तीन ‘हो’

विद्यार्थीलाई खिया लगाउने हैन टल्काउने भन्ने सूत्र बोकेर हिँडेका छन् अनिल।‘टल्काउनुको अर्थ सकरात्मक परिवर्तन गराउनु हो। राम्रो रिजल्ट र असल व्यवहार बनाउन कसर बाँकी नराख्नु हो। कोही रिसाउलान् स्कुल छाडेर जालान् भनेर हामी चुप लागेर नबस्ने हो।’ यही तीन हो को सकरात्मक सूत्रमा सुचिकृत भएर समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अनिल अनिलकै लयमा हिँड््दै छन्।

“लेजी र क्रेजीमा फरक छ। क्रेजी भएर लागेपछि हरेक कुरा ईजी हुन्छ। लेजीलाई केही कुरा ईजी हुँदैन।” एक शिक्षक शिक्षामा क्रेजी भएर लागेको छ भने उसको विद्यार्थी सफल नै सफल हुन्छन्। लेजी भएर लागेको छ भने विद्यार्थीको सफलता गाह्रो चिज बन्छ। एक जनाले एक काममा लेजी भयो भने उसको काम मात्र डुब्छ। शिक्षक लेजी भए विद्यार्थीको जहाज नै डुब्छ। त्यही भएर शिक्षकलाई सम्मान गर्दै धेरै कथन बनेका छन्।

भनाइ छ। एक डक्टर चाहन्छ मान्छे बिमारी हुन। वकिल चाहन्छ मान्छे झगडा गरुन्। ठेकेदार चाहन्छ सबै मजदुर बनून्। दारु कम्पनी चाहन्छन् सबै मान्छे नशालु बनून्। बैकले चाहन्छ सबै ऋणि बनून्। नेता चाहन्छ सब कार्यकर्ता बनून्। पुजारीले चाहन्छ सबै भक्त बढून। तांन्त्रिक चाहन्छ सबै भूतप्रेतसंग डराऊन्। ज्योतिष चाहन्छ सब भाग्य हेर्न मै कहा आऊन्। दुनियाँमा एक शिक्षक मात्र त्यस्तो जीव हो जसले चाहन्छ आफ्नो विद्यार्थी सबैभन्दा अगाडि जाओस , दुनियाँको सबैभन्दा सफल बनोस् र मानव समाजकै उत्कृष्ट मान्छे बनोस्।

शिक्षकलाई सम्मान गर्दै बनेको यो कुरापछि मलाई लाग्यो के विद्यार्थीलाई त्यस्तै सोच्छन् शिक्षकले ?। प्रश्न मैले मोर्डन हाइ स्कुल र उच्च माध्यामिक विद्यालयका प्रिन्सिपल अनिल कसपाललाई सोधें। उनले थपे सधंै शिक्षकले मात्र सिकाउँदैन विद्यार्थीले पनि शिक्षकलाई सिकाउँछ। फेरि प्रश्न उठ्यो। सोधे ,विद्यार्थीका त्यस्ता घटना तपाईसंग छन्? उनले भने “म १९ वर्षदेखि पढाउन थाले आज पढाउन थालेको साढे दुई दशकमा त्यस्ता घटना धेरै नै छन्।’ ए फर एप्पल पढाउन एप्पल नै बोकेर लाने गरेको बताउँदै भन्थे ‘मलाई विद्या राजथला भन्ने विद्यार्थीले मैले पढाएको भन्दा फरक ढंगमा झ लेखेर मैलाई सिकाइदिए।’

कटुन्जे ९ भक्तपुरमा जन्मेर शान्ति निकेतन रेसिडेन्सियल हाइ स्कुल हुँदै अनिलले नेपाल कर्मस क्याम्पस मिनभवनबाट एमकम गरे। त्रिविबाट स्टटेजिक म्यानेजमेन्ट एकाउन्टिङमा एमफिल सकाएका अनिल विद्यार्थीलाई फरक ढंगले व्यवहार गर्नुपर्ने मान्यता राख्छन्। उनी र उनको परिवार नै संलग्न मोर्डन स्कुल जिल्लाकै मात्र हैन देशकै उत्कृष्ट विद्यालयमा पटकपटक परिसकेको छ। अनिल पिता बाबुकाजी कसपालले २०५० सालमा ९८ जनाबाट शुरु गरेको विद्यालयमा आज २२ सय विद्यार्थी अध्ययनरत छन्। त्यही उनको भाइ राजन, साजन र उनकी पत्नी शशी, बुहारीसमेत कार्यरत छन्। तलेजु प्रकाशनले निकालेको किताबमा केही साथीको सहकार्यमा ८, ९, १०, ११ १२ कक्षाका कोर्सको किताब पनि लेखेका छन् अनिलले।

शिक्षक खोला तार्ने माझी मात्र हो। खोला तरेर जानेहरुले माझीलाई बिर्सन्छन् आफ्नो यात्रालाई सम्झन्छन्। धेरैले यही भन्छन्। अनिल भने यसलाई फरक ढंगमा हेर्छन्। माझीको काम बिनाझन्झट खोला तार्नु नै हो यसैमा खुसी हुनुपर्छ भोलि केकसो भन्नेले माझी बन्न सक्दैन। त्यस्तै शिक्षकले राम्रोसंग पढाएको विद्यार्थीको यात्रा सफल भएको सुन्दा खुसी हुनुपर्छ । भन्दैथे ‘विद्यार्थीको असल सफल नै शिक्षकको सुख हो।’

गाउँमा खोलेको मोर्डन स्कुलले विद्यार्थीलाई मात्र हैन अभिभावकलाई पनि शिक्षित गर्नुपथ्र्याे। भवन बनाउन पैसा नभएको बेला बंैकले विश्वास गर्दैनथ्यो। निराश राजनीतिले निराश नभइकन निरन्तर लागेकै कारण कसपालहरुले मोर्डनलाई मोडर्न ढंगमा चलाउन सके। ९० प्रतिशत किसानका बच्चाहरु पढने मोर्डनले आज दर्जनौं डक्टर इन्जिनियर निकालेको छ। आफ्ना सन्तान आफूभन्दा अगाडि बढ्दा सन्तोष भए झैं शिक्षक पनि बच्चा आफूभन्दा अगाडि जादा सन्तोष हुने बताउँदै अनिललले भने ‘सामान्य विद्यार्थी असल गुरुमा परिणत हुनुजस्तो धन अर्काे हुनै सक्दैन।’

मोर्डनमा सामान्य विद्यार्थी असल गुरु भएको कथा धेरै छन्। यस्तै एक घटना हो। सात वर्षको बच्चा मानबाहादुर श्रेष्ठले भाइ मधुकर र बहिनी तारालाई पुर्याउन आउँदा ढोकामा उभिरहन्थे। पढन शुरु गरेपछि जान्थे। बाबु तिमी पनि पढने हो भनेर एक दिन अनिलले सोधेपछि मानबहादुरले भने ‘पढन त मन लाग्छ पैसा तिर्न सकिँदैन म त सरकारीमा पढछु।’ त्यति सानो बच्चाले घरप्रतिको जिम्मेवारी बुझेको देखेर अनिललाई दया पलायो र फ्रि मै पढाइदिए। आज उनी मेकानिकल इन्जिनियरिङ छन्। भाइ कम्प्युटर साइन्स र बहिनी विदेशमा छन्।नवीन खडकाले एसएलसी २०६१ मा बोर्ड ल्याए। उनलाई पनि त्यसै गरी फ्रि गरेर पढाएको अनिल बताउँछन्। अनिलका कुरा सुनेपछि लाग्यो एक राम्रो शिक्षक र विद्यालय भयो भने समाज रुपान्तरण गर्न सकिनेरहेछ।

दुई वर्ष यतादेखि अनिल पढाउन छाडेर पूरै व्यवस्थापनमा सक्रिय छन्। कोही टिचर खालि भयो भने कक्षा लिन्छन्। कहिलेकही पढाउन नपाएर खसखस हुन्छ उनलाई। अनिल पुत्री सर्वश्री कक्षा आठमा र पुत्र अधिश्री पाँच कक्षामा त्यही विद्यालयमा पढछन्। अनि उनीहरुलाई बेलुकी भए पनि पढाउछन्।

शिक्षकलाई मानभन्दा अपमान गर्ने व्यथा बढेको समाज छ अहिले। आफ्नो यौवनको २५ वसन्त शिक्षामा बिताउँदा उनी अरुमा काम गरेको भए यो हुन्थें भनेर कहिल्यै सोच्दैनन्। बच्चाबाटै समाजको रुपान्तरण गर्न सकिन्छ भन्नेमा अझ कस्सिएर लागेका छन्। त्यसैले त ब्याचलर मास्टर्सको बिल्डिग बनाउन लागेका छन्। शिक्षा क्षेत्रमै ज्ञान सिप फराकिलो गर्दै विद्यार्थीलाई खिया लगाउन हैन टल्काउने भन्ने सूत्र बोकेर हिँडेका छन् अनिल। ‘टल्काउनुको अर्थ सकरात्मक परिवर्तन गराउनु हो।रिजल्ट र असल व्यवहार बनाउन कसर बाँकी नराख्नु हो। कोही रिसाउलान् स्कुल छाडेर जालान् भनेर हामी चुप लागेर नबस्ने हो।’ यही तीन हो को सूत्रमा उनी सुचिकृत भएर समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अनिल अनिलकै लयमा हिँड्दै छन्।

LEAVE A REPLY