३ करोडमा शुद्ध खानेपानी



लमजुङ, (नेस)
लमजुङमा शुद्ध खानेपानीको शुद्धीकरणका लागि एक प्लान्ट निर्माण कार्य पूरा भएको छ। सुन्दरबजार नगरपालिकाको भोटेओडार क्षेत्रका तीन वडाका बासिन्दालाई शुद्ध पिउने पानी वितरण गर्नका लागि सो प्लान्टको निर्माण गरिएको हो।

भोटेओडारको कृष्ण बगैंचामा भोटेओडार–तार्दीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा सो शुद्धीकरण प्लानको निर्माण कार्य गरिएको हो। उक्त प्लान्ट निर्माण गर्नका लागि नेपाल सरकारको २ करोड ९१ लाख ७४ हजार ८ सय र स्थानीय उपभोक्ताबाट २० प्रतिशत अर्थात् ६० लाख रुपियाँ खर्च जुटाइएको भोटेओडार–तार्दीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर अधिकारीले बताए। उनका अनुसार सोही रकमभित्रबाट ३२ लाख रुपियाँ खर्च गरी तीन कोठाको उपभोक्ता समितिको कार्यालय भवनसमेत निर्माण गरिएको छ। त्यसका लागि २० प्रतिशतभन्दा केही बढी रकम सहयोग गरिएको अध्यक्ष अधिकारीले बताए।

उपभोक्ता समितिका नाउँमा कृष्ण बगैंचामा रहेको ३ रोपनी ४ आना जग्गामा ८ आनामा कार्यालय भवन निर्माण र परिसरका लागि खर्चिएको र बाँकी जग्गामा शुद्धीकरण प्लान निर्माण गरिएको अधिकारीले जानकारी दिए। सो प्लान्टअन्तर्गत सुन्दरबजार नगरपालिका–२ को कुँवर गाउँ, कृष्ण बगैंचा क्षेत्र, वडा नं ३ को भोटेओडार गाउँ र वडा नं ४ को सिउडीबार, घुमाउने र फूलाबारी क्षेत्रमा सेवा सञ्चालन गरिरहेको र भोलिका दिनमा सेवा विस्तार गर्दा पनि तिनै क्षेत्रमा नयाँ बन्ने घरहरूलाई धारा दिने योजना रहेको अधिकारीले बताए।

०६६ सालमा गठन भएको उक्त उपभोक्ता समितिको संस्थापक अध्यक्षसमेत पछिल्ला दुई कार्यकाल पूरा गर्न लाग्नुभएका अधिकारीले आव २०७०⁄७१ को अवधिमा २ सय उपभोक्ता रहेको सो आयोजनाले हालका दिनमा ४ सय ४१ घरपरिवारलाई चाबीसै घण्टा शुद्ध खानेपानीको सेवा उपलब्ध गराई आएको जानकारी दिनुभयो।

उक्त प्लान्ट पराजुली कन्ट्रक्सन प्रालि भोर्टेटार लमजुङद्वारा निर्माण गरिएको हो। सम्झौताअनुसार यही चैत महिनाभित्र यो निर्माण कार्य सक्ने सर्तका साथ निर्माण कार्य थालिएको थियो। सयममै काम सम्पन्न गर्न सकेकोमा खुसी लागेको उक्त निर्माण कम्पनीका प्रोपाइटर सतिस पराजुलीले बताउनुभयो। उक्त प्लान्टका लागि उपयोग गरिएको पानी रागिनास नगरपालिका–१३ मा बग्ने चारवटा खोल्सा जामुने खोला, ठूली खोला, लाम्पाटे खोला र कोइराले खोलाबाट करिब साढे ५ किमि दूरीदेखि ल्याउने काम गरिएको खानेपानी सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर कमल अर्यालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्