६ सय ९ विद्यार्थी अनुपस्थित



नेपाल समाचापत्र
राजविराज
एसईईको तेस्रो दिन आइतबार भएको गणित विषयको परीक्षामा सप्तरीका ६ सय ९ जना विद्यार्थी अनुपस्थित भएका छन्।

जिल्ला शिक्षा कार्यालय सप्तरीका अनुसार नियमिततर्फ छात्र १ सय ५५ र छात्रा १ सय ७९ गरी जम्मा ३ सय ३४, एक्जाम्टेडतर्फ छात्र ४५ र छात्रा ३८ गरी जम्मा ८३ र ग्रेड वृद्धितर्फ छात्र ९५ र छात्रा ९७ गरी जम्मा १ सय ९२ जना विद्यार्थी अनुपस्थित भएका हुन्। सप्तरीमा रेगुलरतर्फ ८ हजार ६ सय ३९, एक्जाम्टेडतर्फ ३ सय ३४ र गे्रड वृद्धितर्फ २ हजार ७ सय ८४ गरी कुल १२ हजार ८ सय ९२ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन्।

आइतबारको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै वनरझुल्ला परीक्षा केन्द्रका कार्यालय सहयोगी रमेश यादवलाई कारबाही गरिएको छ। परीक्षामा चिट चोर्न सहयोग गरेको पाइएपछि उनलाई निस्कासन गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए।

यसअघि बिहीबार परीक्षालाई अमर्यादित बनाएको पाइएपछि दौलतपुर परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष उपेन्द्रप्रसाद चौधरी तथा निरीक्षकहरू कशेश्वर यादव र कृष्णदेव चौधरीलाई कारबाही गरिएको थियो। यसै गरी सोही दिन पथ्थरगढाबाट निरीक्षक गोपालप्रसाद मण्डल तथा भगवतपुर परीक्षा केन्द्रबाट निरीक्षक भोला यादव कारबाहीमा परेका थिए।

परीक्षा समन्वय समितिका संयोजक तथा सप्तरीका सीडीओ कृष्णबहादुर कटुवालले परीक्षा मर्यादापूर्वक सम्पन्न भइरहेको बताउँदै अमर्यादित बनाउने र सहयोग गर्ने सबैलाई कारबाही गर्ने बताए। विभिन्न टोलीसहित आफैं परीक्षा अनुगमनमा खटेका कटुवालले परीक्षाको मर्यादाविपरीत कार्य गर्ने कसैले पनि उन्मुक्ति नपाउने ठोकुवा पनि गरे।

सीडीओ कटुवालसहित जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे, एलडीओ सुदेवकुमार पोखरेल, सप्तरी प्रहरी प्रमुख एसपी अनुराग द्विवेदी, सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय राजविराजमा एसपी रामाधार यादव, नेपाली सेनाको कृष्ण दल गणका गणपति डम्बरबहादुर बोहोरालगायतको टोली परीक्षा अनुगमनमा खटिएको छ।

कुल १२ हजार ८ सय ९२ परीक्षार्थी सहभागी भइरहेको यस वर्षको एसईई परीक्षाका लागि ४१ वटा परीक्षा केन्द्र कायम गरिएको छ भने त्यति नै संख्यामा केन्द्राध्यक्ष तोकिएको छ। यस्तै सहायक केन्द्राध्यक्ष ६३, निरीक्षक ५ सय ३४, सहयोगी कर्मचारी २ सय ७८ र ६ सय १५ सुरक्षाकर्मीसहित १ हजार ५ सय ३१ जनशक्ति परिचालन भइरहेको जिशिअ पाण्डेको भनाइ छ

प्रतिक्रिया दिनुहोस्