वनजंगल अतिक्रमणले वन्यजन्तु र जैविक विविधतामा संकट



इन्द्र गिरी, संखुवासभा
नेपालमा वनजंगल अतिक्रमणले वन्यजन्तु र जैविक विविधतामा संकट पर्दै गएको वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले बताउनुभएको छ। उहाँले बढ्दो जनसंख्या, सुकुम्बासी समस्या, सडक विस्तारले वन अतिक्रमण भएको आरोप लगाउनुभयो।

संखुवासभाको खाँदबारीमा ३३औं वार्डेन सेमिनार र १५औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सम्मेलन उद्घाटन गर्दै राज्यमन्त्री भाटले वनजंगल तथ्यांकमा बढेको देखिए पनि यथार्थमा वन विनाश भइरहेको दाबी गर्नुभयो। उहाँले वन्यजन्तुको चोरी शिकारी नियन्त्रण हुन नसकेको र राष्ट्रिय निकुञ्ज र समुदायबीच द्वन्द्व रहेको चर्चा गर्नुभयो। उहाँले वन ऐन नियमावली परिमार्जन गरी दिगो समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा वातावरण संरक्षण समितिका सभापति एवं सांसद जनकराज चौधरीले वन जीवन र प्राणवायु रहेकाले संरक्षण र संवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो। उहाँले मुलुकमा सम्वृद्धि भित्त्याउन निजी क्षेत्र, सरकारी निकाय र समुदायको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो। कार्यक्रममा राष्ट्रिय निकुञ्जमा नयाँ प्रविधिको विकास र दक्ष जनशक्तिको खाँचोसमेत रहेको उहाँले औंल्याउनुभयो।
कार्यक्रममा क्षेत्रीय वन निर्देशक राजेन्द्र काफ्लेले राष्ट्रिय निकुञ्जमा चुनौती, समस्या र कानुनी अड्चन रहेको बताउनुभयो। उहाँले वनजंगल समुदायले अतिक्रमण गर्नु र वन्यजन्तुबाट क्षति हुने गरेकाले राष्ट्रिय निकुञ्ज र समुदायबीच द्वन्द्व हुने गरेकाले समस्याको समाधानको उपाय सम्मेलनले निकाल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सांसद राजाराम स्याङ्तान, धनकुटा हिलेका बाहिनीपति गोकुल भण्डारी, प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, पूर्वसचिव डा. अन्नपूर्णनन्द दास, पूर्वमहानिर्देशक फणीन्द्रराज खरेललगायतले राष्ट्रिय निकुञ्जको दिगो संरक्षण र विकासमा जोड दिनुभएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काको अध्यक्षता भएको उक्त सम्मेलनमा नेपालभरका २० वटा संरक्षित क्षेत्रका संरक्षण अधिकृत, १२ मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष, १२ निकुञ्ज क्षेत्रका सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो। सम्मेलन चत ५ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्