धमाधम निर्वाचन केन्द्रीत कार्यक्रम गर्दै गोरखाका दल



सन्तोष अधिकारी,गोरखा

स्थानीय निकायको निर्वाचन नजिकिए सँगै जिल्लामा क्रियाशिल राजनितीक संगठनहरुले गाउँ केन्द्रित कार्यक्रम सुरु गरेका छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार प्रत्येक नगरपालिकामा १ जना प्रमुख र १ जना उपप्रमुख हुनेछन् भने गाउँपालिकामा १ जना अध्यक्ष र १ जना उपाध्यक्ष रहनेछन् । गोरखा जिल्लामा ११ वटा इकाइ छन् जसमा ११ अध्यक्ष र ११ जना उपाध्यक्ष र उपप्रमुख प्रतिनिधी चुनिने छन् ।

यस्तै प्रत्येक वडामा १ जना अध्यक्ष निर्वाचित हुनेछन् भने दलितमहिला सहित २ जना महिला सदस्य निर्वाचित हुनेछन् । यस्तै अन्य २ जना खुल्ला सदस्य निर्वाचित हुनेछन् । यसर्थ प्रत्येक वडामा ५ जना निर्वाचित हुनेछन् । निर्वाचन ऐन अनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको कुनै पनि वडाको मतदाता अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख हुन पाउने छन् ।

तर, वडा अध्यक्ष र सदस्य हुनका लागि सम्बन्धीत वडाकै मतदाता हुनुपर्नेछ । केन्द्रीय निर्वाचनमा भने देशभरको कुनैपनि स्थानको मतदाता देशभरीको कुनै पनि क्षेत्रको उम्मेदवार बन्न पाउने प्रावधान छ । त्यस्तै स्थानीय तहमा सम्बन्धित गाउँपालिका र नगरपालिका वा वडाका मतदाता मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था ऐनले गरेको छ । स्थानीय तह निर्वाचन ऐन अनुसार जिल्ला समन्वय समितिको लागि भने सम्बन्धित जिल्ला सभाका सदस्यले सम्बन्धित जिल्ला भित्रका गाउँ सभा वा नगर सभाका सदस्यहरू मध्येबाट एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन् ।

देशकै ठुलो पार्टी नेपाली कांग्रेसले जिल्लामा अहिले भएको नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिका केन्द्रित कार्यक्रमलाई तिब्रता दिएको छ । एमालेले पनि जिल्लाको विभिन्न गाउँपालिकामा कार्यक्रम तालीका बनाउँदै कार्यक्रमलाई तिब्रता दिएको छ ।

माओवादी केन्द्रले त जिल्लाको ११ वटा इकाइ मध्ये सिरान्चोक गाउँपालिकाको हर्मिमा बाहेक अन्य सबै वडा तथा गाउँपालिकामा आफ्नो नयाँ संगठन बनाइसकेको जिल्ला अध्यक्ष दलेखबहादुर थापाले बताए । नेपाली कांग्रेसका सचिब नन्दप्रसाद न्यौपानेका अनुसार अहिले कांग्रेसले जनताको जनजिविका सँग कसरी जोड्ने, तल्लो तहमा अधिकार कार्यान्वयनमा ल्याउन के गर्ने , तत्कालै गर्न सकिने योजनाको सम्भाब्यता केके छन् भन्नेबारे पनि अध्ययन गरिरहेको छ ।

शान्तिपूर्ण तरिकाले निर्वाचन होस भन्ने हिसाबले पनि निर्वाचन केन्द्रीत काम गरिरहेको कांग्रेसले जनाएको छ । त्यस्तै कांग्रेसले सबै गाउँपालिकाहरुमा आफ्नो संगठन विस्तार गरिरहेको छ । विभिन्न वडामा संगठन बनाएर गाउँपालिकाको अध्यक्षको उमेद्वार बनाउने भन्ने टुंगो लगाउने नितीमा कांग्रेस रहेको सचिब न्यौपानेले बताए ।

उता एमालेले पनि जिल्लाको सबै स्थानीय निकायहरुमा आफ्नो संगठन निर्माण र निर्वाचिन केन्द्रीत कार्यक्रमहरु गरिरहेको बताएको छ । एमालेले जिल्लाको दुई नगरपालिका र ९ वटा गाउँपालिका केन्द्रीत कार्यक्रमलाई पार्टीका नेताहरुलाई जिम्मा लगाउँदै तयारी गरिरहेको एमालेका जिल्ला उपाध्यक्ष यादब बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्