अनुगमन टोली गएपछि भागाभाग



हेटौंडा,(नेस) ।
जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले विश्व उपभोक्ता दिवसको अवसर पारेर हेटौंडा बजारका होटल, खाद्यान्न तथा लत्ताकपडा पसल अनुगमन गरेको छ ।

अनुगमनका क्रममा म्याद सकिएका खाद्यपदार्थ, फोहोरलगायत कमीकमजोरी भेटिएको थियो । अनुगमनका क्रममा होटेलका भान्साई सफा गर्न सचेत गराइएको छ । हेटौंडा बजारका होटल, थकाली किचेन, सामना होटेललगायत साना खाजा नास्ता पसलको अनुगमन गरिएको हो ।

कुनै वस्तु वा सेवा प्रदायकले उपभोक्ता हितविरुद्धका व्यापारिक गतिविधि नगरुन् भन्ने उद्देश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताउनुभयो । होटेल एसोसिएसन मकवानपुर अध्यक्ष भगीरथ शर्माले भान्सा सफा र स्वस्थ्यकर रहनुपर्ने रहेकाले अनुगमनमा संघका तर्फबाट सहभागिता रहेको बताउनुभयो ।

अनुगमनका क्रममा नारायणी मलमा अधिकांश पसलहरुमा प्यान तथा भ्याट विलबिना खरिद बिक्री गरिएको, मूल्य सूची नराखिएको भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले तालाबन्दी गर्न नपर्ने बताएसँगै मलको माथिल्लो तलाका व्यवसायी सरकारी अनुगमन टोली आएको भन्ने थाहा पाउनासाथ सटर बन्द गरी भागाभाग गरेका थिए ।

पुनः अनुगमन आउँदा समेत सोही अवस्थामा भेटिए ताला लगाउने चेतवानी उहाँले दिनुभयो । अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर अध्यक्ष वासु खतिवडा , क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजाल र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्