हतियार देखाउँदै कर्मचारी लखेटिए



धनवीर दाहाल, रुकुम
संघीय संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि देशका विभिन्न ठाउँ जस्तै रुकुम जिल्लामा पनि लफडा भएको छ। सर्वदलीय निर्णय विपरीत हाललाई प्रस्तावित भन्दै स्थानीय तह गाउँपालिका तथा नगरपालिकाको केन्द्र माथिबाटै तोकिएर आएपछि रुकुममा तनाव उत्पन्न भएको हो।

रुकुमलाई दुई भागमा विभाजन गरेर पूर्वी र पश्चिमी मात्र भनेपछि तनावमा रहेका रुकुमेलीलाई केन्द्र निर्धारणले झन् पीडा महसुस गरायो। एकआपसमा मिलेर बसेका समुदायलाई छिन्नभिन्न पारेपछि कतै खुसीयाली त कतै पीडा सृजना भयो। रुकुमका कुनैकुनै स्थानमा गाउँपालिका कार्यालय उद्घाटन गर्न गएका कर्मचारीलाई अपहरणसमेत गरियो। कर्मचारी अपहरण गरेरै भए पनि आफूले भनेकै ठाउँमा गाउँपालिका कार्यालयको उद्घाटन गरियो। जबरजस्ती गाउँपालिका कार्यालय उद्घाटनपछि गाउँमा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारी सदरमुकाम विस्थापित भएका छन्।

पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा राख्न माग गर्दै आएका रुकुमको पूर्वी तकसेराबासीहरूले त्यहाँ खटिएका कर्मचारीहरूलाई आक्रमण गर्न थालेपछि सबै गाउँपालिकाका कर्मचारी विस्थापित बनेर सदरमुकाम खलंगा पुगेका छन्। पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय स्थापना गर्नका लागि केन्द्र प्रमुख तिलक रावतसहित साविकको कोल गाविसको कार्यालयमा चैत ४ गते पुगेको टोलीलाई घरेलु हतियार र भरुवा बन्दुकसहित आएका तकसेराका स्थानीयबासीहरूले लखेटेपछि आफूहरू सदरमुकाम आएको एक कर्माचारीले बताए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा त्यहाँ पुगेका जिल्ला समन्वय समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले स्थिति सहज नभएकाले आफू पनि समयमै फिर्ता भएको बताउनुभयो।

आफूलाई २ हजारको संख्यामा आएका स्थानीयबासीहरूले कब्जामा लिई हातपात गर्दै दुई दिनसम्म नियन्त्रणमा राखेको र तकसेरामा केन्द्र नबनाउने भए जे पनि हुने भनेपछि काम गर्ने वातावरण नहँुदा सदरमुकाममा आएको पुथा उत्तरगंगा गाउँपालिका केन्द्रका निमित्त कार्यकारी अधिकृत तिलक रावतले बताउनुभयो।
गाउँबाट सबै कर्मचारीहरू जिल्ला फिर्ता भएपछि स्थानीय तहबाट हुने सबै कामहरू प्रभावित हुँदा अन्य वडाका सर्वसाधारण मर्कामा परेका छन्। ६ वटा गाविस मिलाएर बनाएको उक्त गाउँपालिकाको क्षेत्रफल ५ सय ६० दशमलव ३५ वर्ग किलोमिटर क्षेत्रफल तथा १७ हजार ९ सय ३२ जनसंख्या रहेको छ।

तकसेराअन्र्तगतका दुईवटा बडाबाहेक अन्य सबै बडाहरू कोल गाविसमै केन्द्र राख्ने कुरामा सहमत भएकाले कसैको दबाब र हिंसामा तकसेरामा केन्द्र राख्न नसकिने जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार रानाले बताउनुभयो।

तकसेराबासीले अघिल्लो महिना पनि गाउँपालिका केन्द्र चाहियो भन्दै सदरमुकाम मुसिकोटमासमेत आन्दोलन गरेका थिए। सो समयमा तकसेरामा केन्द्र बनाउन जिल्लास्थित सरोकारवाला निकायहरूले पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरी गाउँ फर्केका थिए।

प्रतिक्रिया दिनुहोस्