आगलागीको उच्च जोखिम



बर्दिवास, १ चैत । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन् ।

पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम बढेपछि वन क्षेत्रसँग जोडिएका बस्तीमा जोखिम बढेको हो । दिनहुँ डढेलो लागेको देखिने जिल्लाका बाँके, मरहा, टुटेश्वर र माइस्थान वनक्षेत्रसँगै जोडिएका बर्दिवास नगरपालिकाका भब्सी, ढुङ्ग्रे, गणन्ता, वरडाँडा, टुटेश्वर, चेरु र हालै यसै नगरपालिकामा गाभिएका खयरमारा र हाथीलेटलगायत बस्तीका बासिन्दाले जङ्गलमा डढेलो देखेपछि आगलागीको भयले नसुतीकनै रात कटाउने गरेका छन् ।

त्यसैगरी गौशाला नगरपालिकाको रामनगर र हालै यस नगरपालिकामा गाभिएका बेलगाछी, लक्ष्मीनियाँसहितका बस्ती पनि वन क्षेत्रसँगै जोडिएकाले दिनहुँ वनक्षेत्रमा लाग्ने डढेलोको त्रासले राम्ररी निदाउन नसकिएको बेलगाछी बस्तीका सामाजिक कार्यकत्र्ता मीन रहपालले बताउनुभयो ।

हिउँदमा वन क्षेत्रका रुखबाट झरेका पात चर्को घामले खरिएका हुँदा त्यसमा आगाको झिल्काले भेट्नासाथ सल्किई डढेलो बढ्ने गरेको छ । आफ्नो बस्ती नजिकैको वनमा दिनहुँ देखिने डढेला््को त्रासले कुनै रात राम्ररी सुत्न नपाइएको चेरुका बासिन्दा प्रदीप अधिकारी बताउनुहुन्छ । पाँच दिनअघि परेको पानीले डढेलो केही मत्थर जस्तो देखिए पनि दुई दिनपछि नै फेरि वनक्षेत्रमा आगाको मुस्लो देखिन थालेको अधिकारीको भनाइ छ ।

जङ्गलमा डढेलो लगाउने काममा पनि वनक्षेत्र वरिपरिकै बासिन्दा हुने गरेको जिल्ला वन कार्यालयका अधिकारीको ठम्याइ छ । वसन्त ऋतुमा डढेलो लगाइएको वनमा नयाँ घाँस उम्रने विश्वासमा वनक्षेत्र वरिपरिकै खासगरी पशुपालक किसानका परिवार डढेलो लगाउने काममा लाग्ने गरेको अहिले इलाका वन कार्यालयका सहायक वन अधिकृत चन्देश्वर यादवले बताउनुभयो ।

डढेलो लगाउनेमाथि निगरानी बढाइएको वनका अधिकारीले बताए पनि अहिलेसम्म सो अभियोगमा कसैलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन । जिल्लामा धार्मिक, साझेदारी, सामुदायिक र निजी गरी करिब नौ हजार हेक्टरमा वनक्षेत्र रहेको कार्यालयले जनाएको छ ।

वन क्षेत्रमा बर्सेनि वसन्त ऋतुमा लाग्ने डढेलाले करोडौँको वन सम्पदा विनाश भइरहे पनि वन कार्यालयले यसको रोकथाम र नियन्त्रणमा भने परिणाममुखी कुनै प्रयत्न नगरेको बर्दिवास नगरपालिकामा गाभिनुअघिको हाथीलेट गाविसका निवर्तमान अध्यक्ष निर्मल श्रेष्ठले बताउनुभयो ।

जिल्लामा यसपालि पनि २०० हेक्टरभन्दा बढी क्षेफलका रुखबिरुवा डढेलाले सखाप पारिसकेको वन कार्यालयका कर्मचारीले नै स्वीकार गरेका छन् । यस क्षेत्रका सामाजिक, राजनीतिक कार्यकर्ता र सर्वसाधारणले भने डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले कानुनअनुसारको कडा कारबाही गर्न थाले केही नियन्त्रण हुने सुझाव दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्