पेरूमा तीन दशकयताको भीषण वर्षा र बाढीपहिरो



लिमा, (एजेन्सी)
पेरुरूमा निरन्तर परेको भारी वर्षापछि आएको बाढी र पहिरो करिब तीन दशकयताकै सबैभन्दा भयावह रहेको जनाइएको छ। राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्राकृतिक प्रकोपमा हालसम्म ज्यान गुमाउनेको संख्या कम्तीमा ७२ पुगेको सरकारी तथ्यांकमा जनाइएको छ।

शनिबार पेरूका प्रधानमन्त्री फेर्नान्डो जभालाले यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ७२ पुगेको पुष्टि गरेका छन्। भीषण वर्षापछि परिवर्तन भएको यहाँको मौसमलाई हाल ‘कोस्टल निनो नाम दिइएको छ। समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ।
बाढीमा परेर झन्डै ७२ जना व्यक्तिको मृत्यु र अज्ञात संख्यामा नागरिक घरबारविहीन भएका अधिकारीले जानकारी दिएका छन्। सरकारले देशका १३ क्षेत्रका ८ सयभन्दा बढी नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सन् १९९८ मा पनि पेरूमा यस अवधिका आएको भीषण वर्षालगायतको बाढीपहिरोमा परी ३ सय ७४ व्यक्तिको मृत्यु भएको थियो। यस प्रकोपको कारण धेरै क्षति भएको यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जिन्सकिले बताएका छन्।

बाढीपहिरोका कारण झन्डै १५ देखि ६० करोड अमेरिकी डलर बराबरको सम्पत्ति क्षति भएको सरकारले अनुमान गरेको छ। लिमामा २० मार्चसम्मका लागि विद्यालयहरू बन्द गरिएको छ। यस प्रकृतिक प्रकोपको अवस्थामा पेरूलाई सहयोगको गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिले प्रस्ताव राखेका छन्।

प्रतिक्रिया दिनुहोस्