भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण



बाबियाचौर (म्याग्दी), १ चैत । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ ।

एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट (जिएनआई) संस्थाको रु १२ लाख आर्थिक सहयोगमा पुनर्निर्माण भएको भवनको सोमबार उद्घाटन गरिएको छ । स्थानीयवासीले थप रु एक लाख बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष म्यारी लङले उद्घाटन गर्नुभयो ।

न्यूरो सर्जन चिकित्सक रहेकी लङले अमेरिकामा स्वयम्सेवकबाट सङ्कलन गरेको रकम भवन पुनर्निर्माणमा सहयोग गरेको र यसबाट विद्यार्थीको पढाइमा सघाउ पुग्ने बताउनुभयो । सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान सहयोगमा अर्को तीनकोठे भवनसमेत पुनर्निर्माण भएको थियो । भूकम्पले भवन भत्किएपछि जिएनआई संस्थाको रु एक लाख ५० हजार सहयोगमा अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो ।

अझै थप पाँचवटा कोठा भएको भवन आवश्यक रहेको प्रअ खिममाया छन्त्यालले बताउनुभयो । अहिले बालकक्षा ३, ५, ४ र १ कक्षाका विद्यार्थीलाई टहरामा राखेर पढाउने गरिएको छ ।

पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापी–किताब भिज्ने र चिसो हुने समस्या रहेको विद्यार्थी पुनम पाइजाले बताउनुभयो । चिसो, हिलो, हुरीबतास, चर्को घाममा टिनले पोलेर समस्या भएको र कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्