जागरण अभियान भन्दै गाउँ पसे दल



विनोदसिंह विष्ट, बैतडी
२०७४ वैशाख ३१ मा सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै बैतडीको स्थानीयबासी उत्साहित भएका छन्। दुई दशकपछि हुन लागेको स्थानीय निकायको चुनावको मिति घोषणासँगै सर्वसाधारणमा उत्साह आएको हो। झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयबासी खुसी भएको श्रीकोटका स्थानीय बासिन्दा हेमराज गिरीले बताउनुभयो।

नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रूपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन्। तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न समेत बैतडेली जनताको चाहना छ। चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ। उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन्। लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै स्थानीय खुसी भएको पाटनका कपिल केसीले बताउनुभयो।

गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो। स्थानीय निर्वाचनले जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा जनताको प्रतिनिधि पुग्ने भन्दै बैतडीका सर्वसाधारणले खुसी व्यक्त गरेका छन्। जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा अस्थिरता बढेको स्मरण गर्दै तोकिएको समयमा निर्वाचन भए सहज हुने सर्वसाधारणको चाहना छ। चुनावबाट जनताले चुनेका प्रतिनिधि स्थानीय निकायमा पुगेमा विकास निर्माणका कार्यले गति लिने स्थानीयको धारणा छ।

मतदानको मिति घोषणा भएकोमा खुसी लागेको भटना–१ का हिमालय बोहराले बताउनुभयो। गाउँगाउँमा सम्भावित उम्मेदवारको चर्चासँगै राजनीतिक सक्रियता बढेको उहाँको भनाइ छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलभित्र उम्मेदवार छनोटको विषयमा चर्चा शुरू भएको छ। भेटघाट, भेला, प्रशिक्षण, संगठन विस्तारको कामले गाउँमा नेता पुग्न थालेपछि चहलपहल बढेको हो।

मधेस केन्द्रित दलको असन्तुष्टि र पुनर्संरचनाको सवालले निर्वाचनमा चुनौती थपिए पनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको स्थानीय बताउँछन्। दलको स्थानीय नेतृत्वले निर्वाचन प्रचारको तयारी थालिसकेका छन्। बैतडी कांग्रेसका नेता वीरबहादुर विष्टले भन्नुभयो– ‘निर्वाचनको मिति तोकेपछि स्थानीय तहका कार्यकर्ता उत्साहित भएर गाउँकेन्द्रित भएका छन्।’
स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने चर्चासँगै यहाँका प्रमुख राजनीतिक दलहरू आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्। पार्टीका केन्द्रीय र जिल्ला स्तरका कार्यक्रम लिएर जनमत आकर्षित गर्ने क्रम बढ्दो छ। गत महिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महत, दिलेन्द्र बडु, नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायतका नेताले जिल्लाका विभिन्न स्थानमा भेटघाट आमसभा एवं अन्तरक्रिया गरेका थिए। नेताहरूले स्थानीय चुनावलाई लक्षित गर्दै जनतालाई आफ्नो पक्षमा पार्न अभियान बढाएका हुन्।

जिल्लाका विभिन्न स्थानमा संगठन विस्तार कार्यकर्ता भेटघाटलगायत जनपरिचालन अभियान सञ्चालन गरेर स्थानीय चुनाव आफ्नो पक्षमा पार्न गाउँ पसेका छन्। नेकपा माओवादी केन्द्रले पनि स्थायी कमिटी सदस्य खगराज भट्टलगायतका नेताहरू बोलाएर विभिन्न कार्यक्रम गरेर मतदाता रिझाउन थालेका हुन्।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गाउँ जागरण अभियान भन्दै आमसभा र जन–भेटघाट कार्यक्रम बढाएको छ। दोस्रो ठूलो दल नेकपा एमालेले पनि नयाँ संविधान कार्यान्वयनका लागि जागरण अभियान भन्दै गाउँ केन्द्रित गतिविधि गरिरहेको छ। तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि गाउँ जागरण अभियान तथा पार्टी एकता अभियान भन्दै गाउँमा प्रशिक्षण, भेटघाट तथा आमसभा गरिरहेको छ।

अगामी चुनावलाई लक्षित गरेर गाउँमा पार्टीका गतिविधिहरू अघि बढाएको नेताहरू बताउँछन्। १९ वर्षपछि हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू जनताको मत आफ्नो पक्षमा पार्न मिति घोषणा हुनुअघि नै कस्सिएका छन्। निर्वाचनका लागि जनतालाई तयारी अवस्थामा राख्न र कार्यकर्तालाई जागरुक बनाउन नेपाली कांग्रेस चारतारे अभियान जिल्लाव्यापी बनाइएको कांग्रेसका बैतडी सभापति नरेन्द्रसिंह थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्