मिस नेपालको नयाँ संस्करण आगामी नयाँ वर्ष २०७४ का जेठ १९ गते हुने भएको छ। मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरले सोमबार राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा पत्रकार सम्मेलन आयोजना गरी मिस नेपालको २२औं संस्करणको घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले विगतमा मिस वल्र्ड, मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल जस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई सहभागी गराउने उद्देश्यले आयोजना गरिँदै आएको मिस नेपालको सहभागिता यस वर्षदेखि मिस एसिया प्यासिफिक इन्टरनेसनलमा समेत थपिने खुलाए। ‘कुनै पनि नयाँ कामको शुरुआत गर्न सजिलो छैन। विगत २१ वर्षदेखि आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगितामा यस वर्षदेखि मिस एसिया प्यासिफिक इन्टरनेसनलको पनि शुरुआत गरेका छौं’ –उनले भने।
कार्यक्रममा बोल्दै मिस नेपाल २०१६ तथा मिस वल्र्डमा नेपालको तर्फबाट सहभागी अश्मी श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेर मिस वल्र्डमा भाग लिन पाउँदा निकै गर्व लागेको बताइन्। ‘विदेशमा हुने यस्ता प्रतियोगितामा भाग लिन जाँदाखेरी शुरुदेखि नै आफ्नो तयारी गर्नुपर्छ र सबैको सपोर्ट चाहिन्छु आफू’, मिस नेपाल भएपछि गोर्खाका भूकम्प प्रभावित बालबालिकाका लागि शिक्षामा सहयोगी कार्यक्रम सञ्चालन गरेको तथा आगामी वर्ष पनि यसलाई निरन्तरता दिने जानकारी गराउँदै अश्मीले भनिन्– ‘कक्षाकोठामा मात्र होइन कक्षाबाहिरका बालबालिकालाई पनि कसरी शिक्षामा पहुँच दिन सकिन्छ भनेर काम गर्ने योजना छ। आफ्नो ताज हस्तान्तरण गरे पनि म आफूले थालेको कामलाई निरन्तरता दिनेछु।’
त्यसै गरी मिस नेपाल २०१६ की फस्ट रनर्सअप तथा मिस अर्थकी सहभागी रोशनी खत्रीले आफूमा भएको प्रतिभालाई उजागर गर्नका लागि मिस नेपालमा भाग लिनुपर्ने चर्चा गरिन्। ‘मलाई नेपालको तर्फबाट मिस अर्थमा सहभागी गराउनुहुने सम्पूर्णप्रति आभारी छु –उनले भनिन्।
मिस नेपालको नयाँ संस्करणमा स्पर्धा गर्नका लागि १९ वर्षदेखि २४ वर्षसम्मको उमेर हदबन्दी तोकिएको छ भने अविवाहित हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगितामा ५ फिट ४ इन्च उचाई प्लस ट् वा सोसरहको शैक्षिक योग्यता तथा नेपाली नागरिकता वा राहदानीवाहक हुनुपर्ने तर गैरनेपालीले पनि स्पर्धा गर्नसक्ने व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ।
देशका विभिन्न शहरमा अडिसनमार्फत् प्रतिस्पर्धी छानिने प्रतियोगिताका लागि अन्तिम छनौट वैशाख दोस्रो हप्ता हुनेछ भने छानिएका २० देखि १५ जना प्रतियोगीहरुलाई काठमाडौंमा विषेशज्ञहरुबाट ६ हप्ताको विस्तृत प्रशिक्षण दिइने जनाइएको छ।