बेलायतको प्रतियोगितालाई मोडल छनोट



आगामी नोभेम्बर महिनामा बेलायतमा हुने फेस अफ द वल्र्ड–२०१७ मा नेपालबाट प्रतिनिधित्व गर्नका लागि दुई मोडल छनोट गरिएको छ। काठमाडौंमा सम्पन्न फेस अफ द वल्र्ड नेपाल–२०१७ मा काठमाडौंका रोजेन सुवेदी तथा महोत्तरीकी स्नेहा जर्घा चयन भएका हुन्।

उक्त प्रतियोगिताको वर्ष २०१६ को संस्करणमा पीयूष कर्णले नेपालको प्रतिनिधित्व गर्दै सेकेन्ड रनर्स अप इन्टरनेसनल तथा बेस्ट रनवे अवार्ड जितेका थिए। यति बेला उनी फेस अफ द वल्र्डको नेसनल डाइरेक्टरका रूपमा आबद्ध छन्।

नायिका नम्रता श्रेष्ठ तथा पीयूष कर्णद्वारा कोरियोग्राफी गरिएको प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्र्ट रनर्सअपको उपाधि जिते भने रिजन श्रेष्ठ तथा पिंकी जोशीले सेकेन्ड रनर्सअपमा चित्त बुझाए। प्रतियोगितामा फस्र्ट रनर्सअपको उपाधि विजेता सागर तथा मेघाले बर्मिङघम फेसन विकमा क्याटवाक गर्ने अवसर प्राप्त गरेका छन्।

एमटिभी स्पिटभिल्लाकी विजेता मिया लाक्रा तथा मिस नेपाल–२००० उषा खड्गीसहितको निर्णायक समूहले विजेताको छनोट गरेको हो। होरिजन मिडिया नेपालले आयोजना गरेको प्रतियोगितामा स्नेहा जर्घा तथा सागर लामाले बेस्ट ट्यालेन्ट, मेघा प्रधान तथा रोजेन सुवेदीले बेस्ट एडिटोरियल, सागर लामा तथा पिंकी जोशीले बेस्ट ड्रेस, सागर लामाले बेस्ट रनवे, स्नेहा जर्घाले बेस्ट क्याटवाक, ऐश्वर्या शर्माले बेस्ट डिसिप्लिन, निशान्त ठाकुर तथा ऐश्वर्या शर्माले बेस्ट पर्सनालिटी, ख्याती शर्मा तथा रोजेन सुवेदीले बेस्ट हेयर, पीयूष गुप्ता तथा मेघा प्रधानले फोटोजेनिक, रिजन रिजन श्रेष्ठले बेस्ट फिजिक्स, स्नेहा जर्घाले बेस्ट फिगर, मेघा प्रधानले बेस्ट स्विमसुट तथा पिंकी जोशीले भ्युअर्स च्वाइस अवार्ड जितेका थिए।

प्रतिक्रिया दिनुहोस्