सडकमा उपप्रधानमन्त्री राप्रपाद्वारा देशैभर धर्ना, प्रहरी हस्तक्षेपमा नेता पनि घाइते



रामकृष्ण चापागाईं
काठमाडौं
र्टीको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने भनी निर्वाचन आयोगले गरेको निर्णय सच्चाउन माग गर्दै राप्रपाले देशभरका निर्वाचन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ।

निर्वाचन आयोग काठमाडौंमा ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीसँग भएको झडपमा राप्रपाका शीर्ष नेता पशुपति शमशेर राणालगायत दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन्। स्थानीय निर्वाचनमा हिन्दूराज्य स्थापना गर्ने एजेन्डा लिएर देशव्यापीरूपमा नेता तथा कार्यकर्ता खटाइसकेको राप्रपाको विधानबाट हिन्दूराज्य र राजसंस्था हटाउने निर्वाचन आयोगले निर्णय गरेको थियो।

निर्वाचन आयोगको निर्णयलगत्तै शनिबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालका लागि देशव्यापी दबाबमूलक कार्यक्रम सार्वजनिक गर्दै सोमबार सबै जिल्ला सदरमुकाममा जुलुससहित जिल्ला निर्वाचन कार्यालयलाई ज्ञापनपत्र बुझाउने र एकघण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने जनाएको थियो। हिन्दूराज्य र राजसंस्थाबारे राप्रपाले विधानमा उल्लेख गरेका कुरा संविधानविपरीत भएको निर्वाचन आयोगको ठहर थियो।

निर्वाचन आयोगको निर्णय सच्चाउन माग गर्दै शान्ति वाटिकामा जम्मा भएर निर्वाचन आयोगतर्फ गएका राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणालगायत नेता तथा कार्यकर्तालाई निर्वाचन आयोगको मूल गेटनजिकै प्रहरीले रोकेपछि झडपको स्थिति पैदा भएको थियो।

झडपमा प्रहरीले केही राउन्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने राप्रपा कार्यकर्ताहरूले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका थिए। झडपपछि राप्रपाका कार्यकर्ताले सडकमै बसी प्रहरीको ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए। झडपको केही समयपछि उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको टोलीले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था शब्द हटाएको सम्बन्धमा विरोध गर्दै निर्णय सच्चाउने माग गरेको ज्ञापनपत्र आयोगलाई बुझाएको थियो।

प्रहरीसँगको झडपमा वरिष्ठ नेता पशुपति शमशेर राणा, प्रवक्ता रोशन कार्की, सहमहामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, महिला संगठनकी महासचिव सरस्वती केसी, केन्द्रीय सदस्य कोमल वली तथा अन्य दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका थिए। झडपमा राप्रपा नेतृ मिना जोशीको हात भाँचिएको छ भने सावित्री थापा, ऋषिराज देवकोटा, राजाराम वर्तालालगायतका नेताहरू पनि घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्