किन पढ्न खोज्दैनन् विद्यार्थी ?

मुकुन्दराज शर्मा
प्रिन्सिपल, लिटिल एन्जल्स स्कुल

प्रायः सबै अभिभावकले भन्ने गरेको सुन्छु– ‘हामी त कति मिहिनेत गरेर पढ्थ्यौं, अचेलका बच्चा त पढ्न मनै गर्दैनन्।’ प्रायः सबै माथिल्लो पुस्तालाई लाग्छ कि उनीहरू अत्यन्त परिश्रमी थिए, भविष्यको अत्यन्तै चिन्ता गर्ने, परिपक्व, उत्तरदायी थिए तर अहिलेका बच्चा त्यस्ता छैनन्। यी पढ्दैनन्। पढ्ने बानी घट्दो छ। के साँच्चीकै पहिलेका विद्यार्थी धेरै पढ्थे ? वा आपूmले पढेको चाहिँ अरूको भन्दा धेरै लागेको हो ? यो कुरा अभिभावकमा मात्र होइन, लगभग सबै शिक्षकमा पनि लागू हुन्छ।

हामी त कति मिहिनेत गरेर पढ्थ्यौं, अचेलका बच्चा त पढ्न मनै गर्दैनन्।

आखिर नेपालको शैक्षिक इतिहास नै कति लामो छ र ? हाम्रो शिक्षाका कुनै पनि पक्ष र मान्यताले स्थायी स्वीकृति पाएकै छैनन्, हामी वर्षेनी नयाँनयाँ विधि, उपाय, चिन्तन र दर्शनलाई प्रयोग गरिरहेका छौं। त्यसमा पनि ह्वात्तै बढ्दो पश्चिमी चिन्तन र दर्शनले निर्देशित हाम्रा शिक्षाका मानकहरूले एउटा परिपक्व गोरेटो कोरेकै छैनन्। यस्तोमा के हुनुपथ्र्यो र के भइरहेको छैन भनेर ठ्याक्कै भन्न पनि कठिन होला। कतै धेरै पढाउनु, पढ्न लगाउनु र बढी परिश्रम गर्न लगाउनुलाई अहितकारी शिक्षण मानिएला भने कतै थोरै पढाउनु, रमाएर पढ्नु, थोरै परिश्रम गरेर आवश्यक ज्ञान आर्जन गर्नुलाई घट्दो शिक्षण पद्धति मानिएला। धेरै थरीका चस्माहरूका बीचबाट एउटा स्पष्ट दृष्टि खोज्नुपर्ने भएको छ। यदि पुनः शीर्षकमा फर्किएर जाने हो भने साँच्चीकै अचेलका विद्यार्थी पाठ्यपुस्तकप्रेमी नभएकै हुन् त ?

धेरै जना पठित र गुणी व्यक्तिका मुखबाट सुनेको छु कि पढ्नु सबैभन्दा कठिन कार्य हो। पाठ्यपुस्तकमा समेटिएका कुराहरू पढ्नु जोकोहीका लागि बोझिलो कार्य हो तर पनि भविष्यको कुनै सपना बोकेका, लक्ष्य लिएका व्यक्तिले त्यसलाई बोझ नमानी एउटा अवसर र भविष्य निर्माणको आधारशीला मानेर पढेका हुन्छन्। किनकि पाठ्यपुस्तक पढ्नु, साहित्यका किताब पढ्नु, पत्रपत्रिका पढ्नु यी सबै पढाइ पृथक्पृथक् प्रकृतिका हुन्। पत्रिपत्रिकामा आफ्ना रुचिका विषय रोजेर पढे हुन्छ, साहित्य, कथा आदि छानेर पढे हुन्छ तर पाठ्यपुस्तकमा त्यस्तो छनोट हुँदैन। सबै थोक पढ्नैपर्छ, पढेर मात्र पुग्दैन, बुझ्नुपर्ने हुन्छ, बुझेर मात्रै पुग्दैन सम्झनुपर्ने हुन्छ र सम्झेर मात्रै पुग्दैन त्यसका बारेमा सोधिएका घुमाउरा प्रश्नहरूको सही उत्तर दिनुपर्ने हुन्छ। दिन सके अगाडि बढियो, नसके पछाडि छोडियो। सबैभन्दा ठूलो तनाव यहीँनेर छ अगाडि बढिने हो कि पछाडि छोडिने हो ? अरूलाई जितिने हो कि अरूबाट हारिने हो ? पाठ्यपुस्तक पढाइमा अनेक अन्तर्वस्तुहरू लुकेका छन्।

आपूmलाई रुचि होस् कि नहोस् सबै थोक पढ्नुपर्छ, सबै थोक जान्नुपर्छ र सबैको कसीमा खरो भएर उत्रिनुपर्छ। अनि कसरी हुन्छ पाठ्यपुस्तकको पढाइ खबरपत्रिका पढ्दा जस्तो वा साहित्य पढ्दा जस्तो– रिल्याक्सिङ ? के पाठ्यपुस्तकमा समेटिएका पाठ्यसामग्री सचित्र छन् ? सरल छन् ? मनोरञ्जक पनि छन् ? के ती सजिलै दिमागमा अटाउँछन् ? के शिक्षण क्रियाकलाप थिएटरमा गएर नाटक हेरेजस्तै चित्ताकर्षक छन् ? तर पनि हरेक विद्यार्थीले पढ्नैपर्छ किनकि नपढे भविष्य अन्धकार छ, चौपट छ।

हामी हाम्रा पालाका कुरा गर्छौं जति बेला गाउँभरिमा एउटा–दुइटा रेडियो हुने गर्थे, एक–दुई जना ठूलाबडा घोडा चढेर हिँड्थे। ती समयका कुरा जति बेला गाउँमा एक–दुईओटा श्यामश्वेत टेलिभिजन आएका थिए। समय बिताउन पनि केही नभएर पाठ्यपुस्तक नै पढ्नुपथ्र्यो। अहिले संसार ल्यापटप र मोबाइलमा अटाएको छ, इन्टरनेटको जालोले बेरिएको छ, मास्टरहरूको मास्टर गुगल बनेको छ।

प्रविधिले संसारभरिको ज्ञान–विज्ञान र मनोरञ्जनलाई हत्केलामा अटाइदिएको छ। हरेक विद्यार्थी र वयस्कहरूसमेत यसैमा लुटुपुटिएका छन्। हामी उडेर चन्द्रमा छुने कुरा गर्छौं, उनीहरू चन्द्रमालाई भुइँमा झारेर छुन चाहन्छन्। सुविधा यति धेरै बढेको छ, जीवन यति सरल भइसकेको छ। अनि किन गर्ने मिहिनेत ?

त्यसकारण अब हामीले पनि सोच्नुपर्ने बेला आएको छ– अब पाठ्यपुस्तक र पाठ्यसामग्री कसरी विकास गर्ने ? शिक्षा सैद्धान्तिक मात्र हुने कि जीवनोपयोगी पनि हुने ? शिक्षण विधि कस्तो हुनुपर्ने ? हातमा मार्कर समाएर विद्यार्थीका अगाडि उभिने शिक्षकले आफूलाई समयानुकूल कसरी परिवर्तन र विकास गर्दै लैजाने ? अझै पनि सबै थोक पुरानै रहे नयाँनयाँ विद्यार्थीको पढाइप्रतिको रुचि झन् घट्दै नजाला भन्न सकिन्न।
अस्तु।
जीवनको तयारीका लागि शिक्षा

शिरीष खड्का
संस्थापक निर्देशक एवं प्रिन्सिपल
ओलम्पिया वल्र्ड स्कुल बबरमहल

श्रव्यभन्दा श्रव्य–दृश्य बढी प्रभावकारी हुने भएकाले ‘स्मार्ट क्लास’ मार्फत् डिजिटल प्रणालीमा आधारित शिक्षा दिइन्छ। जसले गर्दा एकैपटक हेर्ने, सुन्ने, पढ्ने र लेख्ने वातावरण बन्ने हुनाले सबै किसिमका बालबालिका भिजुअल लर्नर, अर्डिटोरी लर्नर, काइन्थेटिक लर्नरमा अभिव्यक्ति तथा सिर्जनात्मक क्षमताको वृद्धि हुन्छ। ‘स्मार्ट असेसमेन्ट सिस्टम’ अर्थात् रिमोट कन्ट्रोल प्रविधिको प्रयोगबाट विद्यार्थीको बुझाइको परीक्षण तुरुन्तै गर्न सकिने भएकाले उनीहरूको क्षमताअनुरूप विशेष कक्षा र रेखदेखको व्यवस्था पनि गरिन्छ। पाठ्यांशलाई नाटकीकरणका साथै व्यावहारिक जीवनमा उपयोगी बनाउन कक्षाकोठालाई नै आवश्यकताअनुसार चमेना गृहजस्ता विभिन्न स्वरूपमा परिणत गराई प्रयोगात्मक ढंगबाट शिक्षा दिइन्छ।

वर्तमान युगमा परीक्षा केन्द्रित शिक्षा मात्र नभई हामीले बाँच्नका लागि के–कस्तो परिस्थितिको सामना गर्नुपर्छ, त्यसका लागि तयारी कसरी गर्ने भन्ने कुरालाई मनन गर्दै पाठ्यक्रम निर्माण गरी पठन–पाठन गराइने भएकाले जीवनको तयारीका लागि शिक्षा (प्रिपरेसन फर लाइफ) लाई प्राथमिकतामा राखिएको छ। प्रतिष्ठित मनोवैज्ञानिक शिक्षाविद्हरूद्वारा नियमित रूपमा शिक्षक–विद्यार्थी–अभिभावकबीच शैक्षिक एवम् जीवन विकाससम्बन्धी कार्यशालाहरू आयोजना गरी बालमनोवैज्ञानिक, नैतिक मूल्यमा आधारित शिक्षा, जीवनोपयोगी सीपहरू जस्ता व्यावहारिक शिक्षामा जोड दिइन्छ। सकारात्मक सजायको प्रयोग गरी डर, त्रास र भयरहित वातावरणमा अध्यापन गराइन्छ। विश्वव्यापीकरणका सन्दर्भमा बहुउपयोगी भाषाहरूको पनि अध्यापन गराइन्छ।

विद्यालयका संस्थापक निर्देशक शिरीष खड्काले लिखित परीक्षाका साथै मौखिक परीक्षा, प्रस्तुतीकरण, स्थलगत भ्रमण, शैक्षिक भ्रमण तथा सिर्जनात्मक क्षमताको समेत मूल्यांकन गरी विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिइने गरेको बताउनुहन्छ। उहाँ भन्नुहुन्छ– कक्षा १ देखि ५ सम्मका हरेक कक्षाकोठामा दुई जना शिक्षक–शिक्षिका तथा आया दिदीको व्यवस्था गरिएको छ भने ६ देखि १० सम्मका हरेक कक्षाकोठालाई प्रयोगात्मक कक्षाका रूपमा व्यवस्थित गरिएको छ। साथै पौष्टिक एवम् सन्तुलित भोजन, अभिभावकको बढ्दो व्यस्ततालाई ध्यान दिई डे–बोडर्स कक्षा, अवस्था हेरेर घरदैलोसम्म नै सवारीसाधनको व्यवस्थालगायत बालबालिकाको सम्पूर्ण रेखदेखमा ध्यान पुर्याइन्छ।

सफलताका स्वर्णिम वर्ष

रञ्जना प्रधान, कामु प्रधानाध्यापक, नाइटिङ्गेल स्कुल कुपण्डोल ललितपुर

एउटा शिक्षण संस्थाका रूपमा मात्र नभएर आज नेपालभरिमै शिक्षा क्षेत्रको ‘ब्रान्ड’ कै रूपमा नाइटिङ्गेल स्कुल स्थापित भइसकेको कुरा सुनाउन पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौं। परिश्रम, अठोट, लगनशीलता र आत्मविश्वास बढ्दै जाँदा यहाँसम्म आइपुग्न हामी सफल भएका हौं। स्थापना कालतिरको विगतलाई नियाल्दा आँखै अगाडि आउँछन् ४०⁄५० जना विद्यार्थी तथा आधा दर्जनको हाराहारीमा शिक्षक कर्मचारी, भाडाको टहरो र घुलाम्मे चौर। अनि यससँगै देखिन्छन् उत्साहको चमक, उच्चतम लक्ष्य र दह्रो आत्मविश्वास। विसं २०४९ सालमा स्थापना भई आज २४औं वर्षको उत्तराद्र्धसम्म आइपुग्दा पूर्वप्राथमिकदेखि १०+२ तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङसम्म नाइटिङ्गेलका शाखा प्रशाखाहरू फैलिएका छन्। शिक्षामा नवीन चिन्तनका साथ ‘सिकाएर पढाउने’ तथा ‘गराएर बुझाउने’ पद्धतिमा अगाडि बढ्दै ‘लर्निङ टु नो लर्निङ टु डु, लर्निङ टु बी एन्ड लनिङ टु लिभ टुगेदर’ को सिद्धान्तप्रति कटिबद्ध रहँदै हामी अघि बढिरहेका छौं। आजसम्म आइपुग्दा हामीले २ हजार ५ सय ५० जना विद्यार्थीलाई बोर्डमा प्रथम स्थानसहित सर्वोत्कृष्ट नतिजा दिलाएर एसएलसी उत्तीर्ण गरी भविष्यका अन्य अनगिन्ती अवसर र चुनौतीलाई अँगाल्न विश्वका कुनाकुनासम्म पुर्याएका छौं। उनीहरूले विशेषज्ञ डाक्टर, इन्जिनियर, पाइलट, वकिल, म्यानेजर, सीईओ आदिका रूपमा स्वदेशी एवम् विदेशी भूमिमा सेवा प्रदान गरिरहेका छन्।
विद्यालयका कामु प्रधानाध्यापक रञ्जना प्रधानले लगनशीलता, मिहिनेत र नवीन चिन्तनको प्रतिफल स्वरूप राष्ट्रिय र क्षेत्रीय स्तरमा प्राप्त भएको सफलतासँगै पटकपटक नेपाल सरकारबाट राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट विद्यालयका रूपमा घोषित भई राष्ट्रिय ध्वज, शिल्ड तथा नगद पुरस्कारबाट विभूषित हुनुले हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीलगायत विद्यालय परिवार र शुभचिन्तकको शिर गर्वले उँचो भएको दाबी गर्नुभयो। विगत नियाल्दा ५० को दशक संघर्ष र चुनौतीको, ६० को दशक १० वर्षको लगानीको इन्द्रधनुषी सौन्दर्यको तथा ७० को दशक सम्मान, पदक र प्रतिष्ठाका वर्षहरूको साथमा अघि बढ्दै गरेको उहाँको भनाइ छ।

विद्यालय र क्याम्पस स्तरका परीक्षामा मात्र होइन, भविष्यमा जीवनका अनगिन्ती मोडमा आउने व्यावहारिक परीक्षामा समेत हाम्रा विद्यार्थी अब्बल प्रमाणित हुँदै जानेछन् भन्ने दृढ विश्वासका साथ हाम्रो नाइटिङ्गेल स्कुल ‘टिमवर्क’ मा विश्वास राखी नवीनतम प्रयोगहरू समेत गर्दै अघि बढिरहेको छ। आज स्थापनाको २४औं वर्षको उत्तराद्र्ध र २५औं वर्षको शुभारम्भको संघारमा उभिएर हेर्दा हामी उत्कृष्ट विगत रहेको देखिरहेका छौं र सर्वोत्कृष्ट भविष्यप्रति पूर्णतः आशावादी छौं।
आजका दिनसम्म अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी, शुभचिन्तक सरोकारवाला निकाय सबैको जुन उल्लेखनीय साथ, सहयोग, विश्वास र सदाशयता रह्यो त्यसका लागि हामी आभारी छौं तथा भविष्यमा पनि हाम्रा कमीकमजोरीप्रति चनाखो रही निगरानी गर्दै आलोचनात्मक समर्थन र सहयोगको अपेक्षा गर्दछौं।

 

LEAVE A REPLY