१८ वटा मोटरसाइकल बेपत्ता



हेटौंडा,(नेस)
हेटौंडा नगर क्षेत्रमा मोटरसाइकल चोरिने क्रम बढेको छ । चालु आर्थिक वर्षको ८ महिना अवधिमा १८ वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हराएकामध्ये ५० प्रतिशत भन्दा बढी पल्सर मोटरसाइकल छन् । चोरहरुको रोजाइमा पुराना भन्दा नयाँ मोटरसाइकल पर्ने गरेका छन् । चोरी भएका मोटरसाइकलहरु सीमावर्ती क्षेत्रमा पुग्ने गरेको बताइन्छ ।

मोटरसाइकल चोरी हुने क्रम बढेपछि बीमा कम्पनीहरु पनि प्रभावित छन् । बीमा नियमअनुसार खरिद गरेको ६ महिनाभित्रको मोटरसाइकल चोरी भएमा बीमा कम्पनीले शत्प्रतिशत र एक वर्षभित्रको चोरी भएमा ९० प्रतिशत रकम सम्बन्धित मोटरसाइकल धनीलाई दिनुपर्ने प्रावधान छ । चोरहरुले बढीजसो एक वर्षभित्र खरिद गरेका पल्सर मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ ।

चोरी भएका मोटरसाइकल यहाँ पनि खरिदबिक्री हुने गरेको प्रहरीको आशंका छ । ग्यारेजमा पुर्याइएका चोरीका मोटरसाइकलको पाटपुर्जा खोलेर बिक्री हुँदै आएको छ । केही घरमा मोटरसाइकल मिस्त्रीले चोरीको मोटरसाइकलका पार्ट्स खोलेर ग्यारेजका माध्यमबाट नेपालका विभिन्न स्थानका पसलमा पुर्याउने गरेका छन् । चोरीका मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी नक्कली कागजातका आधारमा प्रहरीको पहुँच भन्दा बाहिर ग्रामीण क्षेत्र तथा राजमार्गमा चल्ने गरेका छन् ।

हराएका मोटरसाइकलमध्ये निकै कम संख्यामा मात्र फेला पर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँबाट हराएका मोटरसाइकल बारा, रौटहट र चितवनमा लगिएको आशंकामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुराकीको सहयोगमा अप्ररेसन गर्दा पनि नभेटिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरीका घटना सबभन्दा धेरै मंसिरमा ७ वटा छन् । चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरे पनि नम्बर र संरचना फेरिदिँदा कस्को हो भन्ने पहिचान हुन सक्दैनन् । भेटिएका मोटरसाइकल प्रहरी कार्यालयमा थन्किएको छ ।
हराएका अधिकांश मोटरसाइकल जिल्लाबाहिर र ग्रामीण क्षेत्रमा लैजाने हुनाले  हेटौंडा तथा सीमा क्षेत्रमा सीसी क्यामराले काम नगरेका कारण अप्ठ्यारो परेको प्रहरीले बताएको छ । हेटौंडालाई चोरी, डँकैती र अपराधमुक्त राख्ने उद्देश्यसहित बजार क्षेत्रमा जडित अधिकांश सीसी क्यामरा बिग्रिएपछि क्यामेरा जडानमा मुख्य भूमिका निर्वाह गरी हालसम्म करिब २० लाख रुपियाँ खर्च गरिसकेको मकवानपुर उद्योग वाणिज्य संघ तनावमा छ ।
संघको संरक्षणमा हेटौंडा बजारको विभिन्न क्षेत्रमा ३८ थान सीसी क्यामरा जडान भएका थिए । गत वर्ष वैशाख १२ को भुकम्प र विभिन्न समयका चट्याङका कारण सीसी क्यामेरा बिग्रिएका छन् । जसका कारण बजार क्षेत्रको सुरक्षामा चुनौती यथावत् छ । संघले करिब चारलाख ५० हजार रुपियाँ खर्चेर क्यामराहरु मर्मत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्