ब्रोकरलाई शाखा खोल्न तत्कालका लागि रोक



नेपाल समाचारपत्र
काठमाडौं
साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ दशमलब ८५ अंकले वृद्धि हुँदै १३८२ दशमलब१९ अंकमा पुगेको छ। यस दिन १३६ कम्पनीको ६८ करोड ७७ लाख रुपियाँको कारोबार भएको छ।

आइतबार सबै उपसूचक सकारात्मक देखिएका छन्। जसमध्ये बैंकिङ समूह १२ दशमलब अंक ९, होटल समूह ६० दशमलब शून्य ५ अंक, विकास बैंक समूह १७ दशमलब १८ अंक, जलविद्युत् समूह ५५ दशमलब ५९ अंक, फाइनान्स समूह ६ दशमलब ७६ अंक, इन्स्योरेन्स समूह ३६७ दशमलब ४९ अंक, उत्पादन समूह २ दशमलब ५६ अंक र अन्य समूह ९ दशमलब २५ अंकको वृद्धि भएका छन्। यस दिन सबैभन्दा धेरै एनसीसी बैंकको ६ करोड १२ लाख रुपियाँ बराबरको शेयर कारोबार भयो भने एनएलआइसीएलको पनि ४ करोड ३५ लाख रुपियाँको शेयर किनबेच भएको छ।

आइतबार प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने राप्ती भेरी विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। यस दिन ‘क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलब ५५ अंकले वृद्धि हुँदै ३०० दशमलब ३८ अंकमा पुगेको छ।

यसैबीच कानुनी जटिलता आएको भन्दै नेपाल धितोपत्र बोर्डले उपत्याका बाहिर शेयर ब्रोकरको शाखा विस्तार गर्ने योजनालाई तत्कालका लागि स्थगित गरेको छ। शाखा विस्तार गर्ने सम्बन्धमा कम्पनीको पुँजी कति हुने, कस्तो जनशक्ति राख्ने र भौतिक पूर्वाधारको बारेमा टुंगो लाग्न बाँकी रहेको भन्दै बोर्डले प्रक्रिया स्थगित गरेको हो। यसअघि बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्जले ४१ ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न स्वीकृति दिएको थियो। साथै बोर्डले कर्मचारी आचारसंहिता लागू गर्दै आफ्ना कर्मचारीलाई शेयर कारोबारमा प्रतिबन्ध लगाएको छ। कर्मचारीलाई साधारण शेयर आईपीओमा लगानी गर्न भने आचारसंहिताले छुट दिएको छ। शुक्रबार बसेको बोर्डको बैठकले नेपाल धितोपत्र बोर्डका कर्मचारीको आचारसंहिता, २०७३ लागू गरेको हो। बोर्डले आचारसंहिता लागू हुनुभन्दा अघि शेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ।

उता स्टान्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको एफपीओमा ३६ अर्ब ६१ करोड रुपियाँको आवेदन परेको छ। बैंकको आस्वा प्रणालीबाट मात्रै २२ अर्ब ९२ करोड रुपियाँको शेयर माग भएको छ।साधारण प्रक्रियाबाट १३ अर्ब ६८ करोड रुपियाँ बराबरको शेयर माग भएको छ।बैंकले १२९० रुपियाँमा २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्