नेपाली टोलीमाथि आशा गर्न सकिन्छ



फिरोज राजोपाध्याय
हालै केन्याविरुद्ध एक जित र एक हारको नतिजापछि नेपालको आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्ने सम्भावना कतिको छ यसै विषयमा अहिले चर्चा चलिरहेको छ। बंगलादेशमा सन् २०१८ मा हुने सो छनोट प्रतियोगितामा सहभागिता हुन हाल जारी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा अटाउनुपर्नेछ। यसैले नेपाल शीर्ष चारमा अटाउला कि नअटाउला भन्ने द्विविधामा छ। चुनौती धेरै छ तर पनि नेपाल सरकारको उदासीनतामा पनि नेपाली क्रिकेट उठेकै छ। यस हिसाबमा आशा गरौं नेपालले शीर्ष चार हात पार्नेछ।

नेपालको पाँचौं चरणपछि ८ अंक बनेको छ। छैटो स्थानमा रहेको नेपालको अगाडि शीर्ष पाँच टोली क्रमशः नेदरल्यान्डस्, पपुआ न्युगिनी (पीएनजी), हङकङ, स्कटल्यान्ड र केन्या रहेका छन्। नेदरल्यान्डस्ले पाँचौं चरणपछि १६ अंक जोडेर शीर्ष चारको स्थान लगभग सुरक्षित गरिसकेको भन्न सकिन्छ। तर, पीएनजी १२ अंक, हङकङ ११ अंक, स्कटल्यान्ड ११ अंक र केन्या १० अंकमा रहेकाले नेपालका लागि यी चार टोली चुनौतीको रूपमा छन्। यिनीहरूलाई चिर्दै नेपाल अगाडि बढ्नेछ भन्ने पनि आशा गर्न सकिन्छ। नेपाली टोलीमा दम छ।

त्यसो त पीएनजी र स्कटल्यान्डले अहिलेसम्म चौथो चरणका खेल मात्रै खेलेका छन्। यी दुई टोलीले क्रमशः अप्रिल र जुनमा खेल्ने कार्यक्रम रहेको छ। जसमा पीएनजीले पुछारमा रहेको (आठौं स्थान) संयुक्त अरब इमिरेट्स (यूएई) सँग अप्रिल २ र ४ मा तथा स्कटल्यान्डले सातौं स्थानमा रहेको नामिबियासँग जुन ११ र १३ तारिखमा खेल्नेछन्। यूएई र नामिबियासँग २⁄२ अंक मात्र रहेकाले पनि उनीहरूले जितका लागि खेल्ने आशा गर्न सकिन्छ। तर, स्कटल्यान्ड र पीएनजी हाल अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटको मान्यता पाएका टोली हुन्।

नेपालका लागि आगामी चुनौती पार गर्न हङकङ र यूएईसँग हुने खेलहरू जित्नै पर्ने हुन्छ। यी चार खेल जित्यो भने नेपालका लागि अरू टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ। यदि अन्य टोलीले जित लगातार हात पार्दै गएमा नेपालमै भएको केन्याविरुद्धको पहिलो खेल गुमाउनु सायद नेपाली टोलीका लागि घातक हुन सक्नेछ। नेपालले फागुन २८ गते त्रिवि मैदानमा भएको पहिलो खेल केन्यासँग ५ विकेटले गुमाएको थियो।

धन्य दोस्रो खेलमा भने मौसम पनि सफा र खेलाडीको प्रदर्शन पनि लोभलाग्दो बनेको थियो। जसले गर्दा नेपालले केन्यालाई सहजैरूपमा ७ विकेटले हराएको थियो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा जितका असली हकदार मेहबुब आलम र शरद् भेषवाकर हुन् भन्दा कसैको दुई मत नहोला। किनभने मेहबुबले ७ ओभरमा ५ मेडन राखेर २ विकेट लिएर केन्याको ब्याटिङ संघर्षपूर्ण बनाइदिएका थिए। पछि शरद्ले ४ विकेट लिएर नेपालका लागि केवल १ सय ५६ रनको लक्ष्य दिलाएका थिए।

सोमपाल कामी नचलेको अवस्थामा तथा सन्दीप लामिछाने र सागर पुनले किफायती बलिङ गरे पनि १–१ विकेट मात्रै लिएको अवस्थामा शरदले ४ विकेट लिनु नै केन्यालाई नेपालले हराउन आधार बनिसकेको थियो। यद्दपि वसन्त रेग्मीले २ विकेट लिएर नेपालका लागि उनी अझै पनि विकेटटेकर बलर हुन् भनेर प्रमाण पेस गरिरहेका थिए। तर, पनि शरद् यस खेलमा तुरुपको एक्का बनेका थिए।

ब्याटिङमा पनि पहिलो खेलमाभन्दा सुधारिएको खेल नेपालले देखायो। जसमा कप्तान ज्ञानेन्द्रले ६४ रन र दीपेन्द्रसिंह ऐरीले ६२ रन बनाएका थिए। शरद्ले पनि ११ बलमै २४ रन जोडेर उनको दम अझै बाँकी रहेको प्रस्तुत गरेका थिए।

केन्याविरुद्धको खेलमा डेब्यु गरेका सुनील धमला र दीपेन्द्रसिंहमध्ये दीपेन्द्रले बाजी मारेका छन्। जहाँ सुनीलले पहिलो खेलमा ५ रन बनाउँदा दीपेन्द्रले १९ रन जोडे। त्यस्तै दोस्रो खेलमा सुनील १ रनमै आउट भएका थिए। सुनीललाई ओपनरको रूपमा नेपाली राष्ट्रिय टोलीमा सम्मिलित गराइएको थियो।

विश्वकपको प्रक्रिया यस्तो छ
आगामी आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता इंग्ल्यान्डमा सन् २०१९ मा हुने तय भएको छ। यसैका लागि आईसीसीसँग सम्बन्ध आठ एसोसिएट राष्ट्रबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप आयोजना भइरहेको छ। सन् २०१५ देखि शुरु भएको यस प्रतियोगिता यसै २०१७ को अन्त्यसम्म समापन हुनेछ। यस प्रतियोगितामा शीर्ष चार स्थान प्राप्त गर्ने टोलीले बंगलादेशमा सन् २०१८ मा हुने आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन्।
सो छनोट प्रतियोगितामा कुल १० टिमले सहभागिता जनाउनेछन्। जसमा आईसीसी एकदिवसिय अन्तर्राष्ट्रिय वरियतामा तल्लो चार स्थानमा रहेको टोली हुनेछन्। हालको वरियतामा वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्यान्ड क्रमशः नवौंदेखि १२औं स्थानमा रहेका छन्। त्यस्तै विश्व क्रिकेट लिग डिभिजन तीनमा शीर्ष रहने दुई टोली हुनेछन्। यसै वर्ष शुरु हुने डिभिजन तीनमा क्यानाडा, अमेरिका, मलेसिया, ओमान, सिंगापुर र युगान्डाले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै नेपालले खेलिरहेको जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली हुनेछन्। यस छनोट प्रतियोगिताबाट शीर्ष दुई स्थानमा आउने टोलीले मात्रै इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा सहभागिता जनाउनेछन्। जहाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियताअन्तर्गत शीर्ष आठ टोली पहिल्यै हुनेछन्।

प्रतिक्रिया दिनुहोस्