एसईई परीक्षा आजबाट



भक्तपुर, (नेस)
परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट शुरू हुने माध्यमिक शिक्षा परिषद्को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बिहीबारबाट शुरू हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो। उहाँले माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परीक्षा पनि लेटर गेटिङ प्रणालीमा हुने बताउनुभयो।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परीक्षा बोर्डको संरचना तयार भई नसक्दा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो।

माध्यमिक परीक्षा परिषद्को परीक्षामा देशभर १ हजार ९ सय २३ वटा परीक्षा केन्द्र तोकिएको छ। जिल्लामा परीक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परीक्षा केन्द्र तय गरेको बताउँदै उहाँले केन्द्रमध्ये काठमाडौंमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक⁄एक वटा परीक्षा केन्द्र रहेको जानकारी दिनुभयो।

परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सामेल हुँदै छन। देशभर १ हजार ९ सय २३ परीक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्