मन्त्रीका गनगन ?



अहिले केही मन्त्रीहरूको हेरफेरको कुरालाई लिएर अनावश्यक चर्चा भएको देखेर धरहरा पनि चकित भएको छ। मन्त्री हेरफेर गर्ने भनेको संसदीय लोकतन्त्र भएको मुलुकमा प्रधानमन्त्रीको संविधान प्रदत्त अधिकार हो।
उहाँले संविधानभन्दा बाहिर नगईकन यो अधिकार प्रयोग गर्न पाउनुपर्दछ। तर, नेपालमा भने यस्तो गलत परिपाटी बसाउन खोजिएको छ कि एउटा मन्त्री परिवर्तन हुन लाग्यो रे भनेर गनगन शुरू भइहाल्छ। अझ सडक आन्दोलन नै गर्ने कुरासमेत हुन्छ।

यहाँभन्दा वाहियात कुरा के हुन सक्छ ? यस्ता अराजक मन्त्रीलाई त झन् प्रधानमन्त्रीले कारबाही पो गर्ने हो कि ? धेरै ठूलो मन्त्रिमण्डल बनाउन लागियो भने त्यो गलत भो भन्नु स्वाभाविक हो, तर मान्छेका नाम नै किटेर आन्दोलन गर्छु भन्दै धम्की दिनु कति जायज होला ? सडकमा लाठी लिएर निस्केपछि जे पनि पूरा गर्ने विगतको नजिरले हामीलाई कहाँ पु¥याउने होला है ?

आईजीपीको भोज

नेपाल प्रहरीको आईजीपीको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। तर, प्रतिस्पर्धीमध्येका एक जना महानुभावलाई चाहिँ ज्योतिषले तपाईं एक महिनाभित्र नेपाल प्रहरीको आईजीपी बन्नुहुन्छ भनेर लगाइदिएछन्। उनी त्यसै–त्यसै दंग परेर भोज खुवाउँदै हिँडेको कुरा धरहराले पत्तो पाएको छ। एउटा कुरा नबुझेर धरहरा बडो अप्ठेरोमा परेको छ भन्या– आईजीपी नेपाल सरकार, अदालत वा ज्योतिष कसले बनाइदिने हो ? पाठकवृन्दलाई केही थाहा भएमा खबर पाऊँ है।

प्रतिक्रिया दिनुहोस्