प्रधानमन्त्री बिहीबार चीन जाँदै राजकीय सम्मान नदिइने



टीका बन्धन, काठमाडौं
यही बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारीमा जुट्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड लाई चीनले राजकीय सम्मानका रूपमा स्वागत नगर्ने भएको छ।

भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको हो। बोआओ फोरममा अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई शनिबार औपचारिक निम्तो पठाउँदै चीनले भ्रमणको प्रकृतिबारे प्रस्ट्याएको हो। नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार बिहान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर भ्रमणको औपचारिक निम्तो र कार्यतालिका हस्तान्तरण गर्नुभएको थियो।
प्रधानमन्त्रीको भ्रमणलाई राजकीय रूपमा तयारी गर्न नेपालले ठूलो प्रयत्न गरे पनि चिनियाँ पक्षले उच्चस्तरीय भ्रमणको तयारी गर्न समय पर्याप्त नभएको जवाफ पठाएको परराष्ट्र मन्त्रालयको उच्चस्रोतले जनाएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरूले गत साता प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको अनौपचारिक निम्तो दिएलगत्तै सरकार प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुटिरहेको छ। यही चैत १० देखि १३ गते सम्म (मार्च २३ देखि २६ तारिखसम्म) चीनको हेनान प्रान्तमा आयोजना हुने बोआओ फोरममा अतिथिका रूपमा सहभागी हुन चीनले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको हो।

अहिलेसम्मको तयारीअनुसार उहाँ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार चीन प्रस्थान गर्दै हुनुहुन्छ। शनिबार बोआओ फोरमलाई सम्बोधन गर्ने उहाँले आगामी आइतबार चिनियाँ राष्ट्रपति सी जिङ पिङसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ। भ्रमणका क्रममा नेपालले महत्त्वपूर्ण सम्झौता गर्ने गृहकार्य गरे पनि त्यस्तो सम्भावना न्यून रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। राष्ट्रपति सीसँग भेटवार्ता हुने निश्चित भएपछि मात्र प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि तयार रहनुभएको बताइएको छ।

अहिलेको भ्रमणका बेला चीनले अघि सारेको ‘वान वेल्ट वान रोड (ओबीओआर), द्विपक्षीय व्यापार र पारवहनको कार्यान्वयन, रेल मार्ग, अन्तरदेशीय विद्युतीय प्रसारण लाइन विस्तारलगायतका बारेमा सम्झौता गर्न नेपालले तयारी गरेको बताइएको छ।

तर ओबीओआरलाई टुंगो लगाउन ३ महिनाअघि चीनले नेपाललाई पठाएको ड्राफ्टलाई केही परिमार्जनसहित नेपालले चीनलाई जवाफ पठाए पनि चीनबाट स्पष्ट जवाफ नआएकाले अन्योल रहेको परराष्ट्रका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई बताए।

‘अहिले प्रधानमन्त्रीको भ्रमणका बेला नेपालले पठाएको परिमार्जित ड्राफ्ट लिएर नेपाली टोली चीन जाँदै छ, ती अधिकारीले भने– ‘त्यो ड्राफ्टबारे चिनियाँ पक्षबाट अहिलेसम्म स्पष्ट प्रतिक्रिया नआएकाले दुवै पक्षबाट हस्ताक्षर हुने सम्भावना न्यून छ।

यसै गरी द्विपक्षीय व्यापार, पारवहन, रेल मार्ग, अन्तरदेशीय विद्युतीय प्रसारण लाइन विस्तारलगायतका बारेमा सम्झौता गर्न नेपालले तयारी गरे पनि प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री ली खस्याङबीच अहिलेको भ्रमणका क्रममा भेटवार्ता नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्