विश्व कीर्तिमान कायम गर्न सगरमाथा चढ्दै शेरचन



प्रताप बानियाँ, म्याग्दी
विश्वशान्ति र मानवजातिको हितको कामना गर्दै ८६ वर्षको उमेरमा सगरमाथा आरोहणको तयारी गरिरहेका म्याग्दीको भुरुङ–तातोपानी–९ का मीनबहादुर शेरचनलाई गृहजिल्ला म्याग्दीमा स्वागत गरिएको छ।

आगामी सिजनमा आरोहणको पूर्वतयारीस्वरूप ‘हाइअल्टिच्युड ट्रेनिङ’ का लागि मुस्ताङ जान लागेका शेरचनलाई बेनीमा स्वागत गरिएको हो। म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयद्वारा आायोजित स्वागत कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरूले आरोही शेरचनलाई खादा र मालाले स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै आरोही मीनबहादुर शेरचनले विश्व शान्तिका लागि आफूले सगरमाथा आरोहण गर्न लागेको बताए। ‘मैले जीवनमा तीनवटा कुरा सधैं पालना गरेको छु,’ पत्रकारसँग कुरा गर्दै शेरचनले भने–‘व्यायाम, डाइटिङ र पोजेटिभ थिङकिङ।’ आफ्नो दैनिकी बारे जानकारी दिँदै शेरचनले बिहान ४ बजेर उठेर एक घण्टा व्यायाम गर्ने र त्यसपछि घरका सानातिना काम गर्ने गरेको बताए।

सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर शेरचनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए। तर, सन् २०११ मा ८१ वर्षीय जापानी पर्वतारोही युचियो मिउराले सगरमाथा आरोहण गरी ‘रेकर्ड ब्रेक’ गरिदिएपछि शेरचन नयाँ रेकर्ड कायम गर्न लागिपरेका हुन्।

यसका लागि उनले सन् २०१३ र २०१५ मा सगरमाथा आरोहणको प्रयास पनि गरे। तर, कहिले मौसममा आएको फेरबदल त कहिले विनाशकारी भूकम्पका कारण उनी आधार शिविरबाटै फर्किन बाध्य भए। सगरमाथा आरोहण गर्ने ज्येष्ठ नागरिकको रूपमा गिनिज बुकमा नाम लेखाउने योजनालाई यथार्थमा परिणत गर्न शेरचनले आफूलाई शारीरिक र मानसिक रूपमा तम्तयार अवस्थामा राखेका छन्। कार्यक्रममा निकै आत्मविश्वासी शैलीमा प्रस्तुत भएका शेरचनले भने–‘मसँग धेरै अनुभव र योजना छन्, सगरमाथा चढेर फर्केपछि तपाइँहरूलाई सुनाउँछु। धेरै काम पनि गर्नुछ।’

स्वागत कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले विश्वमा म्याग्दी जिल्ला र म्याग्देलीको शिर उँचो बनाउने शेरचनलाई स्वागत गर्ने अवसर पाउँदा उत्साहित भएको बताए। विश्वमा नेपाल र म्याग्दीलाई चिनाउने सम्मानित व्यक्तिहरू म्याग्देली हुनुमा सबैले गर्व गर्नुपर्ने धारणा राख्दै कर्मचार्यले शेरचनको सगरमाथा आरोहण अभियानलाई जिल्लाबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

सोही अवसरमा शेरचनको आरोहणका लागि आर्थिक संकलन अभियानका संयोजक जीतबहादुर घर्तीमगरले आरोहण सफल बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट आर्थिक सहयोगको आवश्यकता रहेको बताए।
सीमित समयमा १ करोड रुपियाँ खर्च सङ्कलन गर्नुपर्ने भन्दै बेलायती सेनाका पूर्वक्याप्टेनसमेत रहेका मगरले गृहजिल्ला म्याग्दीलगायत नेपालभरबाट आर्थिक संकलन अभियान सञ्चालन गरिएको जानकारी दिए।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शेरचनको अभियान सफल भए नेपाललाई हेर्ने विश्व समुदायको दृष्टिकोण नै परिवर्तन हुने विचार राखेका थिए। शेरचनको सफलतासँग व्यक्ति मात्र नभई समग्र नेपालको सफलता जोडिने भन्दै शर्माले अभियान सफलताको कामना गरे।

शेरचनको आरोहणका लागि मोना यूकेसहित विभिन्न संघसंस्थाले आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका छन्। यसैबीच म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले शेरचनको अभियानका लागि १० हजार सहयोगको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्