पाकिस्तानमा १९ वर्षपछि जनगणना प्रारम्भ



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा बुधबारदेखि राष्ट्रिय जनगणना शुरु भएको छ। पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलोपटक जनगणना हुन लागेको जानकारी दिएका छन्। दुई चरण गरी आगामी १५ मे सम्ममा जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष्य राखिएको बताइएको छ।

तथ्यांक संकलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्यांक निकाल्ने काममा सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्।

यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक व्यक्तिको सर्वेक्षण गरिनेछ। साथै पहिलोपटक पाकिस्तानी समलिंगी र उभयलिंगी व्यक्तिहरुको लगत राख्ने कार्य पनि गर्न लागिएको बाज्वाले बताएका छन्। राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशबासीको घरदैलोमा पुगी घरधुरी एवं परिवार जस्ता तथ्यांक संकलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ करिब २ लाख सेना परिचालन गरिने बताइएको छ।

पछिल्लोपटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रव्यापी जनगणना भएको र त्यसबेला राष्ट्रको कुल जनसंख्या १८ करोडको हाराहारी भएको अभिलेख राखिएको थियो। सो आँकडामा वृद्धि भई हालको जनसंख्या २० करोडभन्दा माथि नै पुग्ने तथ्यांक विश्लेषकहरुले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्