हिन्दु राष्ट्र माग्दै राप्रपाद्वारा संशोधन प्रस्ताव दर्ता



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले संविधान संशोधन दोस्रो विधेयक अगाडि बढाएको छ। विधेयकमाथि राजनीतिक सहमति जुट्न सकेको छैन। दोस्रो संशोधनलाई अगाडि बढाउन राप्रपालाई सरकारमा सहभागी गराइएको छ।

तर, राप्रपाले दोस्रो संशोधनलाई अगाडि बढाउनुभन्दा पहिले स्वयम्ले अर्को संशोधन दर्ता गराएको छ। राप्रपाले माग गर्दै आएको हिन्दु धर्मको मागलाई संशोधनमा राखिएको छ। आइतबार उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराइएको हो।

स्रोतका अनुसार संविधानको दोस्रो संशोधन अगाडि बढाइएको खण्डमा राप्रपाले माग गरेको संशोधन पनि अगाडि बढाउनुपर्ने अडान राप्रपा अध्यक्ष कमल थापाले राख्नुभएको छ। उहाँले सत्तारूढ दलका नेताहरूसँग पनि यस विषयमा कुरा गरेको बताइएको छ। हिन्दु धर्मका विषयमा संविधान संशोधन गरे मात्र दोस्रो संशोधनमा सहयोग गर्ने थापाले अडान राख्दै आउनुभएको छ।

संसद् सचिवालयका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार आइतबार राप्रपाले दर्ता गराएको संशोधन विधयेकमा संविधानको धारा ४ को उपधारा १ मा संशोधन ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र भन्ने वाक्यांश राख्ने भनिएको छ। यो संशोधन विधेयक सभामुखले स्वीकृत गरेपछि संसदीय प्रक्रियामा जाने छ। सरकारले दर्ता गराएको संविधानको दोस्रो संशोधन अड्किएको अवस्थामा गैरसरकारी विधयेकका रूपमा राप्रपाले दर्ता गराएको विधेयक अगाडि बढ्ने सम्भावना कम रहेको छ। यता राप्रपाले दर्ता गराएको विधेयक अगाडि नबढेसम्म दोस्रो संशोधन अगाडि बढ्न दिने मुडमा छैन।

प्रतिक्रिया दिनुहोस्