नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन



चार दर्जन जिल्ला नगरका सभापतिसहित गोल्छा समूहद्वारा उम्मेदवारी घोषणा
यमलाल भुसाल, बुटवल

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षसहितका पदमा शेखर गोल्छाको नेतृत्वमा प्यानलसहित आइतबार बुटवलबाट उम्मेदवारी घोषणा भएको छ। चैत २८ र २९ गते हुने महासंघको ५१औं वार्षिक साधारणमा हुने निर्वाचनका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिएको हो।

त्यस्तै कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल प्रधान र महासंघको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।

उद्योग वाणिज्य संघ बुटवलको सभाहलमा घोषणा सभाको आयोजना गरी प्यानलको उम्मेदवारी घोषणामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाले संस्थागत रुपमा निजी क्षेत्रका समस्या समाधानको पहलका लागि प्यानलको उम्मेदवारी भएको बताउनुभयो। उहाँले भवानी राणा महिला अध्यक्ष भएको महासंघको पहिलो अध्यक्षको कार्यकाल सफल बनाउनका लागि प्यानलको घोषणा बुटवलवाट गरिएको समेत बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय लगानी नेपालमा भित्र्याउन र जिल्ला नगर उद्योग वाणिज्य संघलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि आफ्नो प्यानलको रहेको बताउनुभयो।

घोषणासभालाई सम्बोधन गर्दै महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताउनुभयो। उहाँले हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्सन नहुने भन्दै वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा उपयुक्त व्यक्ति भएको बताउनुभयो। उहाँले महासंघको नेतृत्वलाई खारिने मौका दिन वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संशोधन गरिएको बताउनुभयो।

अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उहाँको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको बताउनुभयो। अर्का पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले निजी क्षेत्रको अस्तित्वलाई स्थापित गराउन शेखर गोल्छाको टिम योग्य रहेको दाबी गर्नुभयो। उहाँले देशभरका साथीहरूको भावनालाई बुझेर बुटवलबाट उम्मेदवारी घोषणा गरिएको र यो टिमले देशका सबै व्यवसायीको हितमा काम गर्न सक्ने बताउनुभयो। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सबै उम्मेदवारलाई माला लगाएर सफलताको कामना गर्नुभएको थियो। वरिष्ठ उपाध्यक्ष भवानी राणालगायतले बोल्नुभएको थियो। गोल्छा प्यानललाई ६५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सहमति रहेको पनि सोही अवसरमा बताइएको थियो। करिब ४५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सभापति र पदाधिकारी घोषणासभामा उपस्थिति रहेको थियो। महासंघको देशभर एक सय पाँच शाखा रहेका छन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षता कार्यक्रम भएको कार्यक्रममा जिल्ला तथा नगरबाट उपाध्यक्षको उम्मेदवारी दिएका दिनेश श्रेष्ठले नयाँ जिम्मेवारीमा खरो रुपमा उत्रन नसकेमा पद छाड्न तयार रहेको बताउनुभयो।‘जिल्ला, वस्तुगत जेबाट आए पनि म महासंघको काममा बुद्धि र विवेकले काम गर्ने छु, उहाँले भन्नुभयो–‘जिल्लाका साथीहरू र क्षमतावान हुनुहुन्छ र यसअघि जिल्लाबाट नेतृत्वमा पुग्नेले पदाधिकारी बनेर काम गरे। एसोसिएटतर्फ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी भन्दै श्रम कानुन परित र कार्यान्वयन आफ्नो प्राथमिकतामा हुने तथा व्यावसायिक विकासमा नीतिगत व्यवस्था गर्न सरकारसँग लबिङ गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै वस्तुगतबाट उपाध्यक्षमा उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले आर्थिक समृद्धिको लागि उत्साहको साथ उम्मेदवारी दिएको बताउनुभयो भने कोषाध्यक्षका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफूले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्