मन जित्दै मान भर्सेस मति



थिएटर मल नाटकघरमा मञ्चन भइरहेको नाटक मान भर्सेस मतिले दर्शकको मन जितेको छ। यसको मञ्चन अन्तिम सातामा पुगेको छ। फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशित नाटकको अब केही शो मात्र बाँकी रहेको जनाइएको छ।

अघिल्लो वर्ष पनि एक महिना मञ्चन भएको हास्यप्रधान यो नाटकले यसपटक पनि दर्शकको माया पाएको छ। अघिल्लो वर्ष ताल नगरी पोखरामा समेत मञ्चन भएर दर्शकको मन जितेको नाटक मान भर्सेस मतिको अहिलेसम्म ५०औं शो मञ्चन भइसकेको छ।

परिवार बलियो हुन विश्वासका डोरीहरू बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरि रहेको मान भर्सेस मतिमा पारिवारिक द्वन्द्व र प्रेमको कथा छ। वर्तमान शहरिया दैनिकीमा मध्यम वर्गीय सामान्य परिवारमा आइपर्ने र आउन सक्ने व्यवहारलाई नै नाटकमा दृश्यात्मकरूपमा प्रस्तुत गरिएको छ।

श्रीमान् श्रीमतीबीचको सामान्य कथावस्तुलाई सुन्दर र कलात्मक प्रस्तुतिले नाटकलाई बेजोड बनाएको छ। छोराका रूपमा याताउता दगुर्ने भकुण्डोलाई बिम्वात्मक रूपमा प्रस्तुत गरी बाल मनोविज्ञान र चञ्चलतासमेत दर्शकले महसुस गर्दछन्।

नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीलगायतले अभिनय गरिरहेका छन्।
यस नाटकलाई काठमाडौं बाहिर पनि मञ्चन गर्ने तयारी भइरहेको निर्देशक श्रेष्ठले जाकारी गराएका छन्। थिएटर मलले आगामी चैत २४ गतेदेखिे भने नाटक आन्दोलन मञ्चन गरिने जनाएको छ। यो नाटक सौरभ कार्कीको लेखेका हुन् भने सुदाम सिकेले निर्देशक गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्