८६ वर्षको उमेरमा सगरमाथा चढ्दै शेरचन



प्रताप बानियाँ, म्याग्दी ।

विश्वशान्ति र मानवजातिको हितको कामना गर्दै ८६ वर्षको उमेरमा सगरमाथा आरोहणको तयारी गरिरहेका म्याग्दीको भूरुङ–तातोपानी–९ का मीनबहादुर शेरचनलाई गृहजिल्ला म्याग्दीमा स्वागत गरिएको छ । आगामी सिजनमा आरोहणको पूर्व तयारीस्वरुप ‘हाइअल्टिच्युड ट्रेनिङ’का लागि मुस्ताङ जान लागेका शेरचनलाई बेनीमा स्वागत गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयद्वारा आायोजित स्वागत कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरुले आरोही शेरचनलाई खादा र मालाले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै आरोही मीनबहादुर शेरचनले विश्व शान्तिका लागि आफूले सगरमाथा आरोहण गर्न लागेको बताए । ‘मैले जीवनमा तीनटा कुरा सधैं पालना गरेको छु,’ पत्रकारसामू बोल्दै शेरचनले भने, ‘व्यायाम, डाइटिङ र पोजेटिभ थिङकिङ ।’ आफ्नो दैनिकीबारे जानकारी दिँदै शेरचनले बिहान ४ बजेर उठेर एक घण्टा व्यायाम गर्ने र त्यसपछि घरका सानातिना काम गर्ने गरेको बताए ।

सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर शेरचनले ‘गिनिज बूक अफ वल्र्ड रेकर्डस्’मा नाम लेखाउन सफल भएका थिए । तर, सन् २०११ मा ८१ वर्षीय जापानी पर्वतारोही युचियो मिउराले सगरमाथा आरोहण गरी ‘रेकर्ड ब्रेक’ गरिदिएपछि शेरचन नयाँ रेकर्ड कायम गर्न लागिपरेका हुन् ।
यसका लागि उनले सन् २०१३ र २०१५ मा सगरमाथा आरोहणको प्रयास पनि गरे । तर, कहिले मौसममा आएको फेरबदल त कहिले विनाशकारी भूकम्पका कारण उनी आधार शिविरबाटै फर्किन बाध्य भए । सगरमाथा आरोहण गर्ने ज्येष्ठ नागरिकको रुपमा गिनिज बूकमा नाम लेखाउने योजनालाई यथार्थमा परिणत गर्न शेरचले आफूलाई शारीरिक र मानसिकरुपमा तम्तयार अवस्थामा राखेका छन् । कार्यक्रममा निकै आत्मविश्वासी शैलीमा प्रस्तुत भएका शेरचनले भने, ‘मसँग धेरै अनुभव र योजना छन, सगरमाथा चढेर फर्केपछि तपाइँहरुलाई सुनाउँछु । धेरै काम पनि गर्नु छ ।’

स्वागत कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले विश्वमा म्याग्दी जिल्ला र म्याग्देलीको शिर उँचो बनाउने शेरचनलाई स्वागत गर्ने अवसर पाउँदा उत्साहित भएको बताए । विश्वमा नेपाल र म्याग्दीलाई चिनाउने सम्मानित व्यक्तिहरु म्याग्देली हुनुमा सबैले गर्व गर्नुपर्ने धारणा राख्दै कर्मचार्यले शेरचनको सगरमाथा आरोहण अभियानलाई जिल्लाबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन् ।

सोही अवसरमा शेरचनको आरोहणका लागि आर्थिक सङ्कलन अभियानका संयोजक जीतबहादुर घर्तीमगरले आरोहण सफल बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट आर्थिक सहयोगको आवश्यकता रहेको बताए । सीमित समयमा १ करोड रुपैयाँ खर्च सङ्कलन गर्नुपर्ने भन्दै बेलायती सेनाका पूर्व क्याप्टेनसमेत रहेका मगरले गृहजिल्ला म्याग्दीलगायत नेपालभरबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको जानकारी दिए ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शेरचनको अभियान सफल भए नेपाललाई हेर्ने विश्व समुदायको दृष्टिकोण नै परिवर्तन हुने विचार राखेका थिए । शेरचनको सफलतासँग व्यक्ति मात्र नभई समग्र नेपालको सफलता जोडिने भन्दै शर्माले अभियान सफलताको कामना गरेका थिए ।

शेरचनको आरोहणका लागि मोना यूकेसहित विभिन्न संघसंस्थाले आर्थिक सङ्कलन अभियान सञ्चालन गरिरहेका छन् । यसैबीच म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले शेरचनको अभियानका लागि १० हजार सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्