भूकम्प पीडित अझै पनि टहरामै



लमजुङ (नेस)

लमजुङको दुर्गममा रहेको भूकम्प पीडित एक गाउँका तीन सय ७१ घर परिवारको अझै टहरामै बास बस्न बाध्य भएका छन् । पूर्वीक्षेत्रमा रहेको कोल्की गाविसका तीन सय ७१ घरधुरी अझै टहरामै दिन रात बिताई रहेका छन् ।

२०७२ सालको बैशाख १२ गते र २९ गते गएको भूकम्पका कारणले घर भत्किएर बिचल्लीमा परेका तीन सय ७१ घर परिवार अझै टहरामा बस्न बाध्य भएका हुन् । ज्याला, मजदूरी र निमेक गरेर दैनिक गुजारा गर्दै आएका ती परिवारसँगै आफैले घर बनाउने क्षमता नहुँदा र सरकारले दिने भनेको सहयोगको रकम पनि नपाउँदा टहरामा बास बस्नु परेको पीडितहरूको गुनासो छ । टहरोमा बस्दै आएका कोल्की गाविसको तस्यो गाउँका मेघराज गुरुङले भूकम्पपछि तत्काल घर बनाउने आफूसँग पैसा नभएका कारण केही गर्न नसकेको बताए ।
उनले भन्छन “सरकारले दिने भनेको राहत पर्खेको तर त्यो कहिले आउनु पर्ने हो र अझै कति कुर्नुपर्ने हो थाहा छैन, फेरि वर्षा लाग्न लाग्यो । खेती पाती गर्ने बेला पनि भयो । हिउँदको दिन पनि त्यतिकै बितिसक्यो । सरकारले कहिले पैसा देला र घर बनाउँला भनेको खै केहि सुरसार छैन ।”

सोही गाउँकी ७३ वर्षीया भीमकुमारी गुरुङले पनि सरकारले दिने राहत नपाएको गुनासो गर्दै भन्छिन, “सरकारको सहयोग आउला र घर बनाउँला भन्दा भन्दै यसै मर्छु कि क्या हो ।” लमजुङका करिब ५ हजार परिवारको भुकम्प पीडितले नाम छुटेका कारण १५ हजार राहत र १० हजार न्यानो कपडाको लागि आएको राहत पाउन सकेका छैनन् ।

सरकारी र गैरसरकारी गरी १० संस्थाले लमजुङमा काम गरेका छन् तर ६ हजार पीडित सम्बन्धित निकायसम्म गएर बोलिदिने मान्छे नहुँदा तिनीहरुको पहुँच बाहिर परेको पाएको हो ।

यसबारेमा तत्कालीन जिल्ला विकास समितिमा सम्पर्क गर्दा चैतको पहिलो साता अनुदान सम्झौताका बारे तालिमको तयारी गरेको जिविसका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । उहाँका अनुसार चैत १५ गतेसम्म लाभग्राही सम्बन्धी नामवली प्रकाशन गरी सम्झौता थालिने र तत्कालै राहत रकम वितरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्