक्षण सरकारीलाई मात्र दिने गरेको छ। हामीले कर तिर्नुपर्ने तर त्यसको मूल्यांकन नहुने ? हामीले त सरकारलाई धेरै सहयोग गरेका छौं तर सरकारले हामीप्रति तल्लो स्तरको व्यवहार गर्ने गरेको छ। सरकारीलाई सुविधैसुविधा तर निजीलाई बेवास्ता गर्ने गरेको छ। यतिसम्म कि ०७२ सालको भूकम्पले गर्दा हजारौं निजी विद्यालय क्षतिग्रस्त भए। गाईबस्तु र चराचुरुङ्गीको समेत तथ्यांक राख्न खोज्ने सरकारले देशलाई मुख्य योगदान दिने निजी विद्यालयको हालसम्म तथ्यांकसमेत संकलन गरेको छैन। निजी विद्यालय सञ्चालक त दोस्रो दर्जाको नागरिक हुन् भन्नेसम्मको व्यवहार गर्ने गरेको छ।

निजीले चाहिँ सरकारलाई के योगदान गरेको छ त ?

धेरै गरेको छ। ९० प्रतिशत निजी विद्यालयकै कारण सरकारले नेपालको शिक्षा विश्वस्तरको छ भन्दै दाबी गर्दै हिँडेको छ। सरकारी विद्यालयमा पढ्ने विद्यार्थी नै अहिले मुलुकको चर्चित डाक्टर र इन्जिनियर भएका छन् र राजनीतिको क्षेत्रमा पनि निजी विद्यालयकै भूमिका बढ्दै गएको छ। सरकारले निजीलाई उत्साहित बनाउन पहल गरे निजीले सरकारलाई धेरै सहयोग गर्न सक्छ। निजीले नगन्य रूपमा सहयोग गर्दा त यति धेरै विकास गरेको छ भने सहयोग गरे के गथ्र्यो होला, आँकलनसमेत गर्न सकिँदैन। मैले भन्न खोजेको सरकारले केही गरेको छैन, निजीले मात्रै गरेको छ भन्न खोजेको होइन भन्न खोजेको यो हो कि सरकारी शिक्षाको तुलनामा निजीले धेरै सहयोग गरेको छ भन्न मात्रै खोजेको हो।

निजी विद्यालयले प्रविधिमा आधारित शिक्षा दिएको छ ?

किन नदिनु अहिलेको जवानामा प्रविधियुक्त शिक्षा नदिए विद्यार्थी नै आउँदैनन्। प्रोजेक्टर चनाउने। अबको शिक्षा टेक्नोफ्रेन्ड्ली कम्प्युटरको प्रयोग गर्नेजस्ता विषय सामान्य भइसकेको छ। मेरो विद्यालयमा पढ्ने विद्यार्थी नासामा गएर आएको छ भन्न खोजेको। प्रविधियुक्त शिक्षा दिएकै कारण प्रविधिले उसलाई त्यहाँसम्म पुर्याएको हो। अहिले सबै विद्यालयमा कम्प्युटर कक्षा हुन्छ। प्रोजेक्ट वर्क गराइन्छ।

प्रविधिमा आधारित शिक्षाकै कारण निजी विद्यालयका विद्यार्थी ट्यालेन्ट भएका छन्। अहिले सेल्फ एजुकेसनमा ध्यान दिएका छौं। अनुसन्धानमूलक विषयलाई प्राथमिकता दिएका छौं। निजीमा १ कक्षादेखि नै कम्प्युटरसँग नजिक गराइन्छ भने सरकारीले ८ कक्षा पुगे पनि सीमित विद्यार्थीलाई मात्रै प्रविधियुक्त शिक्षाका बारेमा जानकारी दिने गरेका हुन्छन्।

निजी शिक्षा महँगो छ भन्छन्, डीआई राखेर विद्यार्थीलाई तर्साउँछन् भन्ने आरोप छ नि ?

महँगो त केही मात्रामा होला। महँगो शुल्क लिएर उत्कृष्ट शिक्षा दिएको पनि बिर्सनु हुँदैन। हामीले धैरै शुल्क लिने गरेको छ भन्ने आरोप वर्षौंदेखि लाग्दै आएको छ। समय र परिस्थितिअनुसार महँगो शुल्क लिएका छैनौं। जिल्ला शिक्षा कार्यालयले तोकेको मापदण्डकै आधारमा शुल्क लिएका छौं। हामीले सरकारले राखेको पाठ्यक्रमको अलावा अतिरिक्त क्रियाकलाप दिने गरेका छौं। विश्वको शिक्षासँग प्रतिस्पर्धा हुने गरी पाठ्यक्रमको विकास गरेका छौं। स्किलबेस भएको छ प्रत्येक वर्ष मुद्रास्फीति बढेर गएको छ। त्यही आधारमा हामीले शुल्क लिने गरेका छौं। तर त्यसलाई महँगो भन्नु आरोप मात्रै हो। सरकारी विद्यालयमा राम्रो पढाए हुने भए निजीमा किन विद्यार्थीको घुइँचो लाग्थ्यो। म भन्छु सरकारी विद्यालय राम्रो बनाउनु न निजीको कामै छैन। तर सरकारले आफ्नो विद्यालय पनि राम्रो नबनाउने अनि निजीले महँगो शुल्क लियो भनेर आरोप लगाउने यो त सरासर गलत हो।

जहाँसम्म डीआई (डिसिप्लेन इन्चार्ज) राखेर विद्यार्थी तर्साउँछन भन्नु गलत हो। प्लस टुमा मात्रै डीआई राख्ने गरिएको छ। साना कक्षामा डीआई राखिँदैन। केही स्कुलले राखेका हुन सक्छन्। यदि राखिएको जानकारी भए तत्काल हामीलाई भन्नुहोस् हटाइदिन्छौं। विद्यालयमा डीआईको आवश्यकता नै छैन।

तपाईंको कार्यकालमा गर्नुपर्ने मुख्य काम के के हुन् ?

वास्तवमा अग्रजले प्याब्सनलाई यो स्थानमा ल्याइदिनुभयो। दोस्रो पुस्ताको हातमा पुगेको यो संस्थाको साख जोगाउन थुप्रै काम गर्नु आवश्यक छ। शैक्षिक प्रणालीलाई व्यवस्थित र मर्यादित गर्न मुलुकको निजी शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यक छ। शिक्षाको आधारमा परिवर्तन हुनुपर्छ। युग सुहाउँदो शिक्षा आवश्यक छ। मुलुकको आधारभूत शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बहस आवश्यक छ।

मुलुकभरका शिक्षाविद्सँग बहस गरेर अबको शिक्षा कस्तो हुनुपर्छ भनेर सरकारलाई ध्यानाकर्षण गर्ने तयारी गरेका छौं। प्याब्सनले गरेको राम्रो कुरा पनि हामीले सरकारलाई बुझाउन सकेका छैनौं। त्यसलाई बुझाउनु जरुरी छ। शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्छ। युग सुहाउँदो शिक्षालाई प्राथमिकता दिनुपर्छ। अहिलेको शिक्षाले सोचेजति प्रगतिउन्मुख बनाउन सकेको छैन। त्यसैले यो कार्यसमितिले विस्तृत योजनाको खाका बनाएर सोहीअनुसार नीति र योजना अघि बढाउने योजना अघि सारेको छ। मुलुकको शिक्षाको विकासमा निजी क्षेत्रले गरेको योगदानलाई स्थापित गर्न हामी लागिपरिरहेका छौं। देशभरका निजी विद्यालयको यति ठूलो संगठन प्याब्सनको आफ्नो भवन छैन। मेरो कार्यकालमा व्यवस्थित प्याब्सन बनाउनेछौं। प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउने योजना अघि सारेका छौं।

 

प्रतिक्रिया दिनुहोस्