‘राजनीतिक परिवर्तनले मुलुक बन्दैन’



शेरबहादुर थापा,सुर्खेत ।

उद्योगी/व्यवसायीहरुले राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरेका छन् । सरकारले औद्योगिक विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै व्यवसायीले राजनीतिक परिवर्तनले मात्र मुलुक बन्न नसक्ने धारणा राखेका थिए ।

सुर्खेत उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३३ औं साधारणसभाका वक्ताहरुले आर्थिक विकासबिना मुलुकका सम्वृद्धि सम्भव नभएकाले त्यसका लागि सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने सुझाव दिएका छन् । संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतको साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेपनि सम्भाव्यता अध्ययनमा ढिलाई भैरहेको जानकारी दिए ।

‘संघले सुर्खेतमा लगानी भित्र्याउने लगानी वर्ष घोषणा गरेर बाह्य लगानीकर्तालाई आमन्त्रण गरिरहेको छ’ उनले भने, ‘तर, यहाँ क्रियाशिल राजनीतिक दलले उल्टै लगानीकर्तालाई निरुत्साहित पार्ने काम गरिरहेका छन् ।

सरकारले पनि आवाश्यक नीति निर्माण र सुरक्षा अवलम्बनमा ढिलाई गरेको छ ।’ चालू आर्थीक वर्षमा सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि पाँच करोड रुपैँया विनियोजन गरेको छ ।

भौगोलिक विकटता, कमजोर पूर्वाधारजस्ता कारणले ६ नम्बर प्रदेश कम लगानीको क्षेत्र मानिएको छ । राजनीतिक अस्थिरताका कारण विभिन्न लगानीका सम्भावनाहरु आफूहरुले गुमाउँदै गएको मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले माथिल्लो कर्णाली जलविद्युत आयोजना, चौकुने सिमेन्ट, क्षेत्रीय विमानस्थल निर्माण जस्ता ठुला याजनाहरुमा ढिलाई गर्न नहुने धारणा राखे ।

ठूला आयोजना कार्यान्वयनका लागि नीजि क्षेत्रबाट आफूहरुले सरकार, सम्बन्धित पक्षलाई खबरदारी गरिरहेको उनको भनाई थियो । मध्यपश्चिम क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेलले सुर्खेतलाई प्रदेश नम्बर ६ कै लगानीको मुख्य गन्तव्य बनाउन आग्रह गरे ।

यसको लागि पहलकदमी स्थानीय व्यवसायीले नै गर्नुपर्ने उनले सुझाव दिए । ‘जाजरकोटको पत्थर, दैलेखको धार्मिक पयर्टन, कर्णालीको जडीबुटीलाई उपयोग गर्नसके प्रदेश सम्वृद्ध हुन्छ’ प्रशासक पौडेलले भने, ‘यसका लागि लगानीमैत्री राजनीतिक वातावरणको जरुरी छ । व्यवसायीले सरकारलाई लगानीमैत्री वातावरण निर्माण गर्नमा सघाउनुपर्दछ ।’

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्वदेशी उत्पादनको प्रर्वद्धन हुन नसकेको र यसको उत्पादनको उपयोग बढाउन सके उद्योगीलाई हौसला मिल्ने र, थप लगानीको वातावरण सिर्जना हुने उनले बताए ।

साधारणसभामा महासंघका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य निरक केसी, मुक्तिश्री सिमेन्ट प्रालिका अरुण सुमार्गी, कांगे्रस सभापति कमलराज रेग्मी लगायतले शुभकामना दिए । साधारणसभाको अवसरमा संघले विभिन्न क्षेत्रकालाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्