टीकापुर पुग्यो एमाले मेची–महाकाली अभियान



नेपाल समाचारपत्र
कैलाली
नेकपा एमालेको मेची–महाकाली अभियान बुधबार कैलालीको टीकापुर र लम्की पुगेको छ। बर्दियाको राजापुर हुँदै टीकापुर पुगेको अभियानको टोली टीकापुरमा आयोजना गरेको जनसभामा पुगको थियो। संविधान कार्यान्वयन, निर्वाचन सम्वृद्धि र स्वभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ टीकापुरमा जनसभाको आयोजना गरिएको थियो।

टीकापुरको सभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता झलनाथ खनालले एकताबद्ध भएर राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको बताउनुभयो। मधेसी मोर्चाले हामीलाई जुलुस र सभा गर्न दिन्नौं भन्दै छ।

यो अधिकार उसलाई कसले दियो? राजविराजमा हामीमाथि भएको आक्रमण सुनियोजित छ। सभा रोक्नका लागि अनेक प्रयत्न भए पनि हजारौँ जनता सहभागी भएबाट मोर्चाका मानिसहरू आत्तिएको उहाँले बताउनुभयो। राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार छ।

शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको छ। गत भदौमा टीकापुरमा रक्तपात मच्चाउने तत्वहरू पनि तिनै हुन्। यस्ताबाट सावधान रहनुपर्छ। टीकापुर घटनाको न्यायिक जाँचबुझ हुनुपर्ने नेता खनालको माग छ।
उहाँले वर्तमान सरकार देशलाई बोझ बनेको प्रसंग उल्लेख गर्दै सुशासन दिन सकेको छैन, विकासलाई अघि बढाउन सकेको छैन, बल्लतल्ल निर्वाचन घोषणा गरेको छ। एमालेको दवावका कारण बाध्य भएर निर्वाचन घोषणा गरे पनि आलटाल गर्ने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो।

नेपाललाई बलियो भएको देख्न नचाहनेहरू संविधानको विपक्षमा छन्। कार्यान्वयन नै नगरी संविधान संशोधनको बखेडा झिकिएको बताउँदै नेता खनालले ६६ प्रतिशतको समर्थनमा बनेको भारतको संविधान आजसम्म चलिरहेको छ। विरोधमा रहेका ३४ प्रतिशतले संविधान संशोधनको आवाज उठाउँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले अहिले हुँदैन, लोकसभा निर्वाचनपछि गरौँला भनेको स्मरण गर्नुभयो।

पार्टीका उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलले संविधानका प्रतिमा आगो लगाउनेहरूले करोडौँ नेपाली जनताको मनमा आगो लगाएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो– ‘कञ्चनपुरमा नेपाली नागरिक मारिँदा मधेसका लागि काम गरेका छौँ भन्ने मधेसी नेताहरू बोलिरहेका छैनन्। उनीहरूको घाँटी केले अँठ्याइरहेको छ ? किन एक शब्द बोल्न सकिरहेका छैनन्?’ उहाँले प्रश्न गर्नुभयो।

स्थानीय निर्वाचन हुन नदिने, नेपाललाई समृद्ध हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने जस्ता काम गर्नुका पछाडि नेपाललाई असफल बनाउने कोसिसबाहेक अरु केही नभएको स्पष्ट पार्नुभयो।

दुई नम्बर प्रदेशमा चुनाव हारेका व्यक्तिहरू आएर गत वर्ष टीकापुर काण्ड मच्चाएको स्मरण गर्दै उपाध्यक्ष रावलले त्यस्ता घटनाबाट पनि मुलुकको सामाजिक सद्भाव विथोल्न को सक्रिय छ भन्ने बुझ्न जरुरी रहेको बताउनुभयो। पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य हनुमान चौधरीले भूमिपुत्रहरूको पार्टी एमालेलाई थारु विरोधीका रूपमा चित्रित गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै थारुहरूको अधिकारका लागि एमालेले जति कुनै पनि पार्टी संवेदनशील नभएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडिनुहुँदैन, आफ्नो काम छाम्नुपर्छ। एमाले सधैँ थारुका पक्षमा छ, थारु एमालेका पक्षमा छन्। सोझा जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउनका लागि गलत तत्त्वले खेलिरहेका छन्। त्यसलाई चिर्नुपर्छ’ उहाँले भन्नुभयो। उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकले दलितहरूलाई संवैधानिक र व्यावहारिक अधिकार दिलाउनका लागि एमाले निर्णायक भूमिका निर्वाह गरेको र एमाले सरकारमा भएको बेला जातीय विभेद हटाउन उल्लेख्य काम भएको विवरण प्रस्तुत गर्नुभयो। दक्षिण एसियामा संविधानमै दलितलाई पहिचान र अधिकार दिन नेपाल सफल हुनुमा एमालेको नेतृत्वले काम गरेको बताउनुभयो।

यस्तै लम्कीमा आयोजना गरेको जनसभालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो। उहाँले मुलुकलाई नेतृत्व गर्न एमालेबाहेक अरु कुनै दल नभएको बताउनुभयो। हामीले सत्तामा रहँदा वा नरहँदा आफ्नो मुलुकप्रतिको जिम्मेवारी निर्वाह गरेका छौँ। सामाजिक सद्भाव बढाउन र १ सय २६ जातिलाई समेटेर बलियो मुलुक बनाउने हाम्रो उद्देश्य छ। जनताको यो समर्थनले हामीलाई थप उत्साहित बनाएको छ नेता नेपालले भन्नुभयो। नेता नेपालले चेतावनी दिँदै भन्नुभयो– ‘एमालेको बाटोमा अवरोध सिर्जना गर्नेहरूले थाहा पाऊन्, जनताको समर्थनका कारण हामीलाई कसैले रोक्न सक्दैन। ०५१ सालमा शुरू गरेको सामाजिक सुरक्षा भत्ता शुरू गर्दासम्म बृद्धाबृद्धालाई मार्छ भन्ने प्रचार गरियो। त्यसका लागि नाम संकलन गर्दासमेत खाल्डो खनेका छन्, पुर्नका लागि नाम टिपिरहेको छ भन्ने प्रचार गर्दथे। अहिले पनि एमालेसँग राजनीतिक रुपमा सामना गर्न नसकेपछि अनेक आरोप लगाइरहेका छन्।’

कञ्चनपुरमा भएको घटनामा भारतले नेपालसंग माफी माग्नुपर्ने उहाँको जिकिर रहेको छ। उहाँले भन्नुभयो–‘०१६ सालमा उत्तरी सीमामा यस्तै हुँदा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले हिम्मत गरेर चीनसँग माफी माग्नुपर्छ भनेका थिए। अहिले प्रचण्डमा त्यो हिम्मत छ कि छैन? साहसका साथ के उनले त्यो भारतसँग भन्न सक्छन्? जीवनको मूल्य पैसासँग त साट्न सकिन्न तर गोविन्द गौतमका परिवारको रेखदेखका लागि पाँच करोड भारु क्षतिपूर्ति दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्