भारतीय तरकारीको आयात घट्यो



हेमन्त जोशी, काठमाडौं

पुस र माघ महिनाको तुलनामा फागुनमा भारतबाट तरकारी र फलफूल कम मात्रामा आयात भएको छ। देशको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजारका रूपमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अघिल्लो दुई महिनाको तुलनामा फागुनमा २० प्रतिशत कम आयात भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार समितिले दैनिक २ करोड रुपियाँ बराबरको व्यापार गर्छ। कालिमाटी बजारबाट हुने उक्त व्यापारको ४५ प्रतिशत भारतबाट आयातित वस्तु रहेको छ। आन्तरिक उत्पादनमा वृद्धि भएको र भारतबाट पनि प्रशस्त मात्रामा तरकारी तथा फलफूल आयात भएको कारण पुस र माघ महिना थोक तथा खुद्रा मुल्य पनि घटेको बिक्री शाखा प्रमुख रमेश डंगोलले बताउनुभयो। ११ महिनाको अवधिमा १० करोड १९ लाख १३ हजार किलोग्राम तरकारी तथा फलफूल आयात भएको हो।

समितिको तथ्यांकअनुसार फागुन महिनामा कुल ९४ लाख २७ हजार किलोग्राम तरकारी तथा फलफूल भित्रिएको छ। जसअन्तर्गत ८६ लाख ४१ हजार ५ सय ८० किलोग्राम तरकारी र ७ लाख ८५ हजार ४ सय २० किलोग्राम फलफूल आयात रहेको छ। १ लाख ७४ हजार १ सय किलोग्राम स्याउ, १० लाख ९८ हजार २ सय किलोग्राम केरा, ९५ हजार १ सय ३० किलोग्राम अनार, ७ लाख ७८ हजार ६ सय किलोग्राम आँप, २ लाख ९० हजार किलोग्राम सुन्तला, १९ लाख १५ हजार किलोग्राम तरबुजा, ४ लाख २० हजार ७ सय किलोग्राम मेवा, १ लाख ३६ हजार किलोग्राम कटहर आयात भएको छ।

केन्द्रीय तथ्यांक विभाग तथा कृषि विकास मन्त्रालयका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७ दशमलब ४ प्रतिशतमा तरकारी खेती गरिन्छ। जसले कुल ग्राह्र्रस्थ उत्पादनमा करिब ९ प्रतिशत प्रतिनिधित्व गर्छ। गत पुसदेखि यता तरकारी तथा फलफूलको मुल्य समग्रमा ४० प्रतिशतसम्म घटेको छ। उत्पादकत्वमा वृद्धि, मागअनुसार सहज आपूर्ति तथा भारतबाट समेत आयात हुँदा तरकारी तथा फलफूलको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्र पौडेलले बताउनुभयो। पुस, माघ र फागुन महिनामा दैनिक ८ सय मेट्रिक टन तरकारी भित्रिने गरेको समितिले बताएको छ। त्योभन्दा पहिले ६ सय मेट्रिक टन मात्रै तरकारी आयात हुने गरेको थियो। कार्यकारी निर्देशक पौडेलले नेपालमै उत्पादन भएका ६५ प्रतिशत तरकारी आपूर्ति भईरहेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नेपालको दीर्घकालीन कृषि योजनामा ६७ प्रतिशत तरकारी आन्तरिक उत्पादनमार्फत परिपूर्ति गर्ने भनिए पनि केही वर्ष अघिसम्म ८० प्रतिशत तरकारी भारतीय बजारबाट आउने गरेकोमा अहिले नेपालमै उत्पादन भएका तरकारीको हिस्सा ६५ प्रतिशत पुगेको समितिको प्रगति विवरणमा उल्लेख गरिएको छ। समितिले हाल कालीमाटी बजारबाट मात्रै दैनिक साढे २ करोडको तरकारी, फलफूल कारोबार हुने गरेको पनि जनाएको छ। दैनिक ७ सय टन तरकारी तथा फलफूल आउने गरको र त्यसमा तरकारीको हिस्सा ८६ प्रतिशत रहेको जानकारी दिइएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशको वार्षिक तरकारी उपभोग १ सय ५ किलो छ।

प्रतिक्रिया दिनुहोस्