प्रधानमन्त्रीले समय नदिँदा लेखा छक्क



बीपी साह, काठमाडौं
गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निर्णय गरेकामा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शुक्रबार भेट्नुभयो।

उहाँहरूले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाउनुभयो। प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिनुभयो। तर वास्तविक तिथि तय गर्नुभएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो। सभापति उपाध्यायले प्रधानन्त्रीलाई उद्धृत गर्दै भन्नुभयो– ‘त्यो दिन प्रधानमन्त्रीले आउने विश्वास दिलाउनुभएको थियो र तपाईंहरूले जतिबेला बैठक बोलाउनुहुन्छ, त्यति बेला आउँछु भन्नुभएको थियो।’

तर ८ गते आउन लागेपछि सभापतिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न फोन गर्न थाल्नुभयो। स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो। सोमबारसम्म पनि प्रधानमन्त्रीको सचिवालयमा कसैले फोन उठाएन। त्यसपछि प्रधानमन्त्री निकटका एक जना कर्मचारीलाई सोमबार दिउँसो सभापति उपाध्यायले के हो तरिका भन्दै थर्काउनुभयो। फोनमा आक्रोसित बनेका सभापतिले हाम्रो बेइज्जत गर्न खोजेको भन्दै ती व्यक्तिमाथि आक्रोस पोख्नुभयो।

नेपाल समाचारपत्रसँग सभापति उपाध्यायले भन्नुभयो– ‘प्रधानमन्त्रीजी सकारात्मक भए पनि सचिवालयले दुःख दियो। मंगलबार बिहान बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्रीलाई भेटेरै पुनः आग्रह गर्छु।’ उहाँले अब चीन भ्रमणपछि मात्र बैठकमा प्रधानमन्त्री सहभागी हुन सक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको व्यस्तताको कारण अहिले समय मिल्न नसक्ने अवस्था रहेको बताउँदै भन्नुभयो– ‘तर सचिवालयले बदमासी गरेको जस्तो भयो।’

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री समितिको बैठकमा आउन तयार रहेको बताउनुभयो। उहाँले व्यस्तताका कारणले फोन नउठेको हुन सक्ने बताउनुभयो। एनसेलको कर प्रकरण विवादमा आइरहेको छ। लेखा समिति र सरकार दुवैले सोही कर छली प्रकरणमा मुछिएका उपेन्द्र महतोलाई भने उन्मुक्ति दिँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्