मदिरा बिक्रीवितरणमा कडाइ



विमल विष्ट, डोटी
डोटीमा प्रहरीले मदिरा बिक्रीवितरणमा थप कडाइ गर्ने भएको छ। आगामी वैशाक ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय डोटीले निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री–वितरणको काममा पनि पूर्ण बन्देज लगाउने भएको छ।

यहाँका ग्रामीण क्षेत्रमा बिक्रीवितरण हुने मदिरालाई विगतदेखि बन्देज गर्दै आएको डोटी प्रहरीले निर्वाचनको समयमा अझ बढी कडाइ गर्ने रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिल्लीराज विष्टले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘हामीले अवैध मदिरा त पूर्ण रूपमा पहिले नै बन्देज गरिसकेका छौं, तर इजाजतपत्र पाएका मदिरा बिक्री गर्नेहरूलाई पनि उहाँहरूको इजाजतमा बिक्री गर्ने नियमभन्दा अघिपछि बिक्रीवितरण नगर्न आग्रह गरिसकेका छौं।

नियमविपरीत मदिरा बिक्रीवितरण गर्नेहरूलाई पनि कानुनी दायरामा ल्याउने उद्देश्यले डोटीमा प्रहरीले नयाँ रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लामा बिक्रीवितरण हुने मदिरालाई बन्देज गर्नका लागि प्रहरीले आफ्नो छुट्टै स्पेसल टोली बनाई परिचालन गरिएको बताइएको छ।

प्रहरीले यहाँका ग्रामीण क्षेत्रमा बिक्री हुने अवैध मदिराहरूमा बन्देज गरेपछि गाउँमा हुने झैंझगडामा पनि कमी आएको जोरायलका स्थानीय नरबहादुर महराले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पहिला जाँड खाएर दिनका दिन गाउँमा झगडा हुन्थ्यो, जाँड बेच्ने र खानेलाई प्रहरीले कारबाही गर्न शुरू गरेपछि अहिले गाउँमा शान्ति छ। प्रहरीले मदिरा सेवन गरी होहल्ला गर्ने झैंझगडा गर्नेलाई कारबाही गरी लाखौं रकम असुल गरी सकेको बताइएको छ।

त्यस्तै प्रहरीले डोटीमा अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका हातहतियारलाई स्थानीय तहको निर्वाचनको अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धितसँग आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनका समयमा सुरक्षाकर्मीले कानुनबमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै पनि व्यक्तिलाई कुनै विस्फोटक, रासायनिक, विषालु पदार्थ वा लाठी, भाला, खुकरी, बन्दुक, पेस्तोल जस्ता हातहतियार लिएर हिँड्न, प्रदर्शन र प्रयोग गर्न⁄गराउन निषेध गरिएको प्रहरी प्रमुख एसपी विष्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्