रामुको असाधारण प्रतिभा



ज्ञानमणि नेपाल कालोटोपी

प्रतिभा सबैसँग हुन्छन्, अवसर पाए उनीहरूले आफ्ना प्रतिभाहरू देखाउँछन् पनि तर कसैले भने अवसर नपाएकै कारण ओझेलमै छन्। सानै उमेरमा अनौठो काम गरेर पनि ओझेलमा रहेका एक विद्यार्थी अहिले कसैले सहयोग गरे आफू अझै अगाडि जान सक्ने बताउँछन्।

उनको नाम रामु खत्री हो। स्थायी घर दोलखा जिल्लाको झ्याँकु। अहिले १८ वर्षका मात्र भए। यो समयमा उनले धेरै प्रकारका अनौठा लाग्ने विज्ञानका आविष्कार गरिसकेका छन्। राजधानीकै चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा पढ्दै गरेका रामुले पुराना बिग्रिएका रेडियो, ब्याट्री र त्यतिकै खेर गइरहेका इलेक्ट्रोनिक्स सामानका पाटपुर्जा जोडेर टर्वाइन र रोबोटको निर्माण गरेका छन्।

त्यति मात्र होइन सोलारबाट चल्ने ट्याक्टर (खेत जोत्न सकिने) को पनि निर्माण गरेका छन्। विज्ञानसँग सम्बन्धित नै अन्य यस्तै सामानमध्ये धारामा पानी आउनेबित्तिकै आफैं पानी तान्ने मेसिनको पनि निर्माण गरेका छन्। अटोमेटिक डोर कल सिस्टम अर्थात् घरमा चोर पस्यो भने विशेष प्रकारको साइरन बज्ने मेसिनको पनि उनले निर्माण गरिसकेका छन्। त्यस्तै ड्रोन (रिमोटबाट चलाउने क्यामेरा जसलाई असम्भव ठाउँका भिडियोहरू खिच्न प्रयोग गरिन्छ) को पनि आविष्कार गरेका छन्। सोलार कारको नमुना, बम निस्क्रिय पार्ने रोबोट, इलेक्ट्रिक भोटिङ सिस्टम पनि उनले बनाएका छन्।
त्यस्तै विश्वको जुनसुकै कुनामा रहेको घरको ढोकालाई मोबाइलमा मिसकल गरेको भरमा खोल्न र बन्द गर्न सकिने उपकरणको नमुना पनि उनले बनाइसकेका छन्। गहुँ छर्ने रोबोट (जसले खन्ने र जोत्ने काम गर्छ) पनि उनको आविष्कारको अर्को उदाहरण भएको छ। कुनै पनि ठाउँमा चल्ने हावाहुरी मापन गर्ने यन्त्रको पनि उनले निर्माण गरिसकेका छन्। अहिलेसम्म ९० भन्दा बढी खोज र अनुसन्धान गरिसकेका रामुले करिब ३० वटा जति सानाठूला कार्यक्रममा उत्कृष्ट भएर अवार्ड पनि जितिसकेका छन्। उनले २०१६ को युवा वैज्ञानिक अवार्ड जितेका छन्, त्यस्तै २०१७ को अवार्ड पनि उनकै हातमा परेको छ। त्यस्तै हालै भारतको नयाँ दिल्लीमा भएको एसियाली राष्ट्रहरूका युवा वैज्ञानिकहरूको सम्मेलनमा २ वटा विधामा उत्कृष्ट भएका छन्।

रामुले भान्साकोठाबाट निस्किएको फोहोरबाट विद्युत् उत्पादन गर्न सकिने यन्त्रको पनि निर्माण गरेका छन्। यी र यस्ता दर्जनौं नयाँ यन्त्रका नमुना बनाउँदै गरेका रामु अहिले आफ्ना आविष्कारलाई कसरी प्रयोगमा ल्याउनध सकिन्छ भनेर लागिपरेका छन्। यति धेरै सामानको निर्माण गरिसक्दा पनि उनलाई अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन्। केही ठाउँमा भएका विज्ञान प्रदर्शनीमा उनका वस्तुले उत्कृष्ट भएर पुरस्कार पाएका भए पनि तिनीहरूलाई वास्तविक रूपमा प्रयोग नै गर्न भने निकै खर्चको आवश्यकता पर्छ। आर्थिक रूपमा कमजोर रहेका उनलाई यीभन्दा पनि अझ नयाँनयाँ प्रयोग गर्न मन छ। तर यसका लागि सहयोगी निकाय भने फेला पार्न सकेका छैनन्।
८⁄९ वर्षको उमेरमै उनी पुराना सामान खोल्ने र आफैं जडान गर्ने गर्थे। स्कुलमा २ कक्षामा पढ्दादेखि नै यस्तै मात्र काममा चासो राख्थे। उनको परिवार रामुले गरेका कामहरू देखेर अचम्मित हुन्थे। साथीभाइ पनि तारिफ गर्थे। जसले गर्दा आफूलाई यस्ता काममा लाग्न अझ प्रेरणा मिलेको बताउने रामु सरकारले आफ्ना सामानको अवलोकन गरेर सहयोग गरेमा अझै नयाँ काम गर्न सकिने आशामा छन्। पढाइ र आविष्कार सँगसँगै लैजाँदै गरेका उनी आफ्ना सामान बोकेर नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टमा पनि पुगेका छन्। त्यहाँका कर्मचारीले आफूलाई सहयोग गर्ने बताएपछि उनलाई थप हौसला मिलेको छ। ‘आश्वासनले मात्र त हुँदैन, साँच्चै नै सहयोग पाइयो भने म विज्ञानका अरू नयाँनयाँ आविष्कार गर्दै जानेछु –उनले भने।

नेपालमा यस्ता प्रतिभा भएका व्यक्तिको उचित स्थान नभएको र सरकारले पनि खासै सहयोग नगरेका कारण आफू जस्ता धेरै व्यक्ति निराश भएको रामुले गुनासो गरे। ‘विदेशमा यस्ता व्यक्तिको महत्त्व बुझेर सरकारले पढ्न र अनुसन्धानका लागि धेरै सहयोग गर्छ तर नेपालमा त सहयोगको अनुरोध गर्दा पनि कसैले वास्ता नगर्ने रहेछन्’ –उनको भनाइ छ। देशका उच्च पदमा रहेका राजनीतिक दलका नेता आफ्नो उपचारको बहानामा देशको ढुकुटी सक्छन् तर यस्ता प्रतिभालाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम ल्याउँदैनन्। जसले गर्दा नेपालका हजारौं युवाप्रतिभा विदेश पलायन भएका छन्। यो देशका लागि ठूलो घाटा हो। सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन भन्छन्– ‘रामुजस्ता युवा प्रतिभालाई सरकारले उचित स्थान दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्