डोटीमा निर्णय पक्रियामा महिला सहभागिता बढ्दै



विमल विष्ट,डोटी  ।

पछिल्लो समय डोटीमा स्थानीय तहमा हुने हरेक विकास निर्माणका काम तथा समूहका छलफलमा महिला सहभागिता बढ्दै गएको छ । विकास निर्माणका लागि गरिने योजना तर्जुमादेखि निर्णायक प्रक्रियामा समेत महिला सहभागिता बढ्न थालेको स्थानिय तुलसी शाहीले बताउनु भयो ।

उहाँका अनुसार सरकारले गरेको ३३ प्रतिशत आरक्षणको व्यवस्थासँगै हरेक निकायमा महिला सहभागिता बढ्दै गएको हो । उहाँले भन्नु भयो ‘यहाँका महिलाहरु विकास निर्माण लगायतका कामको खबरदारीमा सरिक हुन थालेका छन्,यसलाई सन्तोष जनक रुपमा लिन सकिन्छ ।’

धेरै कर गरेर कार्यक्रममा उपस्थित गराउनुपर्ने यस क्षेत्रका महिला अहिले भने भूमिकासहित विभिन्न कार्यक्रममा उपस्थित हुन थालेको जोरायल गाउपालिका ५ की सचेतना आमा समुहकी अध्यक्ष दुर्गादेबी विष्टले बताउनु भयो । उहाँका अनुसार बिगतमा चुलोचौकोमा मात्र सीमित हुने महिला पछिल्लो समय समाजमा हुने हरेक क्षेत्रमा सहभागी हुन थालेका छन् ।

जिल्लामा हुने कुनै सभा, समारोहमा महिला सहभागिता शुन्य जस्तै हुने डोटीमा अहिले हरेकक्षेत्रमा महिला सहभागिता बढ्दै गएको पाईएको छ । जिल्लामा पछिल्लो समय महिला द्धारा खोलिएका वित्तिय समूह, आमा समूह र बाल क्लबले विकास निर्माण लगायत सार्वजनिक महत्वका विषयमा चासो राख्दै गएका छन् ।

यस्ता समूह तथा क्लबले पनि महिला सहभागिता बढाउनमा भूमिका खेलेको स्थानियबासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्