स्थानीयले मागे सुरक्षा पोष्ट सुरक्षाकर्मी फर्किए रात काट्न मुस्किल हुने स्थानीयको गुनासो



हेमन्त पौडेल, आनन्दबजार
गत बिहीबार भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन।

घटनालगत्तै सुरक्षाकर्मी परिचालन भएकाले हाल स्थानीय बासिन्दाहरूले सुरक्षा महसुस गरे पनि सुरक्षाकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय बासिन्दाहरू बताउँछन्। यो क्षेत्र सधैं असुरक्षित रहने भएकाले आनन्द बजार क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गर्नुपर्ने माग उनीहरूको छ। आनन्द बजारनजिक नालीमा कल्भर्ट निर्माणको विषयलाई लिएर गत साता भारतीय पक्षसँग भएको विवादले ठूलो रूप लिएपछि भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गौतमको हत्या भएपछि सीमा क्षेत्रका नेपालीहरू आक्रोशित भएका छन्।

भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपालीको हत्या गरेपछि आक्रोशित भई आन्दोलित भएपछि स्थानीय जनजीवन नै प्रभावित बन्न पुगेको थियो। भारतीयविरुद्ध आनन्दबजारमा प्रदर्शन गरेपछि सुरक्षा अवस्थालाई मध्यनजर राख्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडाइ गरेको छ।

थप मानवीय क्षति नहोस् भन्दै स्थानीय प्रशासनले आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। भारतीय सुरक्षाकर्मीको ज्यादतीका विरुद्धमा नेपालीहरू आक्रोशित भई भारतीयविरुद्ध जाइलाग्ने अवस्था देखेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। मंगलबारबाट निषेधाज्ञा खारेज गरिएको छ।

घटनापश्चात सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहरा दिइरहेको छ। अहिले आनन्द बजार क्षेत्रको नाका बन्द गरिएको छ। सो नाका भएर आवागमन पूर्णरुपमा बन्द गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

हाल डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको टिम खटिएको छ। भारतको बसई बजारका बासिन्दा र पुनर्वास क्षेत्रका बासिन्दाहरूको ओहोरदोहोर गर्ने नाका बन्द गरेपछि दुवै देशका जनतामा कठिनाइ भएको भारतीय एसएसबीका कम्पनी कमान्डर दिलबाग सिंहले बताउनुभयो। यो घटनापछि दुवै देशका जनतालाई समस्या भएको छ। नाका बन्द हुँदा बसई बजारको कारोवार बन्दजस्तै भएको छ भने नेपाली बस्तीमा सामान अभाव भएको उहाँको भनाइ छ।
बिस्तारै आनन्दबजार क्षेत्र सामन्य बन्दै गए पनि अझै पूर्णरूपमा सामान्य नबनेको स्थानीय बासिन्दा कालीबहादुर शाहीले बताउनुभयो। पूर्णरूपमा निषेधाज्ञा नहटाएकाले स्थानीय जनजीवन सामान्य बन्न नसकेको शाहीको भनाइ छ।

घरघरमा आएर भारतीय सुरक्षाकर्मीले दुःख दिएको घटना सम्झदै अर्का स्थानीय बासिन्दास सुरेन्द्र शाहीका अनुसार सुरक्षाकर्मी हुँदासम्म त ढुक्क छौं्र तर सुरक्षाकर्मी फर्किए भने कसरी रात काट्ने भन्ने चिन्ताले सताएको छ। नेपाल सरकारले आनन्द बजार क्षेत्रको सीमा स्पष्ट गर्नुपर्ने वर्षौंदेखिको सीमा विवादको अन्त्य गर्नका लागि दुवै देशले संयुक्त सर्वे गरेर समस्या समाधान गर्नुपर्ने माग पनि स्थानीयको छ।

सो क्षेत्रमा हराएको सीमा स्तम्भ नम्बर २०० को खोजी गर्नुपर्ने र वास्तविक सीमाना पत्ता लगाएर सधैंका लागि समस्या समाधानका लागि सरकार लाग्नुपर्ने स्थानीय बासिन्दा भीमबहादुर शाहीले बताउनुभयो।

सोही क्षेत्रका स्थानीय बासिन्दा कर्ण सुनार र मानबहादुर सुनारको नाममा रहेको जग्गासमेत भारतीय एसएसबीले प्रयोग गर्न दिएको छैन। लालपुर्जा भएर पनि उपभोग गर्न नपाएको वर्षाैं भएको छ तर यस बारेमा पनि नेपाली प्रशासन मौन बसेको आरोप स्थानीयको छ।

प्रतिक्रिया दिनुहोस्