देश विखण्डनमा कांग्रेसको मेहनतः ओली



सुर्खेत, (नेस)
नेकपा एमाले प्रदेश नं. ६ को आयोजनामा वृहत जनसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रदेश नं. ६ का १० ओटै जिल्लाबाट हजारौंको संख्यामा आएका कार्यकर्ताहरुले खचाखच भएको खुल्ला मञ्चबाटै एमाले नेताहरुले प्रदेश लडेर बनाएको भन्दै यो प्रदेशको समुन्नति पनि एमालेले मात्रै गर्नसक्ने र त्यसको स्पष्ट खाका एमालेले बनाइसकेको उद्घोष गरे । भैरहवापछिको बृहत सभाको रूपमा लिदैं एमाले नेताहरुले उपस्थित जनताहरुलाई समुन्नत नेपाल बनाउन चाहनेहरुको उल्लासमय सहभागिताका रूपमा अथ्र्याउँदै यो सभालाई चुनावी सभाको रूपमा लगे ।

एमाले नेता तथा पोलिटब्युरो सदस्य यामलाल कंडेलले सञ्चालन गरेको उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. ६ को समृद्विको आधार नामक प्रारम्भिक घोषणापत्रसमेत सार्वजनिक गरेका छन्। उक्त घोषणापत्रमा एमालेले समृद्व प्रदेश बनाउने योजनाहरुको विस्तृत विवरण समेटेको छ। उक्त घोषणापत्र एमाले प्रदेश कमिटिले बनाएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनता नदेख्ने दाबी गरेका छन्। उनले सभालाई सम्बोधन गर्दै करोडौं नेपाली जनताले चाहेको जस्तो उसले कहिल्यै काम नगर्ने बरु चारजना मधेसी दलका जमिनदारका नेताहरुका मात्रै कुरा सुनेर देशलाई विखण्डन गर्न अहोरात्र मेहनत गरिरहेको बताए। नेता ओलीले पटक–पटक बहुमत ल्याए पनि कांग्रेसले आमजनताका पक्षमा कुनै काम नगरेको भन्दै कांग्रेसीलाई जनताको पक्षमा काम गर्न फुर्सद नभएको बताए । उनले भने– ‘कांग्रेस जनताको पक्षमा हुने काम कहिल्यै गर्दैन ऊ त केही विदेशी शक्तिहरुको भरिया बनेर देश र जनतामाथि रजाइँ गर्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्