भैरहवा र चाँदनी दोधारामा सुख्खा बन्दरगाहको तयारी



नेपाल समाचारपत्र
काठमाडौं
वाणिज्यमन्त्री रोमी गौचन थकालीले भैरहवा र चाँदनी दोधारामा सुख्खा बन्दरगाह निर्माणको लागि काम अगाडि बढेको जानकारी दिनुभएको छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौचनले उक्त जानकारी दिनभएको हो।

उहाँले रसुवागढी नाकामा सुख्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरणको काम सम्पन्न भई निर्माण कार्य शुरू भएको बताउनुभयो। आफूले मन्त्रालय सम्हालेको सात महिनाको अवधिमा मन्त्रालयले गरेको कामका बारेमा जानकारी गराउने उद्धेश्यले मन्त्रीले थकालीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो। त्यसअवसरमा उहाँले मुलुकको व्यापारघाटा कम गराउन मन्त्रालय लागिपरेको दाबी गर्नुभयो छ। नेपाल–भारतबीचको द्विपक्षीय व्यापारको सञ्चालन तथा नियमन तथा सहजीकरण गर्ने मुख्य संयन्त्रको रुपमा रहेको नेपाल–भारत वाणिज्य सन्धी नवीकरण भएकोदेखि तेस्रो मुलुकबाट नेपाल आउने ब्लक कार्गो भारतको कोलकात्ता र विशाखापटनम बन्दरगाहबाट विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज ल्याउने सुविधाको लागि नेपाल र भारतबीच विद्यमान पारवहन सन्धिको प्रोटोकलमा आवश्यक संशोधन लागि लेटर अफ एक्सचेन्जको मस्यौदा तयार गरी भारतीय पक्षलाई पठाइएको मन्त्री गौचनले जानकारी दिनुभयो।
भारतको विशाखापटनम बन्दरगाहको उपयोग गरी आयात निर्यात सुचारु गर्न विशाखापटनममा नेपालको एउटा कार्यालय स्थापना गर्नका लागि गठित कार्यदलले अध्ययन प्रतिवेदन दिएकाले त्यहाँ छिट्टै कार्यालय स्थापना हुने जानकारी उहाँले गराउनुभयो। काठमाडौको चोभारमा स्थापना हुने अन्तर्राष्टियस्तरको प्रर्दशनी स्थलको निर्माण सर्भे तथा डिजाइन गर्न कार्य सम्पन्न भएको र अब छिट्टै निर्माणको काम अगाडि बढ्ने उहाँले बताउनुभयो।

त्यस्तै नेपाल र चीनबीच सम्पन्न सम्झौता अनुसार नेपाल चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको र चीनसँगको बढ्दो व्यापारलाई थप सहजीकरण गर्न चीनसँग हुने वैदेशिक ब्यापारलाई बैंकिड प्रणालीमार्फत सञ्चालनमा ल्याउन मन्त्रालयले तीव्र गतिमा काम गरिरहेको समेत जानकारी गराउनुभयो।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये अलैंची, कफी, चिया र हाते कागजको निर्यात रणनीति तयार गर्ने काम सम्पन्न भएको र यी वस्तु निर्यात गर्दा आइपर्ने चुनौतीको सामना गर्न रणनीति तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्